Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

उद्योगीलाई दोहोरो कर लाग्दैन : प्रधानमन्त्री दाहाल

२०७३ चैत्र २८ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा मुलुकभित्र वस्तु, सेवा र पूँजीको आवतजावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ साधारणसभालाई सम्बोधन गर्दै उनले भने ‘मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउन सङ्घीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पूँजीको आवतजावतमा कुनै पनि प्रकारका दोहोरो कर नलाग्ने गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्छ ।’

सङ्घीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रक्रियागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने प्रधानमन्त्री दाहालले बताए ।

उनले देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्रसम्बन्धी कानुन तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनालाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनःस्थापना र लगानीका लागि अवरोधका रुपमा रहेका प्रशासनिक अवरोध हटाउने लगायतका थुप्रै कार्य आफ्नो नेतृत्वको सरकारले अगाडि बढाइएको दाबी गरे ।

उत्पादन क्षेत्रले वस्तुको निर्यात विस्तारमा अपेक्षाकृत प्रभाव राख्न नसकेको र सेवा क्षेत्र सहरी क्षेत्रमा विकास र विस्तार भइरहेको सङ्केत देखिरहेको उल्लेख गर्दै उनले सेवा क्षेत्र नै आर्थिक विकासका क्रियाकलापको सन्तुलन बनाउन सफल रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले प्रविधिको उच्चतम प्रयोग, कृषि, वन र ऊर्जामा लगानी वृद्धि गरी आर्थिक क्रियाकलापमा मानवीय संशाधनको अधिकतम परिचालन गर्न सकेको खण्डमा आर्थिक समृद्धि प्राप्त हुने स्पष्ट पारे । उनले २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा सहयोग गर्न सबै क्षेत्रलाई आह्वान समेत गरे । रासस