Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सम्पूर्ण आर्थिक कारोबारहरु बैंकिङ प्रणालीमार्फत गर्ने तयारी

२०७४ जेष्ठ १६ गते

सरकारले सबै आर्थिक कारोबारहरु बैंकिङ कारोबारमार्फत गर्ने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री कृष्णबहादुर महराले सबै आर्थिक कारोबारहरुलाई औपचारिक दायरामा ल्याई आर्थिक कारोबारहरु गर्ने व्यवस्था मिलाउन लागिएको बताए । साथमा सबै नेपालीको बैंक खाता खोल्ने अभियानलाई सार्थक बनाउन समेत पहल गरिने उनले बताए । यद्यपि, कतिपय औपचारिक कारोबारको भुक्तानी समेत अनौपचारिक माध्यमबाट हुने गरेको, बन्द व्यापार र व्यवसायको भुक्तानी बैंकिङ प्रणालीभन्दा बाहिरबाटै हुने गरेको तथा आर्थिक क्षेत्रको ठूलो हिस्सा औपचारिक क्षेत्रभन्दा बाहिर रहेका कारण अर्थतन्त्रको वास्तविक आकारको पहिचान हुन सकेको छैन । यस्तो अवस्थामा सबै आर्थिक कारोबारलाई बैंकिङ प्रणालीभित्र ल्याउने लक्ष्य चुनौतिपूर्ण रहेको अर्थमन्त्री महराको ठहर छ । तरपनि, वित्तीय पहुँच विस्तारका लागि बजेटमा विभिन्न व्यवस्थाहरु गरिएको छ । 

सबै सरकारी भुक्तानी बैंकबाट
राज्यकोषबाट हुने तलब भत्ता लगायत सबै सरकारी भुक्तानी सम्बद्ध व्यक्ति तथा संस्थाको बैंक खाता मार्फत मात्र हुने व्यवस्था गरिनेछ । अन्तर्रा्ष्ट्रिय व्यापारको भुक्तानी ई–पेमेन्टका माध्मबाटै राजश्व् संकलन गर्न सकिने व्यवस्था गरिनेछ ।

भूकम्पपीडतलाई अनुदान बैंकबाट
सरकारले भुकम्पपीडितलाई अनुदानवापत दिइने रकम बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था गरेको छ । रकमको अपचलन रोक्ने तथा सर्वसाधारणमा बैंकको प्रयोग गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । बजेटमा भुकम्पपीडितलाई पुनर्निमाणका लागि दिइने अनुदान रकम समेत बढाइएको उल्लेख छ । यसअघि, भुकम्पपछिको पुनर्निमाणका लागि दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भनिएकोमा अब एक लाख रुपैयाँ थप गरी तीन लाख रुपैयाँ दिइने भएको हो । अर्थका अनुसार, हालसम्म भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ९५ प्रतिशत पीडितहरुले पहिलो किस्तावापतको रकम ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् भने ५० हजारभन्दा बढी व्यक्तिगत घरहरु निर्माणको चरणमा रहेका छन् । भूकम्पबाट प्रभावित बाँकी १७ जिल्लाका पीडितहरुलाई पनि अनुदानको पहिलो किस्ता वितरण कार्य सुरु भइसकेको अर्थमन्त्री महराले बताए ।

नागरिकलाई बैंकसम्म पुग्न प्रोत्साहन गर्ने कार्यक्रमहरु
वित्तीय क्षेत्र विकास रणनीतिलाई कार्यान्वनमा ल्याइने बजेटमा उल्लेख छ । सबै नेपालीको बैंक खाता खोल्ने कार्यक्रमलाई सशक्त रुपमा कार्यान्वयनमा ल्याइने सरकारको योजना छ । सूचना प्रविधिको अधिकतम प्रयोग गरी शाखा रहित बैंकिङ सेवा, इन्टनेट बैंकिङ तथा मोवाइल वालेट जस्ता नवीनतम वित्तीय सेवा उपलब्ध गराउन बैंकहरुलाई प्रोत्साहन गरिने बताइएको छ । पुँजी निर्माणमास्वदेशी लगानी वृद्धि गर्न आम नागरिकलाई बचत गर्न प्रोत्साहन गरिने तथा वित्तीय साक्षरताका कार्यक्रमलाई समेत अघि बढाइने भएको छ । कृषि उद्योग लगायत उत्पादनशील क्षेत्रमा प्रवाह हुने पुनर्कजाको सुविधालाई थप प्रभावकारी बनाइने भएको छ । कृषि क्षेत्रमा सहुलियत दरमा प्रदान गरिने कर्जाको प्रक्रियालाई सरल बनाई आम किसानको पहुँच बढाइने बताइएको छ ।

बैंकका शाखा विस्तार
द्वन्द्वको समयमा विस्थापित बैंक शाखाहरु पुनः स्थापना गर्ने कार्यलाइृ थप प्रोत्साहन गरिने भएको छ । प्रत्येक गाउँपालिका र नगरपालिकामा एउटा वाणिज्य बैंकको शाखा अनिवार्य स्थापना गर्न आवश्यक व्यवस्था मिलाइने भएको छ । 

Ad