नवराज कुँवर । निक्षेप संकलनको तुलनामा कर्जा लगानी तीव्र विस्तार हुँदा तरलता अभावले ग्रस्त भएका बैंकहरु दोश्रो त्रैमासिकपछि पनि चित्तबुझ्दो गरी निक्षेप संकलन गर्न सफल हुन सकेका छैनन् । दोश्रो त्रैमासयता निक्षेप र कर्जा लगानी सामान्य रुपले बढेको वाणिज्य बैंकहरुको छाता संगठन नोपल बैंकर्स एशोसियसनले जनाएको छ । बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाका अनुसार दोश्रो त्रैमासयता निक्षेप ३९ अर्ब रुपैयाँ र कर्जा लगानी ४२ अर्ब रुपैयाँले वृद्धि भएको हो ।
बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षाका क्रममा उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कर्जाको ५० प्रतिशत कर्जा निक्षेप अनुपातमा गणना गर्नु नपर्ने व्यवस्था गरेपछि बैंकहरुलाई निक्षेप संकलनको दबाब परेको छैन । जसका कारण बैंकहरुमा निक्षेप संकलनको पाटो कमजोर देखिएको छ ।
संघका उपाध्यक्ष ढुंगानाका अनुसार, दोस्रो त्रैमास (पौष मसान्त) देखि मध्य चैतसम्म स्थानीय मुद्रामा निक्षेप संकलन १,७९७ अर्ब रुपैँयाबाट बढेर १,८३६ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी भने १,५०९ अर्ब रुपैयाँबाट १,६३२ अर्ब रुपैँया पुगेको छ ।
केही महिनाअघि बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा उच्च भएको र त्यसको तुलनामा बैंकहरुले निक्षेप उठाउन नसकेकाले वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजी (तरलता) अभावले हलचल मच्चिएको थियो । बैंकहरुले कर्जा प्रवाह नै रोकेका थिए भने निक्षेप संकलनमा आकर्षक स्कीमहरु घोषणा गरेका थिए । यद्यपी राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षाका क्रममा उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कर्जाको ५० प्रतिशत कर्जा निक्षेप अनुपातमा गणना गर्नु नपर्ने व्यवस्था गरेपछि बैंकहरुलाई निक्षेप संकलनको दबाब नपरेको हो ।


