Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चुक्तापुँजी नजिक पाँच बीमा कम्पनीहरु

२०७३ चैत्र २३ गते

बीमा कम्पनीहरुको नियामक निकायले निर्जिवन बीमा कम्पनीहरुलाई चुक्तापुँजी एक अर्ब पुर्याउन निर्देशन दिएको छ । यो चुक्तापुँजी कम्पनीहरुले ०७५ असार मसान्तभित्रमा पुर्याउनुपर्नेछ । पुँजीवृद्धिको योजना पेश गर्नका लागि समितिले तीन महिना समय दिएको छ । 

चालू आर्थिक वर्ष सकिन अब एक त्रैमास बाँकी छ । हालसम्म बीमा कम्पनीहरुले हकप्रद सेयर तथा गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गरिसकेका छन् भने कतिपय कम्पनी वितरण गर्ने क्रममा छन् । यसआधारमा हेर्दा, यी पाँच कम्पनीहरुले तोकिएको चुक्तापुँजी सजिलै पुर्याउन सक्ने देखिन्छ । 

हिमालयन जेनेरल इन्स्योरेन्स
हाल हिमालयन जेनेरल इन्स्योरेन्सको चुक्तापुँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको कमाईबाट कम्पनीले २० प्रतिशत बोनस सेयर दिँदैछ । साथमा १६६.६७ प्रतिशत हकप्रद निष्काशनको प्रक्रिया समेत अघि बढाइसकेको छ । हकप्रद सेयर र बोनस सेयर दुबै जारी गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब नौ करोड रुपैयाँ पुग्नेछ, जुन तोकिएको चुक्तापुँजीभन्दा बढी हो ।

शिखर इन्स्योरेन्स
शिखर इन्स्योररेन्सको चुक्तापुँजी हाल ८१ करोड ७६ लाख ६८ हजार तीन सय रुपैयाँ छ । गत आर्थिक वर्षको कमाईबाट कम्पनीले ६० प्रतिशत बोनस सेयर वितरण गरिसकेको छ । कम्पनीले एफपीओ जारी गरेर ९५ करोड ३९ लाख ४६ हजार चार सय रुपैयाँ चुक्तापुँजी पुर्याउँदैछ । जसपश्चात्, कम्पनीले ०७५ असार मसान्तभित्रमा चार करोड ६० लाख ५३ हजार छ सय रुपैयाँ पुँजी मात्रै थप गर्नुपर्ने हुन्छ, जुन कम्पनीले चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर नै पुर्याउनेछ । 

लुम्बिनी जेनेरल इन्स्योरेन्स
हाल लुम्बिनी जेनेरल इन्स्योरेन्सको चुक्तापुँजी ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको कमाईबाट १८.१८ प्रतिशत बोनस सेयर जारी गर्दैछ । साथमा शतप्रतिशत हकप्रद सेयर निष्काशनको प्रक्रिया समेत अघि बढाइसकेको छ । हकप्रद र बोनस सेयर दुबै जारी गरिसकेपनि लुम्बिनीको चुक्तापुँजी ७८ करोड रुपैयाँ रहेको छ । बाँकी २२ करोड रुपैयाँ पुँजी कम्पनीले आगामी आर्थिक वर्षमा बोनस सेयर जारी गरेर पुर्याउन सक्ने देखिन्छ । 

नेको इन्स्योरेन्स
हाल ३२ करोड ४० लाख ४३ हजार रुपैयाँ चुक्तापुँजी भएको नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेको छ । साथमा गत चैत्र ७ गतेसम्म शतप्रतिशत हकप्रद सेयर समेत निष्काशन गरेको थियो । उक्त हकप्रद सेयर बोनस सेयर जारी भइसकेपछि नेको इन्स्योरेन्सको चुक्तापुँजी चालू आर्थिक वर्षमा नै ७१ करोड २८ लाख ९४ हजार छ सय रुपैयाँ पुग्नेछ । बाँकी २८ करोड ७१ लाख पाँच हजार चार सय रुपैयाँ पुँजी कम्पनीले आगामी आर्थिक वर्षमा सजिलै पुर्याउन सक्नेछ । 

प्रभु इन्स्योरेन्स
हाल ३८ करोड ५० लाख १६ हजार रुपैयाँ चुक्तापुँजी भएको प्रभु इन्स्योरेन्सले यही चैत्र ३० गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । त्यस्तै कम्पनीले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर वितरण गरेको छ । बोनस र हकप्रद दुवै जारी भइसकेपछि चालू आर्थिक वर्षमा नै प्रभुको चुक्तापुँजी ५७ करोड ७५ लाख २४ हजार रुपैयाँ पुग्नेछ । आगामी आर्थिक वर्षमा कम्पनीले ४२ करोड २४ लाख ७६ हजार रुपैयाँ पुँजी सजिलै जुटाउन सक्ने देखिन्छ ।