ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक एक आपसमा गाभिएर असार २ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । पोखरामा मुख्य कार्यालय रहेको राष्ट्रिय स्तरको ओम र गोरखामा केन्द्रीय कार्यालय रहेको तीन जिल्ले मनास्लुले एकआपसमा गाभिएर ओम डेभलपमेन्ट बैंकको नामबाट कारोबार सुरु गर्न लागेका हुन् ।
मर्जर पश्चात बैंकको चूक्तापूजी एक अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । मनास्लु र ओम दुवैले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गरिसकेका छन् । मर्जरपछि बैंकको शाखा संख्या ४० पुग्नेछ भने केन्द्रीय कार्यालय साविकको ओम डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यालयमा नै रहने भएको छ ।
यी दुई बैंकले एकआपसमा गाभिने सम्बन्धी प्रस्ताव गत चैत्र १ गते सम्पन्न छुट्टाछुट्टै साधारणसभाबाट पारित गराएका थिए । नेपाल राष्ट्र बैंकले यी दुईबीचको मर्जरलाई गत जेठ १७ गते अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले जेठ २६ गते स्वीकृति दिएको थियो ।
आगामी दुई वर्षभित्रमा राष्ट्रियस्तरको उत्कृष्ट तीन विकास बैंक भित्र पुग्ने लक्ष्य लिएको ओम डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षभित्रमा नै शाखा संख्या ४५ पुर्याउने बताएको छ । पुँजीवृद्धिका लागि भने ओमले चालू आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने बोनस सेयरको सहारा लिने भएको छ । ओमले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।