Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निःशूल्क आस्वा सेवाको प्रतिष्पर्धा, आठ वाणिज्य बैंकहरुले गरे घोषणा

२०७४ जेष्ठ २२ गते

आस्वा सेवालाई साउनबाट अनिवार्य गर्ने नीति आएपछि अहिले बैंकहरु आस्वा सेवा दिन प्रतिष्पर्धा गरिरहेका छन् । सुरुमा एक सय रुपैयाँ शूल्क राखिएको आस्वा सेवा अहिले अधिकांश बैंकहरुले निशुल्क दिन थालेका छन् । धितोपत्र बोर्डले सबै बैंकहरुलाई आस्वा प्रणालीमा जान निर्देशन दिएपछि बैंकहरुले एक सय रुपैयाँमा आस्वा सेवा दिने बताएका थिए । बोर्डले पनि सुरुमा आस्वा सेवाबापत दुई सय रुपैयाँ शूल्क लिन पाउने व्यवस्था गरेकोमा सोको परिमार्जन गर्दै एक सय रुपैयाँमा आस्वा सेवा दिन निर्देशन दिएको छ । केहि महिनासम्म बैंकहरुले सय रुपैयाँमा दिँदै आएको आस्वा सेवा ५०, २५, २० र दश रुपैयाँ हुँदै अहिले निशुल्कसम्म आइपुगेको छ । 

हालसम्म सम्पूर्ण वाणिज्य बैंकहरु र अधिकांश विकास बैंक र केही फाइनान्स कम्पनीसहित ५२ वटा संस्थाहरुले आस्वा सेवा प्रदान गरिसकेका छन् । गत माघदेखि ऐच्छिक रुपमा लागू गरिएको यो प्रणालीलाई नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक वर्षदेखि अनिवार्य गर्न लागेको छ । धितोपत्र बोर्डले साउनदेखि यो सेवालाई अनिवार्य व्यवस्था गर्न लागेपछि सबै बैंकहरु धमाधम आस्वा सेवा दिन लागिरहेका छन् । 

कुन–कुन बैंकले दिए निःशुल्क आस्वा ?
खातामै रकम रोक्का गरेर बाँडफाँडपछि सेयर नपरेको रकम खातामै फुकुवा हुने प्रणाली नै आस्वा (एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट) प्रणाली हो । यो प्रणाली अनिवार्य गरिएपछि आइपिओ तथा एफपिओ भर्दा जुन बैंकमा आफ्नो खाता छ, सोहीमार्फत भर्नुपर्दछ । हाल ७० दिनसम्म लाग्ने बाँडफाँड प्रक्रिया २० दिनमै हुने हुँदा यसले लगानीकर्तालाई फाइदा पुग्नेछ । अनलाईन आस्वा सेवा ग्राहकहरुका लागि भरपर्दो र सहज तरिकाको एउटा सेवा हो । थरीथरीका शुल्क लिँदै आस्वा सेवा दिने बताएका बैंकहरु अहिले निशूल्क सेवा दिने प्रतिष्पर्धामा जुटेका छन् । हेरौँ कुनकुन बैंकबाट पाइन्छ, निःशूल्क आस्वा सेवा ?

कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडले निःशुल्क आस्वा सेवा प्रदान गर्ने भएको छ । धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिँदा बैंकका ग्राहकले कुमारी बैंकमा रहेको आफ्नो चल्ती, बचत तथा कल खाताबाट आस्वा प्रणालीमार्फत सहज, सरल र सुरक्षित तरिकाले लगानी गर्न सक्ने व्यवस्था कुमारी बैंकले गरेको छ । निःशुल्क सेवाबाट आस्वा प्रणालीमार्फत सेयरमा लगानी गर्न ग्राहकहरु थप अभिप्रेरित हुने कुमारी बैंकको विश्वास छ । यो सुविधा कुमारी बैंकले ३६ वटै शाखा कार्यालयहरुबाट ग्राहकलाई निशुल्क दिने जनाएको छ । कुमारी बैंकले ग्राहकको अभिलाषा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्ने क्रममा आगामी दिनमा थप सुविधाहरू दिने योजना बनाएको छ । 

एनआइसी एसिया बैंक लिमिटेड
आस्वा एनआईसी एसिया बैंकले पनि निःशुल्क आस्वासेवा दिने भएको छ । जुनसुकै शाखाहरुबाट आस्वा सेवामार्फत सेयर आवेदन लिने गरेको बैंकले आफ्ना ग्राहकलाई बिहीबारदेखि लागू हुनेगरी आस्वा सेवा निःशुल्क गर्ने भएको हो । देशभरि फैलिएका १०७ वटै शाखाहरुबाट विना कुनै शुल्क आस्वा सेवा मार्फत सहज रुपमा आइपिओ, एफपिओ तथा म्युचुअल फण्डमा आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले संचालनमा ल्याएको आकर्षक व्याजदर भएको कुनै पनि बचत खाता प्रयोग गरि सेयरमा लगानी गर्नुको साथै आफ्नो बचत खातामा नियमानुसार व्याज प्राप्त गर्न सकिनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेड 
बैंक अफ काठमाण्डू लिमिटेडले पनि आस्वा सेवालाई निशूल्क गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्बा प्रणालीअन्तर्गत धितोपत्र निष्कासन हँुदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन तथा सोसम्बन्धी कार्य गर्ने अनुमति पाएअनुसार आस्वाको काम गर्दै आएको छ । सो प्रणालीअन्तर्गत धितोपत्र निष्कासन हँुदाका बखत लगानीकर्ताबाट दरखास्त बुझेपश्चात् सय रुपैयाँ प्रतिआवेदन लिइरहेकामा अब उपरान्त निःशुल्क सुविधा प्रदान गर्ने निर्णय गरेको बैंकले बताएको छ ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले पनि अबदेखि आस्वा सेवा दिएवापत शूल्क नलिने घोषणा गरेको छ । धितोपत्रको सार्वजनिक निस्काशनमा आवेदन दिँदा ग्राहकहरुले सिद्धार्थ बैंकमा रहेको आफ्नो चल्ती, बचत तथा कल खाताबाट आस्वा प्रणाली मार्फत सहज, सरल र सुरक्षित तरीकाले लगानी गर्न सक्नेछन् । यस निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्न ग्राहकहरु थप अभिप्रेरित हुने बैंकको विश्वास रहेको छ । २०७४ जेष्ठ १ गतेदेखि बैंकले देशभर रहेका आफ्ना ७२ शाखाहरुबाट ग्राहकहरुलाई यो सेवा प्रदान गर्दै आएको छ ।

सानिमा बैंक
आस्वा सेवा निःशूल्क दिने घोषणा गर्ने बैंकहरुको सूचिमा सानिमा बैंक लिमिटेड पनि थपिएको छ । आस्वा प्रणाली अन्तर्गत धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सानिमा बैंकले गत माघ १ गतेदेखि यो सेवा प्रदान गर्दै आएको थियो । मंगलबार (जेठ २ गते)देखि भने यो सेवालाई निःशूल्क गरिएको बैंकले जानकारी दिएको छ । यो सुविधालाई अझ सरल तथा झन्झट रहित बनाउने उद्देश्यले आफ्ना ग्राहकहरुलाई आस्वा अन्तर्गत अनलाईन सेयर आवेदन दिन सकिने सेवा समेत सुरु गरेको बैंकले जनाएको छ । यो सुबिधा बैंकमा खाता हुने ग्राहकहरुले ईन्टरनेट बैंकिङ्गमार्फत उपयोग गर्न सक्नेछन् । सानिमा बैंकको देशभर हाल ४५ वटा शाखा तथा ५३ वटा एटीएम सञ्चालनमा छन् ।

कृषि विकास बैंक
सरकारी स्वामित्वमा रहेको कृषि बिकास बैंक लिमिटेडलेपनि  बिभिन्न कम्पनीहरुले निष्काशन गरेको आईपिओ तथा एफपिओमा आस्वा प्रणालीमार्फत लगानी गर्दा विना शूल्क सेवा दिने निर्णय गरेको छ । आम नेपाली जनताहरुलाई बैकिङ सेवा दिँदै वित्तीय कारोबारमा जागरुक गराउने तथा बैंक मार्फत सेयर लगानी गर्दा सेवाग्राही महानुभावलाई थप सहुलियत होस भन्ने उद्देश्यले बैंकले आस्वा सेवा प्रदान गरिरहेको छ । मुलुकभर २५७ वटा शाखा सञ्जाल रहेको बैंकले हालका लागि १७७ शाखामार्फत निःशूल्क रुपमा आस्वा सेवा दिन लागेको हो । बैंकले सबै सर्वसाधारणलाई सेयरमा लगानी गर्दा आस्वा प्रणालीको प्रयोग गर्न आह्वान समेत गरेको छ । 

माछापूछ्रे बैंक
निशूल्क आस्वा सेवा सुरु गर्ने अर्को वाणिज्य बैंक हो, माछापुच्छ्रे बैंक । बैंकले धितोपत्रको सार्वजनिक निष्काशन (आइपीओ(एफपीओ) को क्रममा ग्राहकहरुलाई निशुल्क आस्वा सेवा प्रदान गर्ने जनाएको छ । बैंकमा चल्ती, बचत तथा कल खाता भएका ग्राहकहरुले निःशुल्क आस्वा सेवा मार्फत सहज, सरल र सुरक्षित तवरले लगानी गर्न सक्ने छन् । यस निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्न ग्राहक थप अभिप्रेरित हुने विश्वास बैकले लिएको छ । बैकको देशभरका ५६ वटै शाखा मार्फत  निःशुल्क आस्वा सेवा प्रदान गर्ने बैंकले बताइएको छ । 

एनएमबि बैंक
एनएमबि बैंक लिमिटेडले पनि आफ्ना ग्राहकहरुलाई निशुल्क आस्वा सेवा प्रदान गर्ने घोषणा गरेको छ । अब एनएमबि बैंकबाट आस्वा प्रणाली मार्फत सेयर भर्दा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ । उक्त सेवा बैंकको देशभर रहेका शाखा कार्यालयबाट लिन सकिने बैंकले जनाएको छ । यस प्रणालीबाट सेवा लिँदा सेयर बितरण नभएसम्मका लागि सेयरधनीको रकम खाता मै रहने व्यवस्था हुन्छ । आस्वा व्यवस्थाले लगानीकर्ताको लगानी रकम रोक्का गरिए पनि रोक्का गरेको रकमको ब्याज लगानीकर्ताले पाउने छन् । सेयर परे पश्चात्तको रकम मात्र रोक्का रकमबाट कट्टिने भएकाले ग्राहकलाई थप सहयोग पुग्नेमा विश्वास बैंकले लिएको छ ।

विकास बैंकहरु पनि निःशूल्क आस्वा सेवा दिँदै
निशूल्क आस्वा सेवा दिने बैंकहरुको प्रतिष्पर्धामा विकास बैंकहरु समेत थपिएका छन् । 

ओम डेभलपमेन्ट बैंक
ओम डेभलपमेन्ट बैंक लिमिटेडले निःशुल्क आस्वा सेवा सुरु गरेको छ । जसअनुसार, अब आस्वा प्रणालीबाट ग्राहकहरुले ओमबाट निःशुल्क सहज रुपमा बैंकमा रहेको मौज्दात रकम ब्लक गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन सक्नेछन् । ग्राहकहरुले यो सेवा काठमाडौं, पोखरा लगायत  बैंकको ३२ वटै शाखाहरुबाट प्राप्त गर्न सक्ने बताइएको छ । 

Ad