हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता राजधानीमा राष्ट्रिय लघुवित्त सम्मेलन भयो । राष्ट्र बैंकले चालू आर्थिक आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको आर्थिक अवस्था सुधारोन्मुख रहेको तथ्यांक सार्वजनिक गर्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
संशोधित कम्पनी ऐन पारित
उद्योग मन्त्री नविन्द्रराज जोशीले संसदमा प्रस्तुत गरेको कम्पनी ऐन (पहिलो संशोधन) २०७३ संसदको बहुमतले पारित भयो । जसअनुसार, अबदेखि बैंक तथा वित्तीय संस्थाको संचालक समितिमा महिला संचालक अनिवार्य रुपमा राख्नुपर्ने भएको छ । यसैगरी सञ्चालनमा आउन नसकेका र कारोबार गर्न नसकेका कम्पनीहरूलाई १ प्रतिशत जरिवाना तिरी खारेज गर्न सक्ने व्यवस्था पनि ऐनमा छ ।
मुलुकको अर्थतन्त्र सुधारोन्मुख
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनामा देशको आर्थिक अवस्था सुधारोन्नोमुख रहेको तथ्यांक सार्वजनिक गर्यो । केन्द्रीय बैंकले कृषि, उद्योग तथा सेवा क्षेत्रका गतिविधिमा सुधारका साथै मुद्रास्फितिमा कमी र कर्जा लगानीमा वृद्धि भएकाले आर्थिक अवस्था सकारात्मक देखिएको जनाएको छ ।
व्याजदर पुनरावलोकन
नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले बिहीबार ब्याज दर निर्धारण तथा पुनरावलोकन गर्यो । राष्ट्र बैंकका अनुसार अबदेखि ऋणीले प्रयोग गरिरहेको कर्जाको ब्याज दर कस्तो हुने, गणना विधि, ब्याज गणना गर्दाका आधारलगायतका सम्पूर्ण जानकारी पहिले नै स्पष्ट रुपमा बैंकहरुले जानकारी गराउनु पर्नेछ ।
अमेरिकामा व्याजदर वृद्धि
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ०.२५ प्रतिशतले व्याजदर बढायो । यसअघि बैंकले २०१६ को डिसेम्बर महिनामा २.२५ प्रतिशतले नै व्याजदरमा वृद्धि गरेको थियो । डिसेम्बरमा ०.५ प्रतिशतबाट बढाएर ०.७५ प्रतिशत पुर्याएको ब्याजदर अब एक प्रतिशत पुगेको छ ।
बैंक अफ काठमाण्डू लुम्बिनीको नाम परिवर्तन, एफपिओ र बोनस सेयर
बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले आफ्नो नाम परिवर्तन गर्यो । लुम्बिनी बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मिलेर बैंक अफ काठमाण्डू लुम्बिनी बनेको बैंकको नाम पुनः बैंक अफ काठमाण्डू नै राखियो । सोही साधारणसभाले संस्थापकको तर्फबाट ६२ लाख आठ हजार एक सय ३२ कित्ता थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने निर्णय गर्यो भने २३ प्रतिशत बोनस सेयर पनि पारित गर्यो ।
स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ खुला
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको २५ लाख ५८ हजार एक सय ४० कित्ता थप साधारण सेयर (एफपिओ) को निष्काशन मंगलबारदेखि सुरु भयो । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत एक हजार एक सय ९० रुपैयाँ थप गरी प्रति सेयर एक हजार दुई सय ९० रुपैयाँमा एफपीओ निष्काशन खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार पाँच सय ८० कित्ता सेयरका लागि आवेदन दिन पाउने बताइएको छ । बैंकको सेयर निष्काशन छिटोमा चैत ४ गते र ढिलोमा चैत १५ गते बन्द हुनेछ ।
मिसन डेभलपमेन्ट बैंकको हकपूद खुला
मिसन डेभलपमेन्ट बैंक लिमिटेडको शतप्रतिशत हकप्रद सेयर चैत्र ३ गतेदेखि निष्काशन भयो । हकप्रद निष्काशन बैशाख ६ गतेसम्म खुला रहनेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरका लागि भिबोर क्यापिटल र मिसन डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
राजधानीमा लघुवित्त सम्मेलन
राजधानीमा जारी तीन दिने राष्ट्रिय लघुवित्त सम्मेलनको उद्घाटन बुधबार उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले गरे । याक एण्ड यती होटलमा भइरहेको सम्मेलनमा लघुवित्तका समस्या तथा समाधानका विषयमा छलफल गरिँदैछ । सम्मेलन शुक्रबार सकिँदैछ ।
मनास्लु र ओमको मर्जर पारित
मनास्लु विकास बैंक र ओम डेभलपमेन्ट बैंकको मंगलबार सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाबाट यी दुई बैंक एकआपसमा मर्जर हुने निर्णय पारित भयो । गोरखामा केन्द्रीय कार्यालय रहेको क्षेत्रीय स्तरको मनास्लु र पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको ओम गाभिएर ओम डेभलपमेन्ट बैंकको नामबाट कारोबार थाल्ने भएका हुन् ।
यती र महालक्ष्मीबीच मर्जर सहमती
राष्ट्रिय स्तरका विकास बैंकहरु यती डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकले मर्जरमा जाने सहमति गरे । काठमाडौँको थापाथलीमा रहेको यती र दरबारमार्गमा रहेको महालक्ष्मी एकआपसमा गाभिएर दुई अर्ब ६३ करोड रुपैयाँ चुक्तापुँजीसहित मुलुककै ठूलो विकास बैंक बन्न लागेका हुन् ।
अन्य
- एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सुनिल के.सी. नियुक्त भए ।
- ३० प्रतिशत हकप्रद सेयर जारी गर्न सानिमा बैंकले धितोपत्र बोर्डको अनुमति पायो ।
- लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको स्वीकृति पायो ।
- मेगा बैंकको छैटौँ वार्षिक साधारणसभाले १४ प्रतिशत लाभांश र ६५ प्रतिशत हकप्रद पारित गर्यो ।
- विश्व बैंकका कार्यकारी निर्देशक अदीन हदियान्तोले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गरे ।
- इजी लिंक रेमिट्यान्स र मुक्तिनाथ विकास बैंकबीच रेमिट्यान्स सम्झौता भयो ।
- एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गर्यो ।
- टुरिजम् डेभलपमेन्ट बैंकले बागमती सफाइ महाअभियान २०७० लाई सहयोग गरेको छ ।





