गत सातादेखि निरन्तर बढिरहेको सेयर बजार मंगलबार ५ प्रतिशतले बढेर बन्द भएको छ । गत साता १३ सयको रेञ्जमा बन्द भएको सेयर बजारले यो साताको कारोबारको दोस्रो दिनमा नै १६ सयको रेञ्ज पार गरेको छ । गत साताको पहिलो दिनदेखि आजसम्म सात दिनमा नेप्से परिसूचक २५३.२८ अंकले बढिसकेको छ । गत साता १२८.७ अंकले बढेको बजार यो साताको तीन दिनमा मात्रै १२४.५८ अंकले बढेको छ । गत साताभरमा भएको जति वृद्धि सेयर बजारको यो साताको आइतबार र मंगलबार दुई दिनमा नै हासिल गरेको हो । चुनावी माहोल र ठूला लगानीकर्ताको पुनः बजार प्रवेशले सेयर बजारलाई उच्च अंकमा पुर्याएको हो ।
एक वर्ष अघि यही समयमा नेप्से सूचक १३५० अंकको हाराहारीमा थियो । त्यसपछि लगातार बढेको बजार साउनमा हालसम्मकै उच्च विन्दु १८८१ अंकमा पुग्यो । अहिलेसम्मकै उच्चतम विन्दुमा पुगेर नेपाली पुँजी बजार लगातार ओरालो लाग्दै आएको थियो । नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा पुग्दा कम्पनीहरुको सेयर भाउ पनि निकै माथि पुगेको थियो । तर त्यसपछि लगातार बजारमा मन्दी छाउँदै गयो र सेयर भाउमा पनि गिरावट हुँदै गयो । पछिल्लो केही सातामा भने सेयर बजारमा पुनः रौनक फर्किएको छ । सेयर लगानीकर्ताहरुमा उत्साह बढिरहेको पाइएको छ ।
नेप्से परिसूचक तीव्र गति बढिरहँदा कारोबार रकममा समेत उल्लेख्य वृद्धि देखिन थालेको छ । केही साताअघि सम्म ५० करोडको कारोबार हुन हम्मेहम्मे परिरहेको बजारमा गत सातादेखि दैनिक रुपमा अर्बमाथिको कारोबार हुन थालेको छ । गत साता मात्रै पाँच अर्ब ६९ करोड ५४ लाख ४० हजार एक सय ४८ रुपैयाँको कारोबार भएको सेयर बजारमा यो साताको दुई दिनमा तीन अर्ब १४ करोड नौ लाख ४८ हजार एक सय १३ रुपैयाँको कारोबार भएको छ ।


