नयाँ गठित मन्त्रीपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी ज्ञानेन्द्र बहादुर कार्कीले पाएका छन् । यसअघि जलस्रोत मन्त्री भइसकेका कार्की भोजपुर निवासी हुन् । जनआन्दोलन सकिएपछि उनलाई जलस्रोत राज्यमन्त्रीको जिम्मेवारी पाएका उनी बढुवा भएर फुल मन्त्रीसम्म बनेका थिए । जलस्रोत मन्त्री हुँदा उनले लामो समयदेखि अड्किएको ९०० मेगावाटको अरुण तेस्रोमा पारदर्शी हिसावले टेन्डर गराएर सतलजलाई निर्माण जिम्मा लगाएका थिए भने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण जिम्मा जिएमआरलाई दिएका थिए । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका कार्कीले २०५१ सालयता कुनै संसदीय निर्वाचन जितेका छैनन् ।
मन्त्रीहरुको सपथ ग्रहण
प्रधानमन्त्री शेरबहादुर देउवा लगायत मन्त्रीपरिषद्का अन्य सदस्यले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । देउवाको क्याबिनेटमा तीन उपप्रधानमन्त्रीले सपथ लिएका छन् । विजयकुमार गच्छदार उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री, कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्र मन्त्री र गोपालमान श्रेष्ठले उपप्रधानसहित शिक्षा मन्त्रीका रुपमा सपथ लिएका हुन् । त्यस्तै, ज्ञानेन्द्र बहादुर कार्कीले अर्थमन्त्री, फरमुल्ला मन्सुरले श्रम तथा रोजगार मन्त्री, जनार्दन शर्माले गृह मन्त्री र प्रभु शाहले विना विभागीय मन्त्रीका हैसियतमा सपथ लिएका छन् ।