हकप्रद सेयर नबिकेर हैरान भएका बैंकहरुमा अहिले लिलामीमा सेयर निकाल्ने लहर चलेको छ । जनता बैंक नेपाल लिमिटेडले गत चैत्र १ गतेदेखि सात लाख ६७ हजार पाँच सय ५२ कित्ता हकप्रद सेयर लिलामीमा निकालेको छ । उक्त सेयरमा चैत १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
त्यस्तै, सगरमाथा फाइनान्स लिमिटेडले पाँच लाख ६६ हजार दुई सय ७८ दशमलव ८३ कित्ता हकप्रद सेयर चैत्र ७ गतेदेखि लिलामीमा निकालेको छ । सेयरको न्यूनतम मूल्य प्रति सेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १५ गते रहेको छ ।
हिमालयन बैंक लिमिटेडले पनि एक लाख ४५ हजार पाँच सय ६० कित्ता सेयर लिलामीमा विक्री गरिरहेको छ । चैत्र १० गतेदेखि विक्री सुरु भएको सेयर लिलामी १६ गते बन्द हुनेछ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउमा बोलपत्र फारम भर्नुपर्नेछ । हिमालयनको लिलामी सेयरको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँबानेश्वर, काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ ।
यीबाहेक, हालसम्म पाँच बैंकहरुले लिलामीमा सेयर निकाल्ने निर्णय गरेका छन् । चैत्र महिनाभित्र नै यी बैंकको सेयर लिलामीमा आउँदैछ ।
वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेड
वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले चैत्र १३ गतेदेखि २१ गतेसम्मका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । वेष्टर्नले गत मङ्सिर २२ गतेदेखि माघ १० गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो । सो क्रममा नबिकेको संस्थापक समूहतर्फ एक लाख ६३ हजार पाँच सय एक कित्ता र सर्वसाधारण समूहतर्फ ६२ हजार एक सय ३४ कित्ता सेयरको लागि बैंकले बोलपत्र आह्वान गरेको हो ।
मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपाल लिमिटेडले २५ प्रतिशत हकप्रद निष्काशनको क्रममा नबिकेको तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर चैत १३ गतेदेखि लिलामीमा निकाल्ने भएको छ । बैंकले एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर र दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर चैत्र २० गतेसम्मका लागि लिलामीमा राख्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंग लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन गर्न सक्नेछन् । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ ।
सेती फाइनान्स लिमिटेड
सेती फाइनान्स लिमिटेडले हकप्रद जारी गर्दा नबिकेको संस्थापक सेयर केही साताअघि लिलाममा निकाल्दासमेत किन्ने अति न्यून भएपछि एक लाख ८० हजार कित्ता फेरि लिलाममा निकाल्ने भएको छ । फाइनाइन्सले यसअघि फागुन ११ देखि १९ गतेसम्म एक लाख ८३ हजार दुई सय ३५ दशमलव ८६ कित्ता संस्थापक सेयरको लिलामी खुला गरेकोमा जम्मा तीन हजार दुई सय कित्ता संस्थापक सेयरमात्र बिकेको थियो । बाँकी एक लाख ८० हजार ३५ कित्ता संस्थापक सेयर बिक्री हुन सकेन । साधारण सेयर भने ६६ हजार छ सय ८२ दशमलव १४ कित्ता मध्ये सबै बिक्री भएको थियो । अहिले खुला गर्न लागेको संस्थापक सेयर लिलामीमा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल र सेती फाईनान्सको कार्यालय टिकापुर, कैलालीबाट चैत १३ देखि १७ गतेसम्म आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ । बोलपत्र चैत २० गते क्यापिटलको कार्यालय लाजिम्पाटमा ४ बजे खुला हुनेछ ।
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत पुसमा शतप्रतिशत हकप्रद सेयर निष्काशनका क्रममा नबिकेको ९७ हजार पाँच सय २६ कित्ता सेयर लिलामीमा निकाल्न लागेको हो । बैंकले ४० हजार ८ सय २६ कित्ता सर्वसाधारण समूहको सेयर र ५६ हजार ७ सय कित्ता संस्थापक सेयर लिलामी गर्न लागेको जानकारी दिएको छ । लगानीकर्ताले चैत १८ गतेदेखि चैत २५ गतेसम्म लिलामी सेयर खरिद गर्न सक्ने छन् । सो लिलामीमा घटीमा १०० कित्ता सेयर आवेदन दिन पाइने छ । मुल्य पनि कम्तीमा १०० रुपैयाँ तोक्नुपर्ने छ । बैंकको सेयर निष्काशन तथा विक्रीसम्बन्धी प्रबन्ध मिलाउने कार्य एनएमबि क्यापटलले गर्नेछ । एनएमबि क्यापिटलको केन्द्रिय कार्यालय नागपोखरी र सप्तकोशी बिकास बैंकको प्रधान कार्यालय बिराटनगरबाट सेयर खरिदका लागि आवेदन दिन पाइने छ ।
काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड
काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडले एक लाख सात हजार छ सय एक दशमलव २० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । काष्ठमण्डपले सर्वसाधारण समूहतर्फको सेयर चैत २२ गतेदेखि लिलामीमा निकाल्न लागेको हो । आवेदकले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी काठमाडौंमा पुग्ने गरी चैत्र २८ गतेसम्म आवेदन फारम बुझाउन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोेकी निवेदन दिनुपर्नेछ । बोलपत्र चैत ३० गते एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी काठमाडौंमा खोलिने बताइएको छ । यसअघि काष्ठमण्डपले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म १६ लाख ९९ हजार ७४१.७० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही क्रममा नबिकेको सर्वसाधारणतर्फको सेयर बैंकले लिलामीमा विक्री गर्न लागेको हो ।




