
गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोबारको त्यस्तो पक्ष हो, जसमा आफूले अवैध वा कसूर गरी कमाएको सम्पत्तिको वास्तविक उत्पत्ति र स्रोत लुकाउने एवं छिपाउने र विभिन्न वित्तीय कारोबारको माध्यमबाट नयाँ कानूनी स्रोत सिर्जना गर्ने प्रयास गरी त्यस्तो सम्पत्तिलाई शुद्ध बनाउने प्रयत्न भएको हुन्छ । सम्पत्ति शुद्धिकरण अनुसनधान विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाका अनुसार ‘सम्पत्ति शुद्धिकरणको अपराध आफैँमा अपराध सम्बद्ध कसुर नभएर, मूल कसुरको सहउत्पादन हो ।’

सम्पत्ति शुद्धीकरणको अन्तर्राष्ट्रिय परिभाषा
सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तराष्ट्रिय संस्था वित्तीय कारवाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स, एफ.ए.टी.एफ.) ले सम्पत्ति शुद्धीकरणलाई अपराधजस्तो नराम्रो स्रोतबाट प्राप्त आमदानीलाई छिपाउन गरिने प्रक्रिय भनी परिभाषित गरेको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरणलाई वित्तीय कारोबारलाई गैरकानुनी आर्जनको परिचय, स्रोत वा गन्तव्यलाई छिपाउने व्यवहार भनी व्याख्या गरेको छ । मतलब, गैरकानूनी वा आपराधिक धन्दाबाट प्राप्त आयलाई कानूनसम्मत सम्पत्तिमा रुपान्तरण गरी बैधानिक गर्ने क्रियाकलाप नै सम्पत्ति शुद्धीकरण हो । सम्पत्ति शुद्धीकरणमा त्यस्तो आयको उत्पत्ति, वास्तविक स्रोत र प्राप्तीको स्थान लुकाइएको एवं छिपाएको र कृत्रिम तर कानूनी स्रोत सिर्जना गरिएको अवस्था रहन्छ ।
कस्ता–कस्ता कार्यहरु सम्पत्ति शुद्धिकरणमा पर्छन् ?
सम्पत्तिको गैरकानूनी स्रोत (इलिसिट अरिजिन) लुकाउने वा छल्ने वा कसूरमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नु पर्ने मनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने,
कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नु पर्ने मुनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निसर्ग (डिस्पोजिसन), कारोबार (मुभमेण्ट), स्वामित्व वा सो सम्पत्ति उपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने, वा कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने जानी जानी वा विश्वास गर्नु पर्ने मनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने ।
कुनै व्यक्तिले माथि लेखिएबमोजिमको कुनै कार्यको षडयन्त्र, मद्दत, दुरुत्साहन, सहजीकरण, मतसल्लाह वा उद्योग गर्न वा सम्बद्धता वा सहभागिता जनाउन वा मतियार हुन हुँदैन र उल्लिखित कुनै कार्य गरेमा त्यस्तो कार्य सम्पत्ति शुद्धीकरण सम्बन्धी सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर हुनेछ ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय क्षेत्रबाट विभिन्न प्रयासहरु हुँदै आएका छन् । एशिया प्रशान्त क्षेत्रका मुलुकहरुको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग सम्बन्धित काम एशिया प्रशान्त क्षेत्र समूह (ए.पी.जी.)ले गर्ने गरेको छ ।
कसरी हुन्छ सम्पत्ति शुद्धीकरण ?
सम्पत्ति शुद्धीकरण प्रक्रिया अन्तर्गत मूलतः देहायका ३ वटा चरणहरु (रकम राख्ने, रकमको तहकिकरण गर्ने, र सम्पत्ति एकीकृत वा मूलप्रवाहीकरण गर्ने) पार हुने गरेको पाइन्छः
(क) रकम राख्ने
पहिलो चरणमा सम्पत्ति शुद्धीकरणकर्ताले सामान्यतया गैर कानूनी रुपमा प्राप्त आयलाई कुनै बैंक वा वित्तीय संस्थामा जम्मा गर्ने गर्दछ । यस्तो रकम निक्षेपको रुपमा, धनादेश (मनी अर्डर), द्रुत संदेश, तार स्थानांतरण वा अन्य उपयुक्त विधिबाट बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गर्दछ । यसो गर्दा शुद्धीकरणकर्ताले ठूलो रकमलाई खण्डीकरण गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा झिक्ने र जम्मा गर्ने गर्दछ ।
(ख) रकमको तहकीकरण गर्ने
दोश्रो चरणमा सम्पत्ति शुद्धीकरणकर्ताले त्यस्तो गैर कानूनी रुपमा आर्जित रकमको स्रोत एवं उत्पत्ति सम्बन्धमा थप अलग्याउने वा दुरी बढाउने प्रयास गर्दछ । यसका लागि उसले जटिल एवं बहु–चक्रीय वित्तीय कारोवारको सहारा लिन्छ । शुद्धीकरणकर्ताले सेयर, डिवेन्चरको खरिद–विक्री गर्ने, देश भित्रै वा वाहिरका विभिन्न देशमा आफ्नो वा आफन्तको नाममा रहेका खाताहरुमा दूरसंचाररतरमार्फत रकम स्थानान्तरण गर्ने तथा अस्तित्वमा नभएका वस्तु तथा सेवाको भूक्तानी गर्ने जस्ता क्रियाकलापहरु देखाएर त्यस्तो रकमको तहकिकरण गर्ने गर्दछ ।
(ग) सम्पत्ति एकीकृत र मूलप्रवाहीकरण गर्ने
यो चरणमा शुद्धीकरणकर्ताले विभिन्न निकायमा छरेर राखेको रकमलाई एकीकृृृत गरी बैधानिक क्षेत्रमा प्रवाह गर्दछ । यस क्रममा उसले खासगरी घरजग्गा कारोवार, व्यापार व्यवसाय, स्थायी सम्पत्ति वा संस्थागत क्षेत्र आदिमा लगानी गर्ने कार्य गर्दछ । यसरी पटक पटकको स्थानान्तरण र वैध बनाउने प्रयास गरेर उसले गैर कानूनी (कालो) आम्दानीलाई शुद्ध सम्पत्तिको रुपमा रुपान्तरण गरी शुद्धीकरण गर्ने कार्यलाई सम्पन्न गर्दछ ।
के हुन सक्छ, यसको समाधान ?
सम्पत्ति शुद्धिकरण अनुसनधान विभागका महानिर्देशक सिटौलाका अनुसार, सम्पत्ति शुद्धिकरण जस्ता समस्या समाधानमा मूलतः बाह्य र आन्तरिक चुनौतीहरु छ । चुनौतीलाई चिर्नका लागि राज्यका सूचक संस्थाहरु, नियमनकारी निकाय र कानून कार्यान्वयन गर्ने निकायहरु सक्षम, सबल र प्रभावकारी हुनु नितान्त जरुरी छ ।
सम्पत्ति शुद्धिकरणबाट अर्थतन्त्रमा धेरै नकरात्मक असर पर्ने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका सूचना अधिकारी विनोद लामिछाने बताउँछन् । सूचना अधिकारी लामिछानेका अनुसार सम्पत्ति शुद्धिकरणबाट कानून पालना गर्ने व्यक्तिहरु निरुत्साहित हुने, वित्तीय प्रणालीमा जोखिम बढ्ने तथा उपयुक्त आर्थिक नीति तर्जुमा गर्न कठिन हुन्छ ।
सम्पति शुद्धिकरण सम्बन्धी क्रियाकलापमा बैंक तथा वित्तीय संस्थाको भूमिका उल्लेखनीय रहेको स्टाण्डर्ड चार्टर्ड बैंकका ब्राण्ड÷मार्केटिङ प्रमुख दिवाकर पौडेलले बताए । पौडेलका अनुसार वित्तीय अपराधमा संलग्न हुनेहरुले बैंकलाई प्रयोग गरेर नै यस्ता अपराधिक क्रियाकलाप गर्ने गरेका छन् । बैंक तथा वित्तीय संस्था सक्षम एवंम चनाखो रहेमा यस्ता क्रियाकलापहरु धेरै हद सम्म निकारण हुने उनको भनाई छ ।
सम्पत्ति शुद्धिकरण सम्बन्धी कानूनी व्यवस्था
सम्पत्ति शुद्धिकरण निवरण सम्बन्धी कानूनी व्यवस्था :
सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने विषय सीमाविहीन रुपमा अपराध भएको र यसबाट सबैजसो मुलुक प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएको अवस्थामा नेपालमा सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ जारी भयो । यससँग सम्बन्भित पारस्परिक कानूनी सहायता ऐन र नियमावली २०७०, सुपुर्दगी ऐन २०७०, संगठित अपराध ऐन २०७०, कसूरजन्य सम्पत्ति तथा साधन रोक्का नियन्त्रण र जफत ऐन, २०७०, जस्ता ऐन जारी भइसकेका छन् । सम्पत्ति शुद्धिकरण ऐन २०६४ को दोस्रो संशोधनपछि नियमावली २०७३ जारी भएको छ । यि ऐन कार्यान्वयन गर्न विभिन्न संस्थागत व्यवस्थाहरु भएका छन् । अपहरण, भ्रष्टाचार, आतङ्कवाद, राजस्वको छली आदि गैरकानूनी कार्यबाट आर्जित सम्पत्ति भूमिगत रूपमा पुनः त्यस्तै गैरकानूनी कार्यमा लगानी हुने र शुद्धीकरण गर्ने चक्रहरू चलिरहने हुँदा पुनः त्यो गैरकानूनी कार्यबाट आर्जित सम्पत्ति आपराधिक कार्यमा प्रयोग नहोस् आपराधिक कार्य रोकियोस् भनी निवारणात्मक व्यवस्था (Preventive Measures) को प्रयोजनार्थ सम्पत्ति शुद्धीकरण ऐन आएको हो । सम्पत्ति शुद्धीकरण आफैँमा सम्बद्ध कसुर (Predicate offence) होइन अपितु मूल कसुरको सह उत्पादन (By Product) को रूपमा सह अपराध (Secondary Offence) हो । मूल कसुरलाई लुकाई छिपाई त्यसबाट आर्जित सम्पत्तिलाई लुकाउन शुद्धीकरण गरिएको कसुर यस ऐनअन्तर्गत पर्ने ।
सम्पत्ति शुद्धीकरण एउटा बहु आयामिक वित्तीय अपराध (Multi-Dimensional Financial Crime ) पनि हो । मूल अपराध लुकिने हुनाले शुद्धीकरणको अपराध भएपछि उसले मूल अपराध गर्यो वा गरेन र उसको अपराध गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिँदैन । त्यसैले सम्पत्ति शुद्धीकरण ऐन,२०६४ को दफा २८ ले कसैसँग आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा उसको सम्पत्ति अस्वाभाविक देखिएमा र उसले आर्जन गरेको स्रोत देखाउन नसके सम्पत्ति शुद्धीकरणको अपराध हुने व्यवस्था गरेको हो ।
(च) सम्पत्ति शुद्धीकरणका प्रमुख सम्भाव्य स्रोतहरु :
गैरकानुनी रुपमा आर्जित सम्पत्तिलाई कानुनी आय बनाउने अर्थात कालो धनलाई सेतो धन बनाउने प्रक्रियाको सबै प्रयास एवं क्रियाकलापलाई सम्पत्ति शुद्धीकरणको स्रोतको रुपमा लिनुपर्दछ ।
सम्पत्ति शुद्धीकरणका सम्भाव्य स्रोतहरु विभिन्न हुनसक्ने भएतापनि देहायका स्रोतहरुबाट प्राप्त आर्जनको सम्पत्ति शुद्धीकरण हुने गरेको विश्वव्यापी अनुभव रहेको छ ।
१) आतंककारी कार्य र आतंकवादमा भएको वित्तीय लगानी,
२) लागू औषध कारोवार,
३) भ्रष्टाचार,
४) अवैध हातहतियारको कारोवार,
५) मानव तस्करी तथा अमूल्य वस्तु, जनावर र बोटविरुवाको तस्करी,
६) सीमा तस्करी,
७) चिठ्ठा ठगी,
८) माफिया सञ्चालन,
९) हुण्डी व्यापार,
१०) क्यासिनो,
११) अपहरण र फिरौती,
१२) चोरी र डकैति (पाइरेसी),
१३) राजश्व छली
१४) कुनै पनि गैर कानूनी कार्य वा कालो धन सेतो पार्ने जुनसुकै कार्य ।
अर्को तर्फबाट हेर्दा आपराधिक संगठनहरुका सदस्यहरु, भ्रष्ट कर्मचारीहरु, लागु पदार्थका कारोबारीहरु, आतंककारीहरु, गैरकानूनी व्यापारीहरु, असामाजिक क्रियाकलापमा लागेका व्यक्तिहरुका गतिविधिहरु सम्पत्ति शुद्धीकरणका प्रमुख स्रोतहरु हुन् ।
(छ) के हो सम्पत्ति शुद्धीकरण निवरण :
अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निरुत्साहित गर्ने कार्य लाई सम्पत्ति शुद्धीकरण निवरण भनिन्छ ।
(ज) सम्पत्ति शुद्धीकरण निवारण किन जरुरी छ :
सम्पत्ति शुद्धीकरण एक आर्थिक अपराध भएकोले यसले कसैको हित गर्दैन । उल्लेखित सम्पत्ति शुद्धीकरणबाट प्रभावित हुने क्षेत्रहरुलाई प्रभावमुक्त राख्नुको अतिरिक्त यसको निवारण मूलतः देहायका कारणबाट जरुरी छ ।
(१) शंकास्पद कारोवार पहिचान गरी सम्भावित अभियुक्तलाई अनुसन्धान, तहकिकात एवं अभियोजन गरी कानूनी दायरामा ल्याउन ।
(२) सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने लगानीलाई अपराधीकरण गर्न ।
(३) सम्पत्ति शुद्धीकरण गर्ने अपराधीलाई कानूनको दायरामा ल्याई दण्ड सजाय गर्न ।
(४) सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानी हुने कार्यबाट आर्जित सम्पत्ति जफत गर्न ।
(५) सम्पत्ति शुद्धीकरण निवारणमा राष्ट्रिय, क्षेत्रीय एवम् अन्तर्रा्ष्ट्रिय सहयोगको अदानप्रदान गर्न ।
(६) भविष्यमा अपराधीहरुले गैर कानूनी कार्यबाट सम्पत्ति शुद्धीकरण गर्ने गर्न नसक्ने वातावरण सिर्जना गर्न ।
(७) राष्ट्रिय, क्षेत्रीय एवं अन्तराष्ट्रिय अर्थतन्त्रको स्वस्थ्य ढंगले विकास गर्न ।
(झ) सम्पत्ति शुद्धीकरण निवरण ऐन २०६४ ले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी गर्नेलाई गर्ने सजाय हरु :-
(१) दफा ३ को उपदफा (१) मा उल्लिखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसूरको गाम्भीर्य हेरी दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ ।
(२) दफा ३ को उपदफा (२) मा उल्लिखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर मध्ये षडयन्त्र गर्ने व्यक्तिलाई उपदफा (१) बमोजिम र अन्य कसूर गर्ने व्यक्तिलाई उपदफा (१) मा उल्लिखित सजायको आधा सजाय हुनेछ ।
(३) दफा ४ को उपदफा (१) मा उल्लिखित आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई विगो खुलेकोमा विगोको पाँच गुणा र विगो नखुलेकोमा एक करोड रूपैयाँसम्म जरिवाना र कसूरको गाम्भीर्य हेरी तीन वर्षदेखि बीस वर्षसम्म कैद हुनेछ ।
(४) दफा ४ को उपदफा (२), (३) वा (४) मा उल्लिखित आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई उपदफा (३) मा उल्लिखित सजायको आधा सजाय हुनेछ ।
(५) कानूनी व्यक्ति वा सोको प्रयोग गरी कुनै व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कसूर गर्ने व्यक्ति, पदाधिकारी वा कर्मचारीलाई उपदफा (१), (२), (३) वा (४) बमोजिम सजाय हुनेछ ।
(६) उपदफा (५) बमोजिमको व्यक्ति, पदाधिकारी वा कर्मचारी पहिचान हुन नसकेमा त्यस्तो कसूर हुँदाको बखत प्रमुख भई कामकाज गर्ने पदाधिकारीलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
(७) कुनै राष्ट्रसेवक वा सूचक संस्थाको पदाधिकारी वा कर्मचारीले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो व्यक्तिलाई उपदफा (१), (२), (३) वा (४) मा उल्लिखित सजायमा थप दश प्रतिशत सजाय हुनेछ ।
(८) कुनै कानूनी व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कानूनी व्यक्तिलाई प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको गाम्भीर्यका आधारमा देहायका कुनै वा सबै सजाय हुनेछः–
(क) उपदफा (१), (२), (३) वा (४) बमोजिम हुन सक्ने जरिवानाको पाँच गुणासम्म जरिवाना गर्ने,
(ख) अवधी तोकी सार्वजनिक खरीदमा निषेध गर्ने,
(ग) अवधी तोकी उत्पादन वा सेवाको खरीद गर्न रोक लगाउने,
(घ) हानि नोक्सानीको क्षतिपूर्ति भराउने,
(ङ) इजाजतपत्र वा अनुमतिपत्र खारेज गर्ने, वा
(च) त्यस्तो कानूनी व्यक्तिलाई खारेज गर्ने ।
(९) उपदफा (१) देखि (८) सम्म लेखिए बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा बिगो खुलेकोमा बिगो जफत गरी विगो बमोजिमको जरिबाना र विगो नखुलेकोमा दशलाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
३१. गोपनीयता भंग गर्नेलाई सजायः दफा १०ख. को उपदफा (२) बमोजिम गोपनीयता कायम नगर्ने वा दफा २६ विपरीत गोप्यता भंग गर्ने व्यक्तिलाई एक महिनादेखि तीन महिनासम्म कैद वा एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
३२. प्रमाण लुकाउने वा नष्ट गर्नेलाई हुने सजायः सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने काम कारबाहीसँग सम्बन्धित प्रमाण लुकाउने वा नष्ट गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार एक महिना देखि तीन महिनासम्म कैद वा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यस्तो कार्य गर्न सहयोग गर्नेलाई सो सजायको आधा सजाय हुनेछ ।
३३. बाधा विरोध गर्नेलाई सजायः अनुसन्धान सम्बन्धी काम कारबाहीमा कसैले बाधा विरोध गरेमा निजलाई अनुसन्धान अधिकृतको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्न सक्नेछ ।
३३क. हैरानी वा झण्झट दिनेलाई सजायः कसैले उजूरी दिनु पर्ने मनासिब कारण नभई कसैलाई कुनै किसिमको हानि नोक्सानी पुर्याउने वा दुःख, हैरानी वा झण्झट दिने नियतले झूट्टो उजूरी दिएको प्रमाणित भएमा अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई दशहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
३४. सम्पत्ति वा साधन जफत हुनेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर प्रमाणित भएमा कसूरसँग सम्बन्धित जो सुकैको नाम, भोग, स्वामित्व वा कुनै पनि प्रकारको स्वार्थ रहे भएको देहायको सम्पत्ति वा साधन जफत हुनेछः–
(क) शुद्धीकरण गरिएको सम्पत्ति,
(ख) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसँग सम्बन्धित साधन,
(ग) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरबाट प्राप्त सम्पत्ति,
(घ) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानीको लागि वा आतङ्ककारी कार्य वा आतङ्ककारी व्यक्ति, आतङ्ककारी संगठनले प्रयोग गरेको वा प्रयोग गर्न छुट्याइएको वा प्रयोग गर्न खोजिएको सम्पत्ति, र
(ङ) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको साधन ।
(२) उपदफा (१) मा उल्लिखित सम्पत्ति वा साधन लुकाएको, उपभोग गरेको, निःसर्ग गरेको, निर्दोष व्यक्तिको सम्पत्ति वा साधन भएको वा अन्य कुनै कारणले जफत गर्न नसकिने भएमा कसूरदारको सो मूल्य बराबरको अन्य सम्पत्ति जफत हुनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम सम्पत्ति वा साधन जफत गर्दा कसूरमा संलग्न नभएको निर्दोष व्यक्तिको कानूनी अधिकारको समुचित रुपमा संरक्षण गर्नु पर्नेछ ।
(४) उपदफा (३) को प्रयोजनका लागि उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरमा संलग्न नभएको निर्दोष व्यक्तिको सम्पत्ति वा साधन र सोबाट बढे बढाएको सम्पत्ति देहायको अवस्था विद्यमान भएमा अदालतले जफत गर्ने छैनः–
(क) त्यस्तो व्यक्ति सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरमा संलग्न भएको नदेखिएमा,
(ख) त्यस्तो सम्पत्ति वा साधन कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन भएको नदेखिएमा,
(ग) त्यस्तो सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर हुनुभन्दा अगावै प्राप्त गरेको र त्यस्तो सम्पत्ति वा साधन सम्बन्धित व्यक्तिले कसूरमा प्रयोग गर्न सक्छ भन्ने निजलाई थाहा नभएको देखिएमा ।
यो लेख पढिसके पछि तपाईंको विचार send message मा गई message गर्न सक्नुहुनेछ ।
– कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७ ।