भूकम्प पिडितलाई घर बनाउन सामुहिक जमानीमा तीन लाख रुपैयाँसम्म ऋण दिन बाटो खुलेको छ । अर्थ मन्त्रालयले बनाएको कार्यविधि मन्त्रीपरिषद्बाट पास भएर कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंक पठाइएपछि ऋण दिन बाटो खुलेको हो ।
अहिलेसम्म केन्द्रिय बैंकको समन्वयमा दुई सय ८० जना भूकम्प पिडितले सहुलियत ब्याजको ऋण भने लगिसकेका छन् । दुई प्रतिशत ब्याजदरमा उपलब्ध यो ऋण उपत्यकामा २५ लाख र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म दिइएको हो । यसका लागि धितो अनिवार्य गरिएको छ ।