Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विलयको संघारमा पुगेको त्यो ‘जनता बैंक’ अब आठ अर्ब पुँजी पुर्याउँदै

२०७३ चैत्र ३० गते

त्रिवेणी विकास बैंक लिमिटेडलाई गाभेर जनता बैंक लिमिटेडले हालै एकीकृत कारोबार सुरु गरेको छ । जनता र त्रिवेणी एक बराबर एकको स्वाप रेसियोमा एकआपसमा गाभिएका हुन् । मर्जरपछि बनेको बैंकको निक्षेप ३७ अर्ब र कर्जा लगानी ३३ अर्ब पुगेको छ  भने चुक्तापुँजी चार अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुगेको छ । 

मर्जरपछि बनेको जनता बैंकको केन्द्रीय कार्यालय साविकको त्रिवेणी विकास बैंकको थापाथलीस्थित सेन्ट्रल बिजिनेश पार्कमा रहेको कार्यालयमा बनाइएको छ । त्यस्तै, संचालक समितिमा त्रिबेणीका तर्फबाट सर्वसाधारण सेयरधनी सञ्चालक गौतमप्रसाद खनाल थपिएका छन् भने जनता बैंकका केही सञ्चालक बाहिरिएका छन् ।
 
आठ अर्ब चुक्तापुँजी पुर्याउन जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ । यी दुई बैंकबीच पनि एक बराबर एकको स्वाप रेसियो तय भएको छ । यसअघि जताले त्रिवेणीलाई गाभेर कायम चुक्तापुँजीको ६० प्रतिशत हकप्रद जारी गरेर पुँजी पुर्याउने निर्णय अघि सारेको थियो । तर, सिद्धार्थलाई खरिद गरेपछि आठ अर्ब चुक्तापुँजी नाघ्ने भएकाले हकप्रद निष्काशनको निर्णयमाथि पुनर्विचार गरिने भएको छ ।

दुई असफल मर्जर भोगेको जनता बैंक
वि.सं. २०६६ सालमा स्थापना भएको जनता बैंक कान्छा वाणिज्य बैंक अन्तर्गत तेस्रो स्थानमा पर्छ । स्थापनाको मात्र सातौँ वर्षको कार्यकालमा चलिरहेको यस बैंकको प्रवद्र्धन तथा ग्राहक आकर्षण क्रमिक रुपमा बढिरहेको देखिन्छ ।

राष्ट्र बैंकले वित्तीय अवस्था सुधार तथा मजबुतिका लागि भनेर सबै वाणिज्य बैंकहरुलाई आगामी आर्थिक वर्ष ०७४ सम्ममा आ–आफ्नो बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउनै पर्ने व्यवस्था लागु गरेको थियो । राष्ट्र बैंकले तोकेको मितिसम्म चुक्ता पुँजी आठ अर्ब पुर्याउनका लागि मर्जरलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो बैंकको पुँजी वृद्धि योजना तयार गरेको जनता बैंकले सर्वप्रथम मेगा बैंकसँग मर्जरमा जाने सहमति गरेको थियो । तर मेगासँग मर्जरमा गएर एकिकृत कारोबार गर्ने मौखिक सहमति लिखित सम्झौतामा कार्यान्वयन हुन नपाउँदै यी दुइ बैंकबीचको मर्जर प्रक्रिया यतिकैमा थन्किन पुग्यो । यसलगत्तै ०७२ असौज ३ गते माछापुच्छ्रे बैंकसँग मर्जरमा जाने र एकिकृत कारोबार संचालन गर्ने निर्णयका साथ यी दुई वाणिज्य बैंकका अध्यक्षहरुले सम्झौता पत्रमा हस्ताक्षर गरे । त्यहाँ पनि सम्झौता पछिको सात महिनाको अथक प्रयासपछि अन्ततः यी दुई बैंक बीचको मर्जर प्रक्रिया टुट्न पुग्यो । 

दुईवटा मर्जर असफल भएपछि जनता बैंकले आफैँ आठ अर्ब चुक्तापुँजी पुर्याउने कम्मर कस्यो । जसअनुसार ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर तीन अर्ब नौ करोड रुपैयाँ चुक्तापुँजी पुर्यायो । त्यसपछि त्रिवेणीलाई गर्यो । अब सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडलाई खरिद गरेर जनताले सजिलै आठ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउने छ ।