पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर खरीद आवेदन फारममा आवेदकले नामथर, आवेदन गरिएको कित्ता, डिम्याट खाता, आवेदकको दस्तखतलगायत सम्पूर्ण विवरणहरु रुजु गरेर मात्र सेयर खरीद आवेदन लिन निर्देशन दिएको छ । आस्वा प्रणालीलाई थप व्यवस्थित र सरल बनाउन नौ बुँदे निर्देशन जारी गर्दै बोर्डले आस्वा सेवा दिने बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । फाराममा संस्थाको आधिकारीक छाप र बुझिलिने कर्मचारीको दस्तखत अनिवार्य हुनुपर्ने बोर्डले बताएको छ ।
विद्युतीय प्रणालीबाट आवेदन गर्दा आवेदनकर्ताले आवेदन स्वीकृत भएको सम्बन्धमा विद्युतीय रुपमा रसिद प्राप्त गर्ने व्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको छ । साथै आवेदनकर्ताले आवेदन फारममा अंग्रेजीमा हितग्राही खाता नं. र अंग्रजी ठूलो अक्षरमा अनिवार्य रुपमा नाम थर लेख्नु पर्ने बताइएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सबै शाखाहरुबाट दैनिक रुपमा प्राप्त आवेदन र आवेदन रकम सम्बन्धी संक्षिप्त विवरण संकलन गरी अनिवार्य रुपमा त्यही दिन र विस्तृत विवरण तोकिएको समयावधि भित्र विद्युतीय माध्यमबाट निष्काशन तथा विक्री प्रबन्धक र बोर्डलाई उपलब्ध गराउनसमेत बोर्डले निर्देशन दिएको छ।
बैंक तथा वित्तीय संस्थाहरुको विभिन्न शाखाबाट धितोपत्र खरीद आवेदन प्राप्त हुने सन्दर्भमा कुन शाखावाट प्राप्त भएको हो त्यो पनि खुलाउनु पर्ने बताइएको छ । उनीहरुले बोर्डको वेवसाइटमा राख्ने प्रयोजनका लागि आफ्नो केन्द्रीय कार्यालयमा आस्वासँग सम्बन्धित विषयवस्तुमा सम्पर्क गर्ने एक जना सम्पर्क अधिकारी र एकजना बैकल्पिक सम्वन्धित अधिकारीको नामथर, सम्पर्क फोन, मोवाइल नम्बर र पत्राचार गर्ने आधिकारीक इमेल सात दिनभित्र बोर्ड तथा सम्पूर्ण निष्काशन तथा विक्री प्रवन्धकलाई अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने निर्देशन बोर्डले दिएको छ ।
त्यस्तै, निष्काशन तथा बिक्री प्रवन्धक र बोर्डलाई धितोपत्र खरीद आवेदन फारम सम्बन्धी विवरण पठाउँदा पत्राचारको लागि आधिकारीक इमेल मात्र प्रयोग गर्न निर्देशन दिइएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रदान गर्ने भनी बोर्डलाई जानकारी गराएका सबै शाखा कार्यालयहरुबाट यो सेवा उपलब्ध गराउनुपर्ने र त्यसका लागि सवै शाखाहरुमा दक्ष जनशक्ति र पूर्वाधारको व्यवस्था गर्नुपर्ने बोर्डद्धारा जारी निर्देशनका उल्लेख छ ।
आस्वा प्रणाली सम्वन्धमा २०७४ श्रावण अगाडि कम्तीमा एक पटक र त्यसपछि समय समयमा आफ्ना शाखा कार्यालयका सम्वन्धित कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्न समेत बोर्डले निर्देशन दिएको छ ।