Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआरएनए सम्मेलनद्वारा हुण्डीबाट पैसा नपठाउन अनुरोध

२०७३ चैत्र ७ गते

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले एनआरएनलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपाल सम्भावना नै सम्भावनाले भरिपूर्ण मुलुक भएको भन्दै उनले लगानीका लागि आह्वान गरेका हुन् । मलेसियामा पाँचौँ एनआरएन एसिया प्रसान्त सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले भने, ‘हरेक हिसाबले नेपाल लगानीका लागि उपयुक्त मुलुक हो, लगानी सम्बन्धी कानूनहरु बन्ने क्रम जारी छ ।’ लगानी गर्न इच्छुकहरुलाई आवश्यक सहयोग गर्न तयार रहेको भन्दै उनले अब स्वदेश फर्केर लगानी गर्न एनआरएनलाई आग्रह गरेका हुन् । 

सम्मेलन उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले पनि गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी बढाउन आग्रह गरे । मन्त्री महतले भने ‘देशमा अहिले राजनीति स्थायित्व कायम भइसकेको छ, केहि विवादित बिषय पनि चाडै मिल्दैछन्, यसर्थ नेपालमा तपाईहरुले लगानी बढाउनु पर्छ ।’ नेपालमा लगानी गरे लगानीको सुरक्षा गर्न नेपाल सरकार तयार रहेको मन्त्री महतले बताए ।

सम्मेलनमा श्रम समस्या, रोजगारी सम्बन्धी नीतिगत समस्या, कल्याणकारी कोष, नेपालमा भूकम्प पछिको पुनर्निर्माण लयागतका बिषयमा छलफल भएको थियो । मलेसियाको क्वालालम्पुरमा दुई दिन सम्म चलेको सम्मेलन घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले बैदेशिक रोजगारीमा आएकालाई हुण्डिबाट रकम नपठाउन अपिल गर्ने निर्णय गरेको छ । हुण्डीको कारोबार बढेपछि अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने हुँदा नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन गैरआवासीय नेपालीहरुले पैसा पठाउँदा बैंकिङ च्यानलबाट मात्र पठाउन अपिल गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।