साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले ८७ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेनले पहिलो चरणमा कर्मचारीका लागि सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले गत वैशाख १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
पहिलो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । तीन अर्ब ६५ करोड जारी पुँजी रहेको कम्पनीले साधारण सेयर स्वामित्व ४९ प्रतिशत हुनेगरी सेयर निष्काशन गर्न लागेको हो ।
पहिलो चरणमा समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक शेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिशत र ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिशत सेयर निष्काशन हुनेछ । उक्त आईपिओ निष्काशनको लागि कम्पनीले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
परियोजना निमार्णका लागि सञ्चय कोषले तीन अर्ब ६५ करोड रुपैयाँ ऋण दिएको छ । सञ्चय कोषलाई साढे १९ प्रतिशत सेयर दिने सम्झौता २०६७ सालमा नै भएको बताइएको छ । रसुवामा अवस्थित सान्जेन जलविद्युतले १४.८ मेघावाट माथिल्लो सान्जेन र ४२.५ मेघावाटको तल्लो सान्जेन निर्माण गर्दैछ ।


