गोरखा जिल्लामा केन्द्रीय कार्यालय रही क्षेत्रीय स्तरको विकास बैंकको रुपमा बैंकिङ सेवा प्रदान गर्दै आएको मनास्लु विकास बैंकले मंगलबार विशेष साधारणसभा सम्पन्न गरेको छ । गोरखा, तनहुँ र चितवन गरी तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने निर्णयलाई पारित गर्दै साधारणसभा सम्पन्न गरेको हो ।
बैंकको यस विशेष साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा गाभ्ने/गाभिने सम्बन्धी प्रस्तुत विशेष प्रतिवेदन, मनास्लु विकास बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने (मर्ज गर्ने) प्रयोजनका लागि डीडीए प्रतिवेदनको आधारमा निर्धारण गरिएको सेयर आदानप्रदान अनुपातलाई पारित, मर्जर सम्बन्धमा भएका सहमती पत्र, सम्झौताहरुको अनुमोदन गर्ने, मर्जर गर्ने प्रयोजनका लागि ५ वर्षको व्यावसायीक योजना तथा प्रक्षेपण पारित गर्ने, मर्जर सम्बन्धमा कुनै विशेष थप संशोधन गर्न नियमनकारी निकाय वा कार्यालयबाट कुनै निर्देशन दिएमा सो समेत मिलाई संशोधन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने अन्य सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विशेष निर्णयहरु सर्वसम्मती रुपमा पारित गरेको बताइएको छ ।
बैंकले चालु आ.व. २०७३/०७४ को पौष मसान्त सम्ममा रु २ अर्व २४ करोड ५१ लाख निक्षेप संकलन गरि रु १ अर्व ९३ करोड कर्जा लगानी गरेको छ । यो अवधिमा बैंकले रु ४ करोड ८२ लाख संचालन मुनाफा कमाउन सफल भएको छ । बैंकको हाल केन्द्रिय कार्यालय समेत १० वटा शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउन्टर संचालनमा रहेका छन् भने बैंकको खराव कर्जा शुन्य रहेको छ । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पश्चात यथा सम्भव संयुक्त कारोवार संचालन गर्ने योजनामा रहेका दुवै बैंकको चालु आ. व. को पौष मसान्त सम्मको तथ्यांकलाई आधार मान्दा मर्जर पश्चात बन्ने राष्टियस्तरको विकास बैंकको रु १५ अर्व २४ करोड निक्षेप, रु १३ अर्व २७ करोड कर्जा लगानी, रु ३४ करोड ८२ लाख संचालन मुनाफा, ४२ वटा शाखा कार्यालय, ६ वटा एटिएम सेन्टर, १ लाख ६० हजार ग्राहक संख्या तथा ३४० जना कर्मचारीहरु पुग्नेछ । यस बैंकले २०६७ साल मंसीर २७ गते देखि आफ्नो कारोबार शुभारम्भ गरेको थियो ।
साधारणसभालाई सम्वोधन तथा आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष विजय मल्लले आफ्नो मन्तव्य दिँदै मनास्लु विकास बैंक लिमिटेड र ओम डेभलपमेण्ट बैंक लिमिटेड एक आपसमा गाभिए पश्चात् बैंकको कार्यक्षेत्र बिस्तार भई बैंकद्धारा प्रदान गरिने सेवा सुविधाहरुमा अझ बिस्तार गर्न सकिने अवस्था सिर्जना हुने बताए । साथमा विकास बैंकका सेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सरोकारवालाहरुमा सन्तुष्टिको गुणात्मक अभिवृद्धि हुन गई संस्थाको व्यवसायिक आकारका अतिरिक्त संस्थाप्रतिको विश्वास र आस्थामा समेत वृद्धि हुन जाने र मर्जर पश्चात बन्ने बैंकप्रतिको जनविश्वास अझ दरिलो बन्ने विश्वास व्यक्त गरे । वित्तीय क्षेत्रमा यस बैंकको प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि भई बैंकले अवलम्बन गरेको नेपाली समाज सुहाउँदो वित्तीय सेवाहरू प्रभावकारी ढङ्गले प्रदान गर्न बैंक अझ सक्षम तथा सवल हुने कुरामा आफु लगायत संचालक समिती पुर्ण रुपमा विश्वस्त रहेको समेत उनले बताए ।
ओम डेभलपमेण्ट बैंक लि.ले पनि चैत्र १ गते नै मर्जरको स्वीकृतीका लागि विशेष साधारण सभा सम्पन्न गरेको थियो ।



