बाफिया कार्यान्वयन : राजिनामा र नियुक्तिले तिब्रता पायो
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया विधयेक कार्यान्वयनमा आए पछि राजिनामा र नियुक्तिले तिब्रता पाएको छ । बाफियाले कार्यान्वयनमा आए पछि धेरै बैंक तथा वित्तीय संस्थाका संचालक, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुले राजिनामा दिएका छन् । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले राजिनामा दिएका छन् । सांसदले बैंक तथा वित्तीय संस्थाको संचालक बन्न नपाउने भए पछि उनले राजिनामा दिएका हुन् । त्यसैगरी माछापुच्छ्रे बैंकका अध्यक्ष वीरेन्द्र प्रसाद महतो र एनसीसी बैंकका संचालक मोहन बहादुर बस्नेतले पनि राजिनामा दिने भएका छन् । उनीहरु दुबै सांसद हुन् । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका प्रभु इन्स्योरेन्सका अध्यक्ष देवीप्रकाश भट्टचनले इन्स्योरेन्सबाट राजिनामा दिएका छन् । नेकपा एमालेका सांसद इच्छाराज तामाङले सिभिल बैंकको अध्यक्षबाट राजिनामा दिए पछि बैंकका संचालक अम्बिर वोगटी बैंकको अध्यक्षमा नियुक्त भएका छन् । अध्यक्ष नियुक्त हुनु अघि वोगटी सिभिल ग्रुपकै संचालक थिए । सिभिल बैंकको रिक्त संचालक पदमा निवर्तमान अध्यक्ष तामाङकी श्रमती रिता श्रेष्ठलाई संचालकमा नियुक्त गरिएको छ । त्यसै गरी सासंद डा। विरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट राजिनामा दिए पछि बैंकको नयाँ अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । प्रभु इन्स्योरेन्सको अध्यक्ष पदबाट प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले राजिनामा दिए पछि इन्स्योरेन्सको अध्यक्ष पदमा कुसुम लामा नियुक्त भएकी छिन् । उनी प्रभु ग्रुपको उपाध्यक्ष समेत थिइन् ।
महालक्ष्मी र यतीबीचको मर्जर पारित
महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपेमन्ट बैंक लिमिटेड एकआपसमा गाभिने प्रस्ताव पारित भयो । महालक्ष्मीको विहीबार तथा यतीको शुक्रबार सम्पन्न साधारणसभाले गाभ्नेरगाभिने प्रस्ताव पारित गरेका हुन् । यती डेभलपमेण्ट बैंक र महालक्ष्मी विकास बैंक गाभीए पछि बन्ने बैंकको नाम महालक्ष्मी विकास बैंक लि। रहने प्रस्ताव दुबै बैंकको साधारणसभाबाट पारित भएको बताइएको छ । यतीको साधारणसभाले उपयुक्त बैंक तथा बित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने वा बिदेशी रणनैतिक साझेदार भित्राउने प्रस्ताव समेत अनुमोदन गरेको छ । त्यस्तै मर्जर , एक्यूजिसन सम्बन्धी अन्य आवश्यक प्रक्रिया पुरा गर्ने अख्तियारी संचालक समिती वा संचालक समितीले तोके बमोजिम मर्जर समितीलाई सम्पूर्ण अख्तियारी प्रदान गरेको छ । बैंकले जारी गर्ने भनेको दुई बराबर एक अर्थात पचास प्रतिशत हकप्रद सेयर जारी नगर्ने प्रस्ताव यतीको साधारणसभाले पारित गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक एनआईडीसी प्राप्ती गर्ने प्रस्ताव पारित
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एघारौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले एनआईडीसी डेभलपमेन्ट बैंक लिमिटेडलाई राष्ट्रिय वाणिज्य बैंकले प्राप्ती गर्ने विशेष प्रस्ताव र आ.व. २०७२।०७३ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
डेभलपमेन्ट बैंकर्स संघको नेतृत्व परिवर्तन
डेभलपमेन्ट बैंकर्स एशोसियसनको अध्यक्षमा भरत ढकाल निर्बाचित भए । ११ औ साधारण सभाले अध्यक्ष पदमा ढकाललाई निर्वाचित गरेको हो । उनी मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । ढकाल बैंकिङ क्षेत्रमा एक स्थापीत व्यक्तित्व हुन् । पोखराबाट सुरु भएको मुक्तिनाथ विकास बैंकलाई काठमाडौंमा मुख्य कार्यालय स्थापीत गरी राष्ट्रिय स्तरको सफल बैंक बनाएका उनलाई जागरुक यूवा बैंकर्सका रुपमा लिइन्छ । त्यसैगरी सभाले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाललाई प्रथम उपाध्यक्ष र साइनरेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई दृतिय उपाध्यक्षमा निर्बाचित गरेको छ । यसैगरी महासचिवमा भिबोरसोसाइटि डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई निर्वाचित गरेको छ भने सचिवमा फेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम थापालाई निर्वाचित गरेको छ । कोषध्यक्ष पदमा प्रदीपकुमार श्रेष्ठलाई निर्बाचित गरेको छ । उनी तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । यसअघि डेभलपमेन्ट बैंकर्स एशोसियसनको अध्यक्षमा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने रहेका थिए ।
राष्ट्रिय बीमा कम्पनीको एफपिओ
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने निर्णय गर्यो । कम्पनीले संस्थापक र साधारण सेयर अनुपात ७०ः३० कायम गर्न एफपिओ जारी गर्न लागेको जनाएको छ । हाल कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत र सर्वसाधारणसँग १९.५४ प्रतिशत सेयर रहेको छ । कम्पनीले शुक्रबार तीन आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक सम्पन्न गर्यो । ०७५ असार मसान्तसम्ममा एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन कम्पनीले एक सय १४ दशमलव २२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गर्यो । साथमा, सो साधारणसभामार्फत एफपिओ निष्काशनको बाटो समेत खुला गर्यो । कम्पनीले बोनस सेयर वितरण गरेपछि एफपिओ निष्काशन गर्न विशेष साधारणसभा डाक्ने प्रस्ताव साधारणसभाले पारित गरेको हो । हाल राष्ट्रिय बीमा कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख ३९ हजार पाँच सय रुपैंया रहेको छ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैंया पुग्नेछ । त्यसपछि कम्पनीले एफपिओ जारी गर्ने प्रक्रिया अघि बढाउनेछ ।
स्टान्डर्ड चार्टर्डको एफपिओ बाँडफाँड
स्टान्डर्ड चार्टर्ड बैंकले हालै जारी गरेको थप नयाँ सेयर (एफपिओ)को बाँडफाँड भयो । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार एक लाख ४० हजार एक सय ३२ आवेदकले स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ पाएका छन् । उक्त एफपिओमा कुल दुई लाख २३ हजार तीन सय आठ आवेदकबाट ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार पाँच सय ४० रुपैयाँको आवेदन परेकोमा दुई लाख १७ हजार तीन सय २२ वटा आवेदनलाई मात्र सेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो । बाँकी चार हजार दुई सय ९१ वटा आवेदन रद्ध भएका थिए । बैंकको सेयरमा १४० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । उनीहरुले १० कित्ता सेयर पाएका छन् । १५० भन्दा बढी कित्ताका लागि आवेदन दिनेलाई ६।३८ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको छ । सबैभन्दा बढी २५ हजार पाँच सय ८० कित्ता सेयरका लागि आवेदन दिने लगानीकर्ताले १६ सय ३० कित्ता सेयर प्राप्त गरेका छन् ।
डेढ अर्बबढीको ट्रेजरी बिल
नेपाल राष्ट्र बैंकले एक अर्ब ५४ करोड एक लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्नका लागि बोलपत्र आह्वान गर्यो । राष्ट्र बैंकले ९१ दिने अवधिको २५ करोड एक लाख रुपैयाँ र ३६४ दिने अवधिको एक अर्ब २९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको हो । ट्रेजरी बिलको बोलकबोल सोमबार दिउसो ३ बजे भयो । ट्रेजरी बिलको निष्काशन भने भोलिपल्ट अर्थात मंगलबार गरियो । जसअनुसार, ९१ दिने अवधिको ट्रेजरी बिल आगामी साउन २४ गते परिपक्व भई सावाँ र व्याज रकम फिर्ता आउनेछ । त्यस्तै, ३६४ दिने अवधिको ट्रेजरी बिल भने ०७५ वैशाख २५ गते परिपक्व हुनेछ ।
सुन तस्करीमा सरकारका उपसचिव
अवैध सुनसहित उपसचिव किशोर कुमार खत्री पक्राउ परे । उनीसहित अर्का एकजना पनि पक्राउ परेका छन् । ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरु पक्राउ परेका हुन् । कतार एयरको विमानमार्फत दोहाबाट काठमाडौं आएका मनिष रिमाल र उपसचिव किशोर कुमार खत्री पक्राउ परेका हुन् । खत्री नेपाल नागरिक उड्ययन प्राधिकरणका उपसचिव हुन् । यसअघि पनि विभिन्न समयमा विमानस्थलबाट सुन पक्राउ पर्दै आएको थियो ।
तीन कम्पनीको हकप्रद खुला
ज्योति विकास बैंक, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन विहीबारदेखि सुरु भयो । ज्योतिले शतप्रतिशत, फस्र्टले ५० प्रतिशत र सिद्धार्थले पाँच बराबर २.१ को अनुपातमा हकप्रद निष्काशन गरेका हुन् । तीनै संस्थाको हकप्रद सेयर निष्काशन जेठ ३१ गते बन्द हुनेछ ।
अन्य,
ग्लोबल आइएमई बैंकले काठमाण्डौँको नयाँ बानेश्वरमा आफ्नो नयाँ एटिएम सेवा थप गर्यो ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले आइतबार हेटौंडा उपमहानगरपालिका वडा नं. ४, कान्तीराजपथ, हेटौंडा शाखाको समुद्घाटन गर्यो ।
नेपाल एसबीआई बैंक लैनचौरका मेनेजर ३२ वर्षीय सरोज सुवेदीको हत्या भयो ।
ग्लोबल आइएमई बैंक लिमिटेडले डडेलधुरा जिल्लाको गन्यापधुरा गाउपालिका वडा नं. २ मा शाखारहित बैंकिङ्ग सेवा सुरु गर्यो ।
बुम रेमिट्यान्स प्रालि र ग्लोबल मनि एक्स्चेन्ज ओमान बिच बिप्रेषण सम्झौता भई कारोबार सुरु भयो ।
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको रुपा गाउँपालीका –६, खोलाको छेउमा आफ्नो एघारौं शाखा कार्यालय संचालनमा ल्यायो ।