Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकर अनिल शाह ‘एभरेष्ट’ बैंकमा जाने चर्चा

२०७४ जेष्ठ १० गते

बैंकर्स संघका अध्यक्ष समेत रहेका मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह एभरेष्ट बैंक लिमिटेडमा जाने चर्चा चलेको छ । त्यसका लागि दुइचरणको बार्ता भइसकेको बताइएको छ । स्रोतका अनुसार, मेगा बैंकमा दोस्रो कार्यकाल सकिएपछि शाहलाई  एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्नेगरी कुरा अघि बढाएको छ । एउटै वित्तीय संस्थामा दुई कार्यकालभन्दा बढी रहन नपाइने नीतिअनुरुप शाहले मेगा बैंक छोड्नु पर्ने अबस्था छ ।  हालै काठमाडौंमा आयोजित बैंकिङ एक्स्पोमा पनि उनलाई देख्ने वित्तिकै एभरेष्ट बैंकका कर्मचारिले स्टल अबलोकनका क्रममा फोटो खिच्न तानेर लगेका थिए । मेगा बैंकमा उनको कार्यकाल अब केही समय मात्रै बाँकी छ ।

को हुन्, अनिल केशरी शाह ?
भीरकोटे राजा तारकबहादुर शाहका नाती हुन् अनिल केशरी शाह । उनकी आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदुत हुन् । उनका पिताको नाम डा. नारायण केशरी शाह हो । हार्वर्ड विश्व विद्यालय अन्तर्गतको जोन एफ केनेडि स्कुल अफ गभर्मेन्टमा समेत अध्ययन गरेका शाहले दिल्ली युनिभर्सिटीबाट एमबिए गरेका छन् । उनले मार्केटीङ विषयमा पनि स्नातकोत्तर गरेका छन् ।

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबिए)का अध्यक्ष अनिल केशरी शाह मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । काठमाडौँस्थित कान्तिपथमा रहेको इन्टरनेशनल सेन्टर फर  इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बाट शाहको बैंकिङ करिअर सुरु भएको थियो । त्यहाँ उनले वित्तीय विश्लेषक भएर काम गरे । व्यवसायिक रुपमा बैंकिङ भने तत्कालिन नेपाल ग्रिण्लेज अर्थात अहिलेको नेपाल स्टान्डर्ड चार्टर्ड बैंकबाट सुरु गरेका हुन् । त्यहाँ १३ वर्ष काम गरेका उनी नबिल बैंकमा महाप्रवन्धकका रुपमा छिरे । पछि प्रमुख कार्यकारी अधिकृत भएर काम गर्दै गर्दा उनले नयाँ सोँचमा बैंक स्थापना गर्न पुगे मेगा बैंक ।  मेगा बैंक उनकै सक्रियतामा खुलेको बैंक हो । जसले एउटा यस्तो नारा दिए ‘हलोदेखि हाइड्रोसम्म’ । नबिल बैंकमा उनले छ वर्ष बिताए । उनकै पहलमा खुलेको मेगा बैंक नेपालमा उनी सूरुवातीदेखि नै प्रमुख कार्यकारी अधिकृत छन् । बिचारमा प्रष्ट, नयाँ सोँच र योजना बनाउन सक्ने बैंकरका रुपमा उनि परिचित छन् ।

अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा एनबिएको वरिष्ठ उपाध्यक्ष भइसकेका थिए । नबिल छाडेपछि उनी एनबिएबाट वाहिरिएका थिए । बैंकिङ क्षेत्रमा नभएको प्रमुख कार्यकारी एनबिएको सदस्य नहुने विधानको व्यवस्था अन्तर्गत उनी वरिष्ठ उपाध्यक्ष हुँदाहुँदै त्यहाँबाट बाहिरिएका थिए । पछि मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भएपछि सदस्य हुँदै फेरि वरिष्ठ उपाध्यक्ष बनेका उनी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा चुनिएका हुन् ।

 

Ad