Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

फस्टाउँदै सहकारी, बचत बढेपछि ऋण लगानीमा पनि उल्लेख्य वृद्धि

२०७३ चैत्र २४ गते

बर्दिया जिल्लामा सहकारी संस्थाको बचत बढेसँगै ऋण लगानीमा समेत वृद्धि भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थाले चालू आवको आठ महीनामा करीब साढे दुई अर्ब बचत गरेका छन् भने करीब रू. पौने चार अर्ब ऋण परिचालन गरेका छन् । 

आव २०७३।७४ को दोस्रो चौमासिकमा सक्रिय अवस्थामा रहेका कृषि, बचत तथा ऋण, दूग्ध उत्पादक, उपभोक्ता, बहुउद्देश्यीय  र अन्य गरी कुल ४ सय ५ सहकारीले रू. दुई अर्ब ४९ करोड ६६ लाख १८ हजार बचत गरेका हुन् । सो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा रू. एक अर्ब ४८ करोड २६ लाख २४ हजार बढी भएको डिभिजन सहकारी कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद भट्टराईले जानकारी दिए । सहकारीले गत आवमा रू. एक करोड ४० लाख बचत गरेका थिए ।  गत आवको सोही अवधिमा सहकारीले रू. एक अर्ब ८२ करोड ऋण लगानी गरेका थिए ।  

सहकारीको कुल सेयर पूँजी रू.४६ करोड ४५ लाख १० हजार तथा सेयर सदस्यको सङ्ख्या एक लाख २७ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा रू.१९ करोड २३ लाख ६१ हजार शेयर पूँजी रहेको थियो । शेयर सदस्य सङ्ख्या ६४ हजार १८३ जना रहेको थियो । चालू आवको आठ महीनामा सहकारीले रू.एक अर्ब १६ करोड ८३ लाख ४९ हजार विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट बाह्य ऋण लगानी गर्नुका साथै रू.४१ करोड २४ लाख ९ हजार जगेडा कोषमा जम्मा गर्न सफल भएका छन् । जिल्लामा सबैभन्दा धेरै ११९ कृषि सहकारी, ८० बचत तथा ऋण, ७३ बहुउद्देश्यीय, १७ उपभोक्ता, १५ दूग्ध उत्पादक र २९ अन्य सहकारी सञ्चालनमा छन् । सात ओटा सहकारी एकीकरण हुने तयारीमा रहेको कार्यालयले बताएको छ । रासस