हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
नगद कारोबारको सीमा निर्धारण
नेपाल सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी नगद कारोबारको सीमा निर्धारण गर्यो । जसअनुसार, ब्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा त्योभन्दा बढीको कुनै सेवा वा बस्तु खरीद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नु पर्ने भएको छ ।
वित्तीय संस्थमा निक्षेप, बचत वा सटही गर्न, वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको साँवा तथा ब्याजको भुक्तानी गर्न, वित्तीय संस्थाहरुबीच नगद कारोबार गर्न तथा कुनै निक्षेपकर्ताले कुनै खास कारण देखाइ नगद भुक्तानीका लागि दिएको निवेदनको ब्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्ताको खाता रहेको संस्थाबाट निक्षेपकर्ता वा बचतकर्तालाई नगद भुक्तानी दिन उक्त सीमा निर्धारण गरिएको बताइएको छ ।
उपत्यकाबाहिर सेयर कारोबार
नेपालगञ्ज, बनेपा र विर्तामोडमा आइतबारदेखि सेयर कारोबार सुरु भयो । आइतवार उपत्यका बाहिर सेवा दिने ब्रोकरमा कालिका सेक्यूरिटिज (नं ४६), क्रिष्टल कन्चनजङ्गा (नं ५०), भिजन सेक्यूरिटिज (नं ३४), आर्यतारा सेक्यूरिटिज (नं ५७), श्रीहरि सेक्यूरिटिज (नं ५६) र सानी सेक्यूरिटिज (नं ४२) रहेका छन् । यीमध्ये ब्रोकर नं ४६ ले नेपालगञ्ज, ५० ले विराटनगर,३४ ले बनेपा, ५७ ले विर्तामोड र ४२ ले नारायणगढमा ब्रोकर सेवा सुरु गरेको बताइएको छ । नारायणघाट, बुटवल र विराटनगरमा यस अघि नै केही ब्रोकरले शाखा विस्तार गरेपनि नेपालगञ्ज, बनेपा र विर्तामोडमा भने पहिलो पटक आफ्नो शाखाबाट सेयर खरीदविक्री गर्न पाएका हुन् । रिमोट वर्क स्टेशन (आरडब्लुएस) विस्तारका लागि तोकिएको सबै शर्तहरु पूरा गरेपछि नेप्सेले ब्रोकर नं. ४२, ३४ र ५६ लाई चैत ९ गते अनुमति दिएको थियो ।
भारु सटहीको विषय अझै अन्यौलमा
प्रतिबन्धित भारु नोट सटहीका लागि व्यवस्था मिलाउन नेपाल आएको भारतीय प्रतिनिधि मण्डल विनानिष्कर्ष भारत फर्कियो । सटही व्यवस्था मिलाउन भन्दै शनिबार रिजर्भ बैङ्क अफ इण्डिया(आरबिआई)का कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वमा नेपाल आएको तीन सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल सोमबार फर्किएको हो । नेपालमा रहँदा टोलीले नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल गर्दै तत्काल एक हप्ताभित्रमा प्रतिव्यक्ति साढे चार हजार रुपैयाँ साटिदिने बताएको थियो । त्यसबाहेक पनि नेपालमा नागरीकहरुसँग रहेको भारु पनि बैङ्कमार्फत नै साटिने बताएको थियो । यता, नेपाली प्रतिनिधि मण्डलले भारतले नेपाललाई सन् २०१५मा पठाएको पत्रमा उल्लेख गरिएको प्रतिव्यक्ति २५ हजार भारु राख्न पाउने सुविधा दिएको भन्दै सोही दरको रकम साटिदिनुपर्ने माग गरेको थियो । भारतले प्रतिव्यक्ति साढे चार हजार रुपैयाँमात्रै साट्ने अडान लिएपछि नेपाली पक्षले छलफललाई नै निरन्तरता दिने भन्दै भारतीय पक्षको प्रस्ताव अस्वीकार गरेको जनाएको छ । यो विषयलाई कुनै निष्कर्षमा नपुर्याई भारतीय टोली फर्किएको छ ।
ज्योति र राप्तीभेरीबीच एक्विजिसन सम्झौता
राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको ज्योति विकास बैंक र दाङ, बांके र बर्दिया जिल्लामा कायक्षेत्र रहेको राप्तीभेरी विकास बैंकबीच एक्विजिसन सम्झौता भयो । ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलादीमा मंगलबार (चैत्र १५ गते) ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरी चन्द्र खड्का तथा राप्तीभेरी विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष प्रेम बहादुर भण्डारीले सम्झौतामा हस्ताक्षर गरे । यी दुईबीचको एक्विजिसनपछि ज्योति विकास बैंकको कुल चुक्ता पुंजी दुई अर्ब ३५ करोड रुपैयाँ, कुल निक्षेप रकम रु १० अर्ब, कर्जा रकम रु ९ अर्ब नाघ्ने छ भने शाखा संजाल ३४ पुग्नेछ ।
टुरिजम डेभलपमेन्ट बैंकको हकप्रद खुला
टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन आइतबार (चैत्र १३ गते)देखि खुला भयो । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी वैशाख १७ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा माघ ५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । टुरिजमले एक सय रुपैयाँ अंकित मूल्यमा ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ बराबरको ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयर निष्काशनका लागि बैंकले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रद खरिद गर्नका लागि नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड, कुमारी बैङ्क लिमिटेड, सानिमा बैङ्क लिमिटेडबाट आवेदन बुझाउन सकिन्छ ।
एनआईसी एसिया बैंकको हकप्रद खुला
एनआइसी एसिया बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन मंगलबार (चैत्र १५ गते) देखि सुरु भयो । बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी बैशाख १९ गतेसम्म विक्री खुला रहने हकप्रद निष्काशन तथा विक्रीको प्रबन्ध गर्ने जिम्मा सिभिल क्यापिटल लिमिटेडले पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । चैत्र ६ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । एनआइसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा विक्री प्रबन्धकको कार्यालयबाट हकप्रद खरिदका लागि आवेदन बुझाउन सकिनेछ ।
मेगा बैंकको सेयर लिलामी
मेगा बैंक नेपाल लिमिटेडले तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर लिलामीमा निकाल्यो । बैंकले २५ प्रतिशत हकप्रद निष्काशनको क्रममा नबिकेको सेयर आज (चैत १३ गते)देखि लिलामीमा निकालेको हो । बैंकले एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर र दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर चैत्र २० गतेसम्मका लागि लिलामीमा राखेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंग लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन गर्न सक्नेछन् । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ ।
नेरुडे लघुवित्तको हकप्रद खुला
नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गर्यो । बैंकले एक सय रुपैयाँ अंकित दरमा नौ करोड रुपैयाँ बराबरको नौ लाख कित्ता हकप्रद सेयर सोमबार (चैत्र १४ गते) देखि निष्काशन गरेको हो । वैशाख १७ गतेसम्म निष्काशन खुला रहने कम्पनीको हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेडले पाएको छ । नेरुडे लघुवित्तको केन्द्रीय कार्यालय विराटनगर, मोरङ र एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड कमलपोखरीबाट उक्त हकप्रद सेयरका लागि आवेदन दिन पाइनेछ ।
मञ्जुश्री फाइनान्सको सेयर लिलामीमा
मञ्जुश्री फाइनान्सियल इन्टिच्युसन लिमिटेडले १० लाख चार हजार ९० कित्ता सेयर लिलाममा बिक्री खुल्ला गर्यो । कम्पनीले नौ लाख ३५ हजार ७४ कित्ता संस्थापक र ६९ हजार १६ कित्ता साधारण सेयर लिलाममा बेच्न लागेको हो । कम्पनीले १ बराबर १.७५ अर्थात १७५ प्रतिशत अनपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । सो क्रममा नबिकेको सेयर लिलाम मार्फत बिक्री गर्न लागेका कम्पनीले जनाएको छ । लिलाममा कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले वैशाख ५ गतेसम्म बोलकबोलबाट सेयर खरिद गर्न सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ प्रतिकित्ता वा सो भन्दा बढी मूल्यमा न्यूनतम १०० कित्ता सेयरमा आवेदन दिन सक्नेछन् ।
वेष्टर्न डेभलपमेन्ट बैंकको सेयर लिलामीमा
वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर लिलामीमा निकाल्यो । बैंकले चैत्र १३ गतेदेखि २१ गतेसम्मका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । वेष्टर्नले गत मङ्सिर २२ गतेदेखि माघ १० गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो । सो क्रममा नबिकेको संस्थापक समूहतर्फ एक लाख ६३ हजार पाँच सय एक कित्ता र सर्वसाधारण समूहतर्फ ६२ हजार एक सय ३४ कित्ता सेयरको लागि बैंकले बोलपत्र आह्पान गरेको हो ।
हकप्रद निष्काशनको अनुमति
यो साता नेपाल धितोपत्र बोर्डले तीन वटा बैंक तथा वित्तीय संस्थालाई हकप्रद सेयर निष्काशन गर्ने अनुमति दियो । बोर्डले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई ६० प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सलाई ५० प्रतिशत र हाम्रो विकास बैंकलाई दुई सय प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो । त्यस्तै, यो साता ज्योति विकास बैंकले शतप्रतिशत र पूर्णिमा विकास बैंकले २५ प्रतिशत हकप्रद जारी गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
अन्य
- मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाडौँको सितापाइलामा नयाँ शाखा विस्तार गर्यो ।
- बुम रेमिट्यान्स प्रा लिले फेवा विकास बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियूक्त गर्यो ।
- एनआईसी एसिया बैंक लिमिटेडले नेपाल बाल संगठनमा आश्रित बालबालिकाहरुका लागि आगामी वर्ष पनि पोषिलो खाद्य पदार्थ उपलब्ध गराउने सम्झौता गर्यो ।
- कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड र यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच बीउ उत्पादक कृषकहरूलाई मूल्य श्रृंखलाको वित्तीयकरणमार्फत उनीहरूको आयस्तर वृद्धि गर्ने कार्यका लागि सम्झौता भयो ।
- ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौँको बौद्धमा नयाँ शाखा विस्तार गर्यो ।
- सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३७औं शाखा कास्कीको भण्डारढीक, लेखनाथमा स्थापित गर्यो । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लघुवित्त अभिमुखीकरण तालिम सुरु गर्यो ।
- सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले धनुषाको भानुचोक, जनकपुरमा आफ्नो ३६औँ शाखा स्थापना गरी सञ्चालनमा ल्यायो ।




