Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मूल्यवृद्धिमा जनतालाई राहत, मुद्रास्फीति ३.४ प्रतिशतमा कायम

२०७४ जेष्ठ २६ गते

अजय पंगेनी – २०७४ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको वैशाख महिनामा १० प्रतिशत रहेको मूल्यवृद्धिदर यस वर्ष ३.४ प्रतिशतका सीमित भएको छ । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

पहाडमा धेरै मूल्यवृद्धि
यो वर्ष पहाडका जनताले सबैभन्दा धेरै मूल्यवृद्धि व्यहोरेका छन् । राष्ट्र बैंकका अनुसार, उपभोक्ता मुद्रास्फीति पहाडमा ४ प्रतिशत, तराईमा ३.६ प्रतिशत, हिमालमा २.८ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तुलनामा भने यो वर्ष सबै जनताले राहत पाएका छन् । गत आर्थिक वर्षको १० महिनामा मूल्य वृद्धिदर पहाडमा ११ प्रतिशत, तराईमा ८.६ प्रतिशत, हिमालमा ९.१ प्रतिशत र काठमाडौं उपत्यकामा ११.५ प्रतिशत रहेको थियो ।

चिनि र मदिराबाहेक सबैको मुद्रास्फीति नियन्त्रणमा
यो अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.६ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १३.४ प्रतिशत, तरकारीको मूल्यमा १३.१ प्रतिशत र घ्यू तथा तेलको मूल्यमा १.९ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको राष्ट्र बैंकले जनाएको हो । चिनी तथा चिनीजन्य पदार्थ र मदिराजन्य पेय पद्धार्थ मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ । चिनी तथा चिनीजन्य पदार्थको मूल्य १२.७ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको हो । 

सोही अवधिमा गैर–खाद्य गैर–खाद्य मुद्रास्फीति ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.४ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्य लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.५ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.५ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ९.६ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६ प्रतिशतले वृद्धि भएको थियो भने आयातित वस्तुहरूको मूल्य सूचकाङ्क २.८ प्रतिशतले घटेको थियो ।

Ad