Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ स्टक एक्सचेञ्ज ल्याउने प्रक्रिया सुरु

२०७४ जेष्ठ २९ गते

सुष्मा थापा । निजी स्तरको नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्ने प्रक्रिया सुरु भएको छ । स्टक एक्सचेञ्ज स्थापना गर्न अनुमति मागेका चारओटा कम्पनीसँग नेपाल धितोपत्र बोर्डले अद्यावधिक जानकारी मागेको छ । झन्डै आठ वर्षअघि नयाँ स्टक एक्सचेञ्ज खोल्न अनुमति माग गर्दै धितोत्रप बोर्डमा निवेदन दिएका हिमालयन स्टक एक्सचेञ्ज, काठमाडौं स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिभ स्टकसँग बोर्डले पत्र पठाएर अहिलेको स्थिति बुझ्न अद्यावधिक जानकारी मागेको हो । 

नयाँ स्टक एक्सचेञ्जको मोडालिटी कस्तो हुने भन्ने विषयमा छलफल भइरहेको धितोपत्र बोर्डले जनाएको छ । त्यसका लागि कम्पनीको वर्तमान अवस्थाबारे बुझ्न आवश्यक भएकाले जानकारी माग गरिएको बोर्डको भनाइ छ । नयाँ स्टक एक्सचेञ्जका लागि नेप्सेमा सूचीकृत भएका कम्पनी मात्र प्रवद्र्धक हुन पाइने बोर्डले बताएको छ ।

पूँजीबजारमा लगानीकर्ताको चाप बढ्न थालेपछि एउटै स्टक एक्सचेञ्जले धान्न मुश्किल पर्ने भएकाले धितोपत्र बजारको सुदृढीकरणका लागि बोर्डले निजीक्षेत्रमा स्टक एक्सचेञ्ज ल्याउने सैद्धान्तिक निर्णय गरेको थियो । 

नयाँ स्टक एक्सचेञ्ज चाहिँदैन : गभर्नर डा. नेपाल
धितोपत्र बोर्डले छिटै नै निजी स्तरबाट नयाँ स्टक एक्सचेञ्ज खोल्ने तयारी गरिरहेका बेला नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीबि नेपालले भने नेपालमा अर्को स्टक एक्सचेञ्ज कम्पनीको आवश्यकता नरहेको बताएका छन् । धेरैजसो स्टक एक्सचेन्ज भएका देशले मर्ज गरेर एउटै बनाउन लागेको अवस्थामा नेपालमा धेरै स्टक एक्सचेञ्जको आवश्यकता नरहेको उनको भनाई छ । एकभन्दा बढि स्टक हुँदा एउटामा एकथरी मूल्य र अर्कोमा अर्को थरी मुल्य कायम सक्ने भएकाले बजार ‘डिस्टोर्ट’ हुनसक्ने सम्भावना हुने उनको तर्क छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा नै नेपाल स्टक एक्सचेञ्जमा रहेको आफ्नो सेयर विक्री गर्न लागेको समेत गभर्नर डा. नेपालले जानकारी गराए ।  

Ad