Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हेर्नुहोस्, साताभर चर्चामा रहेका एक दर्जन बैंकिङ खबरहरु

२०७४ जेष्ठ २६ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साताको विहीबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको वैशाख महिनासम्म आर्थिक तथा वित्तीय स्थितीको रिपोर्ट सार्वजनिक गर्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

वैशाखसम्मको आर्थिक तथा वित्तीय रिपोर्ट
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो १० महिनाको आर्थिक तथा वित्तीय स्थितीको रिपोर्ट विहीबार सार्वजनिक गर्यो । रिपोर्टका अनुसार, मुलुकको व्यापारघाटा ३७.५ प्रतिशतले बढेको छ, विप्रोषण आप्रवाह ५.२ प्रतिशतले बढेको छ । त्यस्तै, मुल्यवृद्धिदर ३.४ प्रतिशतमा झरेको छ । केन्द्रीय तथ्याङ्क विभागले हालसालै गरेको ६.९ प्रतिशतको कुल गार्हस्थ्य उत्पादन वृद्धिको अनुमानले निकट भविष्यको सकारात्मक अर्थिक वृद्धिको परिदृष्य प्रतिविम्वित गर्ने र यो आर्थिक वृद्धि कायम राख्न पुनर्निर्माण र ठूला परियोजनाहरुको कार्यान्वयन तथा उर्जा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंकमा सिईओ परिवर्तनको लहर
जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भए । कुमार लम्सालले विहीबारदेखि लागू हुने गरी पदबाट राजीनामा दिएपछि उनको ठाउँमा जनताले परशुरामलाई नियुक्त गरेको हो । त्यस्तै, सिद्धार्थ बैंक लिमिटेडले शम्भुनाथ गौतमलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । तीन बर्ष कार्यकाल बाँकी छँदै सुरेन्द्र भण्डारीले छाडेपछि सिद्धार्थ बैंकले यसअघि डेपुटी सिईओ रहेका गौतमलाई कामु सिईओको रुपमा नियुक्त गरेको हो । भण्डारी सिद्धार्थ छोडेर कुमारी बैंकमा गएका छन् । 

बैंकमा सञ्चालकको संख्या घटाउन निर्देशन
नेपाल राष्ट्र बैंकले सञ्चालकको संख्या घटाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दियो । राष्ट्र बैंकले सोमबार परिपत्र गर्दै तत्काल साधारणसभा वा विषेश साधारणसभा बोलाएर बैंक सञ्चालकको संख्या घटाउन निर्देशन दिएको हो । महिना दिनअघि संसदबाट पारित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ र बढीमा ७ जना मात्रै सञ्चालक राख्न पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

सहकारी विधेयक संसदमा
सहकारी ऐनको संशोधित विधेयक व्यवस्थापिका संसद्को अर्थ समितिमा बुझाइयो । यथाशीघ्र प्रतिवेदन बुझाउने गरी गठन भएको उपसमितिले विधेयकका विवदित विषयमा सामान्य संशोधन गरी झन्डै साढे ६ महिना लगाएर प्रतिवेदन बुझाएको हो । प्रस्तावित विधेयकमा सहकारी संस्थामा सदस्यता, लगानी, बचत कारोबार सीमा, कार्यक्षेत्रलगायत विषयहरू विवादित थिए । अर्थसमितिले छिटै नै उक्त विधेयकलाई पारित गर्ने तयारी गरिरहेको छ ।

सेवा र कामना मिलेर कामना सेवा विकास बैंक
बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक लिमिटेडकोे विहीबार सम्पन्न भएको विशेष साधारणसभाले पोखरामा रजिष्र्टर्ड कार्यालय रहेको राष्ट्रिय स्तरको कामना विकास बैंक लिमिटेडसंग मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्यो । बैंकले मर्ज पछि आफ्नो केन्द्रीय कार्यालय काठमाडौँमा रहने जनाएको छ । संचालक समिति अध्यक्ष भिम प्रसाद तुलाचनले व्यवसायिक हिसावमा उचो र दिर्घकालीन सोच राखेकोले बैंकले आफै पूँजी पुर्याइसकेको भएतापनि मर्जमा गएको प्रष्ट पारे । मर्ज पश्चात बैंकको नाम कामना सेवा विकास बैंक रहनेछ । बैंकको कुल शाखा कार्यालय ४१ र एटीएमको संख्या १६ पुगेको छ । त्यस्तै, मर्जरपछि बैंकको चुक्तापुँजी दुई अर्ब छ करोड २७ लाख पुग्ने छ । यथाशक्य छिटो एकिकृत कारोबार गर्न आवश्यक प्रक्रिया पुरा गरी नेपाल राष्ट्र बैंकमा अन्तिम स्विकृतीको लागि निवेदन दिने प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्ले बताए ।

सांग्रिलाले नेपाल कम्युनिटीलाई नकिन्ने
सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत गर्यो । यसअघि, कसमस डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एकैसाथ खरिद गर्ने निर्णय गरेको बैंकको बाह्रौँ साधारणसभाले नेपाल कम्युनिटीलाई प्राप्ती गर्ने प्रस्ताव अस्वीकृत गरेको हो । कसमसलाई खरिद गर्ने प्रक्रिया भने अघि बढ्ने भएको छ ।

नक्कली नोट प्रकरण
‘असाहयका लागि सहयोगी हातहरू’ भन्ने संस्थाले नक्कली नोट छाप्ने गरेको खुलासा भयो । नक्कली नोट छापेको आरोपमा प्रहरीले रुपन्देही, कँचनपुर गाउँपालिका वडा नं. ६ घर भई बुटवल उपमहानगर ११ बुद्दनगर बस्ने सन्तोष मल्ललाई पक्राउ गरेको छ । ’नवदिपपथ अर्फन हेल्पिङ हेन्ड’ नामको कार्यालय सञ्चालन गर्दै आएका मल्लको कार्यालय र डेरामा खानतलासी लिने क्रममा नक्कली नोट तयार गर्ने फ्रि ईन्क प्रिन्ट मेसिन, ल्यापटप र नक्कली नोट लगायतका सामानहरु बरामद गरेको बताइएको छ । प्रमाणसहित अभियुक्त मल्ललाई अदालतबाट खोटा चलन मुद्दामा म्यादथप लिई हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले प्रेस नोटमा जनाएको छ ।

आस्वा सेवामा प्रतिष्पर्धा
कृषि विकास बैंक लिमिटेडले आफ्ना ११० वटा शाखाबाट निशूल्क आस्वा सेवा दिने घोषणा गर्यो । यता, प्रभु बैंक लिमिटेडले केन्द्रीय कार्यालयसहति आफ्ना १३४ वटा शाखाबाट आस्वा सेवा लिँदा एक रुपैयाँ मात्रै शूल्क लिने घोषणा गर्यो ।  

मुलुकमा नयाँ अर्थमन्त्री
नयाँ गठित मन्त्रीपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी ज्ञानेन्द्र बहादुर कार्कीले पाए । यसअघि जलस्रोत मन्त्री भइसकेका कार्की भोजपुर निवासी हुन् । जनआन्दोलन सकिएपछि उनलाई जलस्रोत राज्यमन्त्रीको जिम्मेवारी पाएका उनी बढुवा भएर फुल मन्त्रीसम्म बनेका थिए । जलस्रोत मन्त्री हुँदा उनले लामो समयदेखि अड्किएको ९०० मेगावाटको अरुण तेस्रोमा पारदर्शी हिसावले टेन्डर गराएर सतलजलाई निर्माण जिम्मा लगाएका थिए भने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण जिम्मा जिएमआरलाई दिएका थिए । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका कार्कीले २०५१ सालयता कुनै संसदीय निर्वाचन जितेका छैनन् ।

सिद्धार्थ बैंकको हकप्रद खुला
सिद्धार्थ बैंक लिमिटेडले आज (जेठ २५ गते)देखि ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । असार २८ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार आठ सय १३ रुपैयाँ बराबरको एक करोड ५७ लाख ५२ हजार पाँच सय ७८ दशमलव १३ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । इच्छुक सेयरधनीहरुले लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल लगायत सिद्धार्थ बैंकका सम्पूर्ण शाखाहरुबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

एनसेलले कर तिर्यो
निजी दूरसंचार प्रदायक संस्था एनसेलले कर तिर्यो । एनसेलले ठूला करदाता कार्यालयमा १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार सात सय ११ रुपैयाँ पूँजीगत लाभकर तिरेको अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख बिष्णु नेपालले जानकारी दिए।

१०० र ५०० दरका स्वीडिस क्रोनर प्रतिबन्ध
स्वीडेनको केन्द्रीय बैंकले २००१ देखि २०१६ अक्टुबर ३ गतेसम्म जारी नोट हटाउने निर्णय गर्यो । स्वीडेनले स्वीडिस क्रोनर १०० र ५०० दरका नोट हटाउने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै जेठ २८ गतेसम्म नोट साटिसक्न आग्रह गरेको छ। एक स्वीडिस क्रोन बराबर ११ रुपैयाँ ८८ पैसा हुन्छ ।

अन्य,

  • सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुर महानगरपालीका वडा नं. २१ स्थित पाटनढोका शाखालाई ललितपुर महानगरपालीका वडा नं. १(ग) कुपण्डोलस्थित आफ्नै कार्यालय भवनमा सार्यो । 
  • नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संंस्था लिमिटेडका अध्यक्ष रमेश कुमार कर्माचार्यले विहीबार नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमसमक्ष सपथ ग्रहण गरे । 
  • महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको लोगो सार्वजनिक गर्यो । 
  • बेस्ट रेमिट नेपाल र एभरेष्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भयो ।
  • सिटिजन्स बैंकले लुइस बर्जरको सहकार्यमा भुकम्प अतिप्रभावित जिल्ला नुवाकोटको ५ वटा गा.वि.स. (तारुका, फिकुरी, गेर्खु, दुईपिपल र गणेशथान) मा जेष्ठ १५, १६, १७, १८ र १९ गरि पाँच दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गर्यो ।
  • वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तिन दिने ‘समिक्षा तथा योजना गोष्ठी’ कार्यक्रम सम्पन्न गर्यो ।
  • सेञ्चुरी कमर्सियल बैंकले वदिर्याको बासगढीन.पा.८ मा ३२ औं शाखा कार्यालय स्थापना गरि सञ्चालनमा ल्यायो ।
  • विश्व वातावरण दिवसको अवसर पारेर एनआईसी एशिया बैंक लिमिटेडले वृक्षारोपण गर्यो । 
  • विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंक लिमिटेडले नेपाल आर्मी इन्स्टिच्युसन अफ हेल्थ साइन्स(एनएआईएचएस) को वृक्षारोपण कार्यक्रमलाई सहयोग गर्यो ।
  • यती डेभलपमेन्ट बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ तथा प्रहरी कार्यालय दरबारमार्गको समन्वयमा काठमाडौंको बिभिन्न नौ स्थानहरुमा जेब्राक्रसिङ्ग मर्मत गरिदिने घोषणा गर्यो । 
Ad