Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ब्रोकरहरु सक्षम छन्, चुक्तापुँजी बढाउँछन्

२०७४ जेष्ठ ११ गते

रोयल आचार्य । २० लाखबाट एक्कासी दुई करोड चुक्तापुँजी पुर्याउने प्रावधान आएपछि केहि ब्रोकरहरु समस्यामा परेका छन् । ब्रोकरहरुको नियामक निकाय धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली), २०६४ संशोधन गरेर यस्तो व्यवस्था गरेको थियो । चुक्तापुँजी एकै चोटी १० गुणा बढाईपछि ब्रोकरहरु समस्यामा परेका छन् । यद्यपि केहि ब्रोकरहरुको चुक्तापुँजी धितोपत्र बोर्डले तोकेको भन्दा पनि बढी छ । केहि ब्रोकरहरुको चुक्तापुँजी अहिले नै पाँच करोड रुपैयाँभन्दा माथि भएको स्टक ब्रोकर्स एशोसियसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले बताए । धितोपत्र बोर्डले तोकेको चुक्तापुँजी पुर्याउन ब्रोकरहरु सक्षम रहेको अध्यक्ष रेग्मीको भनाई छ । तत्कालै दुई करोड पुर्याउन नसक्ने ब्रोकरहरुलाई धितोपत्र बोर्डले थप समय दिन सक्ने समेत अध्यक्ष रेग्मीले बताए ।

चुक्तापुँजी पुर्याउन नसक्ने ब्रोकरको के हुन्छ ?
ब्रोकरहरुको चुक्ता पूँजी २० लाखबाट दुई करोड हुने पर्ने नियम बनाएको धितोपत्र बोर्डले पुँजी पुर्याउन नसक्ने ब्रोकरलाई के गर्ने भन्ने स्पष्ट उल्लेख गरेको छैन । देशभरका ९२ वटा ब्रोकर कम्पनीमध्ये केहिले दुई करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन नसक्ने अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरुका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर नीति जस्तै ब्रोकरहरुमा पनि मर्जर नीति लागु हुने हो कि भन्ने आशंका समेत पैदा हुन थालेको छ । तर, यस बिषयमा बोर्डले कुनै निर्णय गरेको छैन । यसरी हेर्दा, अब ब्रोकरहरुमा ‘गर कि, मर’ उखान चरितार्थ हुने देखिन्छ । अर्थात चुक्तापुँजी पुर्याएर काम गर्ने कि बन्द गर्ने भन्ने कुरा यसमा लागु हुनेछ ।  

कार्यक्षेत्र बिनै चुक्ता पुँजी बढाईयो
धितोपत्र बोर्डले २० लाखबाट दश गुणा बढाएर ब्रोकरहरुको चुक्तापुँजी दुई करोड रुपैयाँ बनाएको छ । तर, ब्रोकरहरुलाई आवश्यक पर्ने कार्यक्षेत्र भने विस्तार गरिएको छैन । चुक्तापुँजी दुई करोड बनाएपछि त्यहि अनुसारको कार्यक्षेत्र पनि बढाइनुपर्ने अध्यक्ष रेग्मीले बताए । बैंकिङ खबरसँग कुरा गर्दै अध्यक्ष रेग्मीले भने, ‘चुक्तापुँजी २० लाख बाट १० गुणा बढाएर दुई करोड बनाइएको छ, त्यसकारण पुँजी बढाएपछि कार्यक्षेत्र पनि बढाइनुपर्छ ।’ चुक्तापुँजी बढा पछि कार्यक्षेत्रको विस्तार पनि गर्नुपर्ने माग ब्रोकरहरुले राख्दै आएका छन् । तर , त्यसप्रति धितोपत्र बोर्ड गम्भिर भएको छैन ।

ब्रोकरहरुले माग गरेको  कार्य क्षेत्रमा के–के पर्छन् ?
विगत लामो समयदेखि एउटै मात्र काम गर्दै आएकाले कार्यक्षेत्र विस्तार हुनुपर्ने ब्रोकरहरुको माग छ । कार्यक्षेत्र विस्तार गरी मार्जिन लेन्डिङ, लगानीकर्ता प्रशिक्षण तथा परामर्श सेवा, लगानी व्यवस्थापन सेवा र ब्रोकर डिलरसिपको काम गर्न दिनुपर्ने ब्रोकहरुले माग राख्दै आएका छन् ।

ब्रोकरहरुको संख्या
हाल ५० वटा धितोपत्र ब्रोकर कम्पनी सञ्चालनमा छन् । उपत्यकाबाहिर पोखरा, धरान, नारायणगढ, विराटनगर र धनगढीमा ब्रोकर कम्पनीका शाखा सञ्चालनमा छन् । उपत्यका भित्र ५० वटा र उपत्यका बाहिर भएका ४२ गरी ९२ वटै ब्रोकर कम्पनीहरुले चुक्ता पुँजी अब दुई करोड रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

यस अघि संस्थाको चुक्ता पुँजी २० लाख भएपुग्ने थियो । हाल भइरहेको ब्रोकर कम्पनीको शाखा विस्तार कार्यलाई अझ सहज बनाउन तथा यसमा हुनसक्ने जोखिमको व्यवस्थापनको लागि धितोपत्र दलाल व्यवसायीको पुँजी, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन लगायतका विषयहरुमा नयाँ व्यवस्था गरी नियमावलीमा संशोधन गरिएको हो ।

Ad