सुष्मा थापा । चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा वाणिज्य बैंकहरुको खुद सम्पत्ति चार खर्ब ११ अर्ब रुपैयाँले बढेको छ । बैंकहरुको सम्पत्ति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४६ प्रतिशत बढी हो । हाल नेपालमा २८ वटा वाणिज्य स्तरका बैंकहरु सञ्चालनमा छन् । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकहरुको सम्पत्ति १९ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । सो समयमा नेपालमा २९ वटा वाणिज्य स्तरका बैंकहरु सञ्चालनमा थिए ।
हाल वाणिज्य बैंकहरुको खुद सम्पत्ति २३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले राष्ट्र बैंकको निर्देशन बमोजिम चुक्तापुँजी बढाउन थालेपछि बैंकहरुले सम्पत्ति उल्लेख्य रुपमा बढेको हो । बैंकहरुको यो सम्पत्ति मुलुकको कुल गार्हस्थ्य उत्पादनभन्दा पनि बढि हो । हाल नेपालको अर्थतन्त्र २२ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको छ ।
चालू आर्थिक वर्षको चैतसम्ममा बैंकहरूको निक्षेप तीन खर्ब १८ अर्ब रुपैयाँ अर्थात १९.५३ प्रतिशतले बढेर १९ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ भने बैंकहरूको नेटवर्थ ७४ अर्ब आठ करोड रुपैयाँ अर्थात ४०.८९ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकहरुको मुनाफा गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा ३२ प्रतिशतले बढेर ३१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।