बैंक तथा वित्तीय संस्था सम्बन्धि बिधेयक (बाफिया) संसदबाट पास भएको करिब ३ महिना पुग्दा समेत प्रमाणीकरण हुन सकेको छैन । संसदबाट पारित भइसकेपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुपर्ने बाफिया हालसम्म सभामुख ओनसरी घर्तिको सचिवालयमा नै थन्किएको छ । संसद्ले पारित गरेको विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने भए पनि विधेयक साढे दुई महिनादेखि अध्ययनका क्रममा भन्दै रोकिएको छ ।
संसद्को पुस २६ गतेको बैठकले विधेयक पारित गरेको थियो । तर, पारित विधेयकका केही प्रावधानमा अर्थमन्त्री कृष्णबहादुर महरा समेतले चासो देखाएपछि विधेयक सभामुखको सचिवालयमा रोकिएको छ । विधेयक शाखाले पारित विधेयकअनुसार आनुसाङ्गिक सुधार गरी हस्ताक्षरका लागि सभामुखसमक्ष पेस गरेपछि विधेयक अध्ययनका लागि भन्दै रोकिएको हो । शाखाले ताकेता गरे पनि सभामुखको सचिवालयले विधेयक फिर्ता गरेको छैन ।
विधेयकका प्रावधानमाथि सभामुख ओनसरी घर्तीले अर्थमन्त्री महरासँग समेत परामर्श गरिुसकेकि छिन् । पारित विधेयकले तय गरेको सञ्चालकका योग्यता, सेयर संरचना र कार्यकालका केही विषयमा थप स्पष्टता आवश्यक भएको भन्दै विधेयक अध्ययनका लागि रोकिएको हो ।
सामान्यतया संसद्ले पारित गरेको विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पेस गर्नुपर्छ । विधेयक पारित भइसकेपछि परिमार्जन गर्न मिल्दैन । संविधानको प्रावधान अनुसार विवादित भए वा थप सुधार आवश्यक ठाने राष्ट्रपतिबाट पुनः विधेयक संसद्मा फिर्ता हुनसक्छ । प्रमाणीकरण भइसकेको अवस्थामा भने ऐन संशोधनमात्र विकल्प हुन सक्छ । तर, संसद्ले पारित गरेको विधेयक लामो समयसम्म अध्ययनका लागि भन्दै रोकिनुलाई भने धेरै चासोका रूपमा हेरेका छन् ।


