देवः विकास बैंक लिमिटेडले साझा विकास बैंक लिमिटेडलाई खरिद गर्ने भएको छ । एक्विजिसनसम्बन्धी समझदारी पत्रमा देवः विकास बैकको तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्ण लाल बज्राचार्य र साझा विकास बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष फकिर सिंह कडायतले हस्ताक्षर गरेका छन् । एक्विजिशन पश्चात संस्थाको नाम देवः विकास बैक लि. नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत देवः विकास बैंककै रहने समझदारी भएको बताइएको छ ।
देवःले युनियन फाइनान्स लिमिटेडसँग पनि एक्विजिसन प्रक्रिया अघि बढाइसकेको छ । बैंकले गतबर्षको मुनाफबाट १४ प्रतिशत बोनस र ४४ करोडको हकप्रद बेचेर पूँजी एक अर्ब ४५ करोड पुर्याएको छ । दुई कम्पनी एक्वायर पश्चात कम्पनीको पूँजी एक अर्ब ७२ करोड पुग्नेछ । साझा विकास बैंकको चुक्ता पूँजी १० करोड तथा युनियन फाइनान्सको १७ करोड ६५ लाख रुपैयाँ रहेको छ । थप पुँजीका लागि बैंकले अन्य संस्थासँग मर्जर वा एक्विजिसनमा जाने योजना बनाएको छ ।
उक्त संस्था प्राप्ति पछि नेपालको सुदुर पश्चिम क्षेत्रमा बैंकका शाखा सञ्जालहरु विस्तार भई नेपालभर ४६ वटा शाखा सञ्जाल रहने छ भने कुल निक्षेप ११ अर्व र कर्जा लगानी ९ अर्ब ४५ करोड पुग्ने बैंकले जनाएको छ ।


