Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन्, साताभर चर्चामा रहेका बैंकिङ खबरहरु

२०७४ जेष्ठ १२ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

नयाँ बीमा सञ्चालनको प्रक्रिया
अर्थ मन्त्रालयले स्वीकृति दिएका १० नयाँ जीवन बीमा कम्पनीलाई बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले सैद्धान्तिक स्वीकृतिको पत्र पठायो । अर्थ मन्त्रालयले आइएमइ, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिन बीमा समितिलाई अनुमति दिएको थियो । अब ती बीमा कम्पनीहरुले कर्मचारी नियुक्ति, कार्यालयको पूर्वाधार तथा बिजिनेस प्लानसमेत बुझाई तोकिएको चुक्तापुँजी पुर्याएर अन्तिम स्वीकृतिका लागि आवेदन दिनेछन् । बीमा समितिले संस्थागत सुशासन विनियमावलीभित्र रहेर नयाँ कम्पनीहरुको मूल्यांकन गर्ने छ । विनियमावलीभित्र अट्ने कम्पनीहरुले अन्तिम स्वीकृति पाउने छन् ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी व्यवस्थामा संशोधन
नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानीसम्बन्धी पूरानो व्यवस्थालाई संशोधन गर्यो । राष्ट्र बैंकले विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स बैक खाताबाट भुक्तानी गर्नुपर्ने रकमको सीमा बढाएको हो । २०७१ माघ २५ गते निर्देशन जारी गर्दै राष्ट्र बैंकले एक लाख रुपैयाँसम्म बैंकमा खातै नखोली हातहातै र त्यो भन्दा वढि भए बैंक खाताबाट भुक्तानी गर्नु पर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थालई संशोधन गर्दै राष्ट्र बैंकले दुई लाख रुपैयाँसम्म रेमिट्यान्स हातहातै भुक्तानी गर्न पाइने र सोभन्दा बढी भए मात्रै बैंक खाताबाट भुक्तानी गर्नुपर्ने ब्यवस्था गरेको हो । 

भूकम्पपीडितलाई सामुहिक जमानीमा तीन लाखसम्म ऋण
भूकम्पपिडितलाई घर बनाउन सामुहिक जमानीमा तीन लाख रुपैयाँसम्म ऋण दिन बाटो यसै सातादेखि खुल्यो । अर्थ मन्त्रालयले बनाएको कार्य्विधि मन्त्रीपरिषद्बाट पास भएर कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंक पठाइएपछि ऋण दिन बाटो खुलेको हो । अहिलेसम्म केन्द्रीय बैंकको समन्वयमा दुई सय ८० जना भूकम्प पिडितले सहुलियत ब्याजको ऋण भने लगिसकेका छन् । दुई प्रतिशत ब्याजदरमा उपलब्ध यो ऋण उपत्यकामा २५ लाख र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म दिइएको हो । यसका लागि धितो अनिवार्य गरिएको छ ।

एनआईसी एशिया बैंकमा नयाँ सहायक सीईओ
एनआईसी एशिया बैंकले रोशनकुमार न्यौपाने तथा सुधिर पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्यो । तत्कालिन बैंक अफ एशिया नेपालबाट बैंकिङ सेवामा प्रवेश गरेका न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुन्। करिब १० वर्षदेखि बैंकसँग आवद्ध उनी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा रहेका थिए । त्यसै गरी २०४६ सालमा नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर पाण्डेले विभिन्न बैंक तथा एनआईसी एशिया बैंकको विभिन्न विभागमा लामो समयदेखि विभागीय प्रमुखको रुपमा काम गर्दै आएका छन् । 

दुई बैंकको हकप्रद
नेपाल एसबिआई बैंक लिमिटेड र हाम्रो विकास बैंक लिमिटेडले आइतबारदेखि हकप्रद सेयर निष्काशन गरे । एसबिआईले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । असार ११ गतेसम्म निष्काशन खुला हुने हकप्रद सेयरमा वैशाख २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  हाम्रो विकास बैंकले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । असार ११ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा वैशाख १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  

ओमको निःशूल्क आस्वा
ओम डेभलपमेन्ट बैंक लिमिटेडले निःशुल्क आस्वा सेवा सुरु गर्यो । जसअनुसार, अब आस्वा प्रणालीबाट ग्राहकहरुले ओमबाट निःशुल्क सहज रुपमा बैंकमा रहेको मौज्दात रकम ब्लक गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन सक्नेछन् । ग्राहकहरुले यो सेवा काठमाडौं, पोखरा लगायत  बैंकको ३२ वटै शाखाहरुबाट प्राप्त गर्न सक्ने बताइएको छ ।

बजेटसम्बन्धी जानकारी दिने मोबाइल एप
अर्थमन्त्रालयले बजेटसम्बन्धि सबै जानकारी दिने मोवाइल एप सार्बजनिक गर्यो । सो एपमार्फत सरकारको बजेटमा के कस्ता कार्यक्रम राखिएको छ, कुन कार्यक्रमको लागि कति बजेट छ लगायतका कुराहरुको जानकारी पाउन सकिन्छ । साथमा बजेटसँग कुनै गुनासो वा सुझाव भए सो एफमार्फत सर्बसाधारणले त्यस्तो गुनासो वा सुझाव अर्थमन्त्रीसँग राख्न सक्ने ब्यवस्था मिलाइएको बताइएको छ । सो एपमा बजेट कसरी बनिरहेको छ, विगतका बजेटहरु कस्ता थिए भन्ने जस्ता सुचना र जानकारीहरु पाइचार्ट, विभिन्न शिर्षकको आयब्ययको विवरण तथा बजेट भाषणको लाइभ भिडियो हेर्न सकिने छ । 

सिभिल बैंकको खुसीका योजना
सिभिल बैंक लिमिटेडले सर्वसाधारणलाई लाभान्वित गर्न “सिभिल बैंक खुशीका योजना” ल्यायो । यस योजना अन्तर्गत नौ महिने मुद्दतीमा १२.७५५ वार्षिक ब्याजदर र ६ महिने मुद्दतीमा १२.२५५ वार्षिक ब्याजदर प्रदान  गरिने बताइएको छ । साथै वचत खातामा ८.२५५ सम्मको वार्षिक ब्याजदर र आस्वा सेवा निःशुल्क गरिने समेत बैंकले जानकारी दिएको छ ।

अन्य,

  • नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई पनि अप्रत्यक्ष सदस्यको रुपमा अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गरायो ।
  • स्थापनाको १० औं वर्षमा प्रवेश गरेको अवसरमा पूर्णिमा विकास बैंकले विभिन्न सामाजिक कार्य तथा सेवा विस्तार गर्यो । 
  • स्वावलम्बन लघुवित्त विकास बैंक लि. र बुम रेमिट्यानस प्रा.लि बीच रेमिट्यान्स सेवा संचालन सम्झौता सम्पन्न भयो । 
  • ग्लोबल आइएमई बैंकले  सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कालीकोट जिल्लामा शाखारहित बैंकिङ्ग सेवा सुरु गर्यो ।
  • नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको उपसभापतिमा बैंकर रविना देशराज श्रेष्ठ मनोनित भइन् ।
  • कृषि विकास बैंक लिमिटेडले आम नेपाली जनतालाई बैंकिङ सेवा सम्बन्धी सूचना दिने उद्देश्यले प्रभातफेरि कार्याक्रम आयोजना गर्यो । 
  • सिद्धार्थ बैंकले चितवनको टाँडीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गर्यो ।
  • सनराइज बैंक लिमिटेडले सनराइज क्यापिटल लिमिटेड सञ्चालनमा ल्यायो । 
  • महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्राध्यापक डा. रबिन्द्र घिमिरेलाई बिशेषज्ञ सञ्चालकमा र प्रकाश खनाललाई सल्लाहकारमा नियुक्त गर्यो ।
Ad