सुष्मा थापा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको चैत्र महिनामा मुद्रास्फीति बढेको तथ्यांक सार्वजनिक गरेको छ । आर्थिक वर्षको सुरुदेखि नै निरन्तर ओरालो लगिरहेको मूल्यवृद्धि दर चैत्र महिनामा भने बढेको हो । राष्ट्र बैंकका अनुसार, चैतमा उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशत छ । फागुनमा यो बृद्धिदर २.९ प्रतिशत थियो । एक महिनामा अवधिमा झन्डै एक प्रतिशत बिन्दुले मूल्य बृद्धिदर बढेको हो ।
गत आर्थिक बर्षको चैतको तुलनामा भने यो बर्षको मुद्रास्फीति झन्डै तीन गुणा कम हो । गतबर्षको चैत्रमा यस्तो मुद्रास्फीति ९.७ प्रतिशत रहेको थियो । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण गत वर्षको तुलनामा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको राष्ट्र बैंकको तर्क छ ।
यो अवधिमा खाद्य मुद्रास्फीति ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.३ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १०.० प्रतिशत, तरकारीको मूल्यमा ९.७ प्रतिशत, घ्यू तथा तेलको मूल्यमा ३.० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.३ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । चिनी तथा चिनीजन्य पदार्थ मदिराजन्य पेय पदार्थको मूल्य भने क्रमशः १३.९ प्रतिशत र १३.० प्रतिशतले वृद्धि भएको छ ।
सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ । जबकी, अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.० प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार, यातायात लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।