रुपा कोइराला । बैंक तथा वित्तीय संस्था मात्रै नभएर बीमा कम्पनीहरु पनि यतिबेला पुँजीवृद्धिको दौडमा छन् । पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमतिको पखाईमा रहेका कम्पनीको संख्या मात्रै २१ पुगेको छ । पाइपलाइनमा ०७१ सालदेखि निवेदन दिएका कम्पनीसमेत रहेका छन् । पाइपलाइनका २१ कम्पनीमध्ये, बैंक तथा वित्तीय संस्थाहरु मात्रै १६ वटा छन् भने दुई जलविद्युत् कम्पनी, दुई बीमा कम्पनी र एउटा उद्योग रहेका छन् । यी कम्पनीले १० अर्ब ७७ करोड ८६ लाख १७ हजार दुई सय ३२ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछन् ।
०७१ सालदेखि पाइपलाइनमा
पाइपलाइनको सूचीको पहिलो नम्बरमा सेन्ट्रल फाइनान्स लिमिटेड रहेको छ । ०७१ फागुन २८ गते २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै फाइनान्स धितोपत्र बोर्डमा पुगेको थियो । बोर्डले ०७२ जेठ १७ गते फाइनान्सलाई प्रतिक्रिया पठाएको तर फाइनान्सको तर्फबाट जवाफ नआएको जनाएको छ । यो फाइनान्स भक्तपूर फाइनान्ससँग मर्जरमा जाने प्रक्रियामा भएको हुँदा हकप्रद निष्काशन अन्यौलमा परेको देखिएको छ । सेन्ट्रलको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
अनुमतिको पखाईमा अन्य तीन फाइनान्स कम्पनी
सेन्ट्रलबाहेक, तीन फाइनान्स कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । युनाइटेड फाइनान्स लिमिटेडले ०७३ चैत्र २९, जेविल्स फाइनान्सले गत वैशाख १० गते र अरुण फाइनान्सले ११ गते बोर्डमा निवेदन दिएका हुन् । जसमध्ये, युनाइटेडले २० प्रतिशत अर्थात पाँच बराबरको एकको अनुपातमा हकप्रद जारी गर्न लागेको छ भने जेविल्स र अरुणले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद जारी गर्न लागेका छन् । युनाइटेड, जेविल्स र अरुणको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा क्रमशः नविल इन्भेष्टमेन्ट बैंकिङ, एनसिएम मर्चेन्ट बैंकिङ र ग्लोबल आईएमई क्यापिटल रहेका छन् ।
दुई जलविद्युत् कम्पनी पनि
हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुमा दुई जलविद्युत् कम्पनीहरु पनि छन् । अपि पावर कम्पनीले ०७३ वैशाख २७ गते र सानिमा माइ हाइड्रोपावरले ०७३ मंसिर ३ गते धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । अपिले र दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा र सानिमाले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेका हुन् । अपिलाई धितोपत्र बोर्डले प्रतिक्रिया दिएको थियो, जसको जवाफ पनि अपिले दिइसकेको छ । अब उसको जवाफको समिक्षा भइरहेको बोर्डले जानकारी दिएको छ । सानिमाले भने बोर्डको प्रतिक्रियाको जवाफ दिएको छैन । अपि र सानिमाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा क्रमशः सिद्धार्थ क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ रहेका छन् ।
दुई निर्जीवन बीमा कम्पनी पनि हकप्रद जारी गर्दै
निजी स्तरका दुई निर्जीवन बीमा कम्पनी पनि हकप्रद निष्काशन गर्ने तयारीमा छन् । हिमालयन जनरल इन्स्योरेन्सले एक बराबर एक दशमलव ६६६७ को अनुपातमा र लुम्बिनी जनरल इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेका हुन् । यसका लागि हिमालयनले ०७३ चैत्र २० गते र लुम्बिनीले २९ गते बोर्डमा निवेदन दिएकोमा दुवैले बोर्डबाट प्रतिक्रिया पाइसकेका छन्, तर जवाफ पठाएका छैनन् । हिमालयन र लुम्बिनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा क्रमशः एनएमबि क्यापिटल र सीबिआईएल क्यापिटल रहेका छन् ।
साना ठूला गरी नौ विकास बैंक
साना र ठूला गरि नौ वटा विकास बैंकले पनि हकप्रद सेयर जारी गर्दैछन् । यती डेभलपमेन्ट बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद जारी गर्न ०७३ मंसिर २७ गते बोर्डमा निवेदन दिएकोमा बोर्डले प्रतिक्रिया पठाइसकेको छ, तर बैंकले जवाफ दिएको छैन । एनसिएम मर्चेन्ट बैंकिङले यतीको हकप्रद निष्काशनको प्रबन्ध मिलाउनेछ । त्यस्तै, काबेली विकास बैंकले ५० प्रतिशत हकप्रद जारी गर्न गत पुस २४ गते, राप्तीभेरीले दुई सय प्रतिशत हकप्रद जारी गर्न माघ १४ गते र सिन्धु विकास बैंकले १० बराबर आठको अनुपातमा हकप्रद जारी गर्न फागुन १२ गते निवेदन दिएका थिए । यी तीन विकास बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा क्रमशः ग्लोबल आईएमई क्यापिटल, एनएमबि क्यापिटल र एनआईबिएल क्यापिटल रहका छन् । यसबाहेक, कामना विकास बैंकले १० बराबर तीनको अनुपातमा हकप्रद जारी गर्न गत वैशाख ५ गते निवेदन दिएको छ भने सोही महिनाको १४ गते सप्तकोसी डेभलपमेन्ट बैंकले एक बराबर एक दशमलव तीनको अनुपातमा हकप्रद जारी गर्ने अनुमति माग गरेको छ । कामनाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल र सप्तकोसीकोमा एनएमबि क्यापिटल रहेका छ । त्यस्तै, जेठ ३ गते मुक्तिनाथ विकास बैंक, १२ गते ग्रीन डेभलपमेन्ट बैंक र १४ गते माउन्ट मकालु डेभलपमेन्ट बैंकले क्रमशः १० बराबर चार, एक बराबर चार र दुई बराबर एकको अनुपातमा हकप्रद जारी गर्न निवेदन दिएका छन् । यी विकास बैंकको सेयर निष्काशन तथा विक्रीको प्रबन्ध क्रमशः एनआईबिएल, लक्ष्मी र एनआईबिल क्यापिटलले मिलाउँदैछन् ।
अन्य कम्पनीहरु
हकप्रद निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका अन्य कम्पनीहरुमा प्रभु बैंक, रिलायबल माइक्रोफाइनान्स, श्रीराम सुगर मिल्स र किसान माइक्रोफाइनान्स रहेका छन्, जसले क्रमशः १० बराबर चार, दुई बराबर एक, एक बराबर तीन र १०० बराबर २४.२२ को अनुपातमा हकप्रद जारी गर्ने अनुमति माग गरेका छन् । वैशाख ८ गते बोर्डमा निवेदन दिएको प्रभुले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्टलाई नियुक्त गरेको छ । वैशाख १२ गते बोर्डमा निवेदन दिएको रिलायबलले सिभिल क्यापिटल, वैशाख २८ गते निवेदन दिएको श्रीरामले सिद्धार्थ क्यापिटल र १४ गते निवेदन दिएको किसानले सिभिल क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेका छन् ।