नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले आगामी बजेट, आर्थिक नीति र मौद्रिक नीति कृषि, पर्यटन र उर्जाको विकासमा लगानीमैत्री हुने गरी आउने बताएका छन् । बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको अबको बजेट, आर्थिक र वित्तीय नीति बिषयक छलफलमा उनले राज्यको संघीय संरचनाको विकासकै लागि आगामी वित्तीय नीति तथा कार्यक्रमहरु निर्देशित हुने बताए । कार्यक्रममा बोल्दै डेपुटी गर्भनर श्रेष्ठले अब देखि नेपालको बैंकिङ्ग क्षेत्रले जनतालाई केन्द्र मानेर आप्mनो नीति बनाउनुपर्ने समय आईसकेको बताए । नेपालेको बैंकिङ्ग क्षेत्रले जनताको चाहना अनुसारका नीति तथा कार्यक्रमहरु बनाई कार्यान्वयनमा ल्याउनु जरुरी रहेको बताए । देशको अर्थतन्त्र सुधार गर्न, दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न नेपालको बैंकिङ्ग क्षेत्रले पनि समयानुकुल ब्याजदर निर्धारण गरी बैंकको निक्षेपकर्ता तथा कर्जा ग्राहक लाभान्वित हुने गरी बैंकिङ्ग योजना ल्याउनु पर्नेमा जोड दिएका थिए ।
जिल्लास्थित सरकारी तथा निजी क्षेत्रका सबै बाणिज्य बैंकहरुका शाखा प्रवन्धक, उद्योग बाणिज्य संघका पदाधिकारी, राजनीतिक दल, पत्रकार समेतको छलफलमा डेपुटी गर्भनर श्रेष्ठले राज्यको ढुकुटीमा अझै पनि २ सय अर्व नगद मौज्दात रहेको बताए । राज्यका संयन्त्रले खर्च गर्न नसक्दा थन्केको रकमले देशको अर्थतन्त्रमा नकरात्मक असर परेको पनि उनले टिप्पणी गरे । ठूला विकासे आयोजना बन्न नसक्दा भुक्तानी नभएपछि फ्रिज भएको रकमले देशभरी तरलता अभाव भएको उनले प्रष्ट पार्दै गाडी किन्ने, हाउजिङ लगायतको क्षेत्रमा गरिने लगानीमा कमी आएको भएतापनि बैंकले लगानी पुर्ण रुपमा बन्द गरेको अवस्था चाँही नरहेको डेपुटी गभर्नरले बताए ।
कार्यक्रममा बोल्दै प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले कुनैपनि क्षेत्रमा लगानी बन्द नगरेको बताए । ‘तरलता अभाव भएकोले केही मन्दी देखिएपनि हामीले शाखालाई लगानी रोक्न लगाएका छैनौँ’ भन्दै कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शेरचनले, ‘राष्ट्रको विकासको लागि हामीले कर्जा लगानी गरेरै योगदान गर्न चाहन्छौँ ।’ बैंकले निक्षेपकर्ताको निक्षेप सुरिक्षत तबरले लगानी गनुपर्ने भएको हुँदा अर्थव्यवस्थामा केही अप्ठ्यारो परिस्थिति आउँदा पर्ख र हेर को नीति अबलम्बन गनुपर्ने भएको समेत उनको भनाई रहेको थियो । साथै, बागलुङमा निक्षेप संकलन र कर्जा लगानीको दर अन्यत्र भन्दा राम्रो रहेको पनि उनले जानकारी गराए ।
निजी क्षेत्रका बैंकका प्रतिनिधिहरुले नोटकोषको व्यवस्था नहुँदा खुद्रा सटहीमा समस्या आएको बताएका थिए । साथै, उनीहरुले बागलुङको कोषको जिम्मा लिएको नेपाल बैंक लिमिटेडले सटहीमा अप्ठ्यारो पारेको पनि गुनासो गरेका थिए । उक्त गुनासोको जवाफमा डेपुटी गभर्नर श्रेष्ठले नीजि क्षेत्रका बैंकहरुले पनि आवश्यक पूर्वाधार तयारी गरी साना दरका नोट संकलन गर्ने कार्य गर्न आग्रह गरेका थिए । दैनिक रुपमा भन्दा साप्ताहिक रुपमा नोट सटही व्यवस्था गर्न सकेमा बैंकहरुको काममा पनि अवरोध नआउने बैंकका ग्राहकको पनि समस्या समाधान हुने उनको भनाई थियो । उक्त अवसरमा बागलुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, उपाध्यक्ष नरेश कंडेल, महासचिव दयाराम पौडेल, कोषाध्यक्ष बिदेशकुमार श्रेष्ठ र नीजि क्षेत्रका बैंकका प्रवन्धकहरुले स्थानीय समस्या र भारतीय नोट सटही बारेको जिज्ञाशा राखेका थिए ।


