रोयल आचार्य – नेपाल राष्ट्र बैंकले भूकम्पका कारण जीर्ण भएका आफ्ना भवनहरु धमाधम भत्काइरहेको छ । भूकम्पबाट भत्किएका भवनहरू काम नलाग्ने अवस्थामा पुगेपछि भत्काउन थालिएको हो । राष्ट्र बैंकका पुराना भवनहरु भत्काउने र बनाउने काम सहरी विकास मन्त्रालयअन्तर्गतको आयोजना कार्यान्वयन इकाईले गरिरहेको छ । पुराना भवन भत्काए पछि अत्याधुनिक भवनहरु निर्माण गर्ने तयारी सरकारको छ । भवन भत्काउने ठेक्का ठेकेदार कम्पनी जम्बो कन्स्ट्रक्सनले पाएको छ । बालुवाटार र थापाथलीस्थित राष्ट्र बैंकका भवनहरू प्रबलीकरण (रेट्रोफिटिङ) गर्न सकिने अवस्था नभएकाले पुरातात्विक संरचना नबिग्रने गरी भत्काउन अनुमति दिएको छ ।
०७२ वैशाखको विनाशकारी भूकम्पबाट बालुवाटार, थापाथली र सुन्धारास्थित ३ वटा भवनहरू भत्किँदा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । भूकम्पले सुन्धारा र थापाथलीस्थित ढुकुटी रहेको भवनमा पनि क्षति पुगेको थियो । बालुवाटार कार्यालयमा भूकम्पअघि नै नयाँ भवनमा ढुकुटी राखिएको थियो । भूकम्पले क्षति नभएको भवनमा अहिले गभर्नर कार्यालय र प्रमुख विभागहरु छन् । पुराना भवन भत्काए पछि सोहि ठाउँमा ठूला र अत्याधुनिक भवन बनाउने राष्ट्र बैंकले जनाएको छ । हाल राष्ट्र बैंकले सुनचाँदीलगायत महत्वपूर्ण सम्पत्ति रहेको ढुकुटी बालुवाटारस्थित केन्द्रीय कार्यालय र नोट कोष तथा बैंकिङसम्बन्धी ढुकुटी थापाथलीमा राखेको छ । थापाथलीका अधिकांश भवन जीर्ण अवस्थामा छन् ।
कसरी हुँदैछ राष्ट्र बैंक भवन निर्माणको कार्य ? हेर्नुस् तस्वीरमा
