Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकको नयाँ निर्देशन : सर्वसाधारणले काँचो चाँदी किन्न नपाउने

२०७४ जेष्ठ २९ गते

सुष्मा थापा । अबदेखि सर्वसाधारणले चाँदी किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै सर्वसाधारणले काँचो चाँदी खरिद गर्न नपाउने व्यवस्था गरेको हो । सर्वसाधारणले आवश्यक परेका चाँदीका भाँडाकुँडा अथवा गहना भने किन्न पाउनेछन् । काचो चाँदी खरिद गरेर आयात ब्यापारमा भुक्तानी हुने गरेको तथ्यांक भेटिएपछि राष्ट्र बैंकले काँचो चाँदी खरिद गर्ने सर्वसाधारणको अधिकार कटौति गरेको जनाएको छ । 

व्यापारीका लागि पनि अंकुश
सर्वसाधारणका लागि मात्र नभएर राष्ट्र बैंकले व्यापारीहरुलाई पनि चाँदी खरिदमा अंकुश लगाएको छ । अब चाँदीको गरगहना तथा भाडाकुडा बनाउने ब्यापारीहरुले बैंकबाट चाँदी पनि किन्न पाउने भएका छन् । ब्यापारीहरुले बैंकबाट प्रतिमहिना एक केजीका दरले चाँदी किन्न पाउने व्यवस्था गरिएको छ । ‘सुुनचाँदीको कारोवारमा संलग्न स–साना व्यवसायीले गरगरगहना, हस्तकला लगायतका सामान बनाउन आफुलाई आवश्यक पर्ने चाँदी बैंकहरुबाट मासिक एक किलोग्रामसम्म खरिद गर्न सक्नेछन्, वाणिज्य बैंकहरुले यसरी व्यवसायीलाई चाँदी विक्री गर्दा सम्बन्धित सुनचाँदी व्यवसायीको व्यवसाय दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र लिई बैंक खाता मार्फत कारोवार गर्नुपर्नेछ, साथै, बैंकले यसरी चाँदी विक्री गर्दा व्यवसायीबाट खरिद गरिएको चाँदी गरगहना तथा हस्तकला लगायतका अन्य सरसामान बनाई विक्री गर्न वा त्यस्ता सामान बनाई निर्यात गर्न बाहेक अन्य प्रयोजनको लागि प्रयोग वा विक्री गर्ने छैन भन्ने स्वघोषणा समेत लिनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

व्यवसायी आफैँले चाँदी आयात गर्न पाउने
बैंकबाट चाँदी खरिद गर्न व्यापारीहरुका लागि सीमा तोकेको राष्ट्र बैंकले व्यापारीहरुलाई आफैँ चाँदी आयात गर्न भने छुट दिएको छ । निर्देशनमा भनिएको छ, ‘सुनचाँदीको कारोवार तथा आयात निर्यात गर्न विधिवत दर्ता भएकारइजाजत लिएका नेपाली सुनचाँदी व्यवसायीले खुला बजार आयात इजाजत व्यवस्था अनुरुप बैंक ग्यारेण्टी, प्रतीतपत्र, ‘स्ट्याण्ड बाइ’ प्रतीतपत्र र ड्राफ्टरटि.टि.को माध्यमबाट प्रचलित व्यवस्था बमोजिम चाँदी आयात गर्न सक्नेछन्, यसरी आयात गरिएको चाँदी व्यवसायी स्वयम्ले गरगरगहना, हस्तकला लगायतका सामान बनाई विक्री गर्न वा त्यस्तो बनाउने व्यवसायीलाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्नेछ ।’ 

बैंकहरुका लागि पनि मापदण्ड
निर्देशनमार्फत् राष्ट्र बैंकले बैंकहरुले आयात गर्ने चाँदीको मूल्य निर्धारणको मापदण्ड तोकेको छ । ‘बाणिज्य बैंकहरुले साना सुनचाँदी व्यवसायीलाई मात्र विक्री गर्ने प्रयोजनका लागि खुला बजार आयात इजाजत व्यवस्था अनुरुप बैंक ग्यारेण्टी, प्रतीतपत्र, ‘स्ट्याण्ड बाइ’ प्रतीतपत्र र ड्राफ्टरटि.टि.को माध्यमबाट प्रचलित व्यवस्था बमोजिम चाँदी आयात गर्न सक्नेछन्, यसरी आयात गरिएको चाँदीको मूल्य निर्धारण गर्दा, अन्तर्राष्ट्रिय मूल्य र आयात गर्दा लाग्ने लागत समेतलाई दृष्टिगत गरी प्रतिष्पर्धी मूल्य निर्धारण गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

Ad