Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ बीमा कम्पनीले तीन महिनापछि व्यवसाय सुरु गर्ने

२०७४ जेष्ठ ९ गते

हालै सञ्चालनको अनुमति पाएका १० बीमा कम्पनीले तीन महिनापछि व्यवसाय सुरु गर्ने भएका छन् । जीवन बीमा सञ्चालनको अनुमति पाएका नयाँ कम्पनीहरुलाई बीमा समितिले पुँजी कायम गर्न तीन महिनाको समयावधि दिएको छ । आइएमई, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सले सञ्चालनको अनुमति पाएका छन् । 

अब ती बीमा कम्पनीहरुले कर्मचारी नियुक्ति, कार्यालयको पूर्वाधार तथा बिजिनेस प्लानसमेत बुझाई तोकिएको समयमा तोकिएको चुक्तापुँजी पुर्याएर अन्तिम स्वीकृतिका लागि आवेदन दिनेछन् । बीमा समितिले संस्थागत सुशासन विनियमावलीभित्र रहेर नयाँ कम्पनीहरुको मूल्यांकन गर्ने छ । विनियमावलीभित्र अट्ने कम्पनीहरुले अन्तिम स्वीकृति पाउने बताइएको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी एक अर्ब रुपैयाँ तोकको छ । 

नयाँ कम्पनी सञ्चालनको अनुमतिका लागि आवेदन दिएका १२  जीवन बिमा कम्पनीमध्ये १० वटाको स्वीकृतिका लागि समितिले अर्थ मन्त्रालयमा पठाएको थियो । गत बुधबार मन्त्रालयले १० वटै कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो ।

हाल नेपालमा नौ जीवन बीमा, १७ निर्जीवन र एक पुनर्बिमा कम्पनी सञ्चालनमा छन् भने १० वटा जीवन बीमा कम्पनी र चार निर्जीवन बीमा कम्पनी थपिने क्रममा छन् । जसमध्ये, जीवन बीमा कम्पनीहरु अबको केही महिनामा नै सञ्चालनमा आउने तयारीमा छन् । निर्जीवन बीमा कम्पनीहरु भने स्वीकृतिकै लागि पर्खिरहेका छन् । यी सबै बीमा कम्पनीहरु थपिएपछि नेपालमा समग्र बीमा कम्पनीहरुको संख्या ४१ पुग्नेछ । 

Ad