रोयल आचार्य – एमालेको मेची–महाकाली अभियानका क्रममा सप्तरीमा भएको गोली काण्डको बिरोध स्वरुप मधेसी मोर्चाले २ दिने तराई बन्द गरेको छ । २ दिने तराई बन्दले हिजो मंगलबार र आज बुधबार दिनभर तराईका बिभिन्न जिल्लाहरुमा रहेका उद्योग, कलकारखाना, बिद्यालय सहित यातायात पूर्ण रुपमा ठप्प भएका छन् । आफ्ना कार्यकर्तालाई सुनियोजित तरिकाले टाउकोमा गोली हानी हत्या गरेको भन्दै मधेसी मोर्चाले आह्वान गरेको तराई बन्दको प्रभाव बैंकिङ क्षेत्रमा प्रत्यक्ष रुपमा परेको छ । तराईका सुनसरी, सप्तरी, सिरहा, धनुषा लगायतका जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरु हिजो र आज दिनभर बन्द रहेका छन् । घटना घटेको मुख्य स्थान सप्तरी र सिरहाका जनता बिशेष गरेर बैंकिङ कारोबारबाट बञ्चित भएका छन् । सप्तरीको रुपनीमा रहेको राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक लगायतका ठूला बाणिज्य बैंकहरु तथा अन्य वित्तीय संस्थाहरु सबैका शाखाका सटरहरु बन्द गरिएका छन् । बन्द रहेका त्यस क्षेत्रमा कुनै पनि बैंकले सेवा दिन सकेका छैनन् ।
रेमिट्यान्स भुक्तानीमा पनि समस्या
तराई बन्दका कारण रेमिट्यान्स भुक्तानीमा पनि समस्या भएको छ । तराईका सिरहा, सप्तरी, सुनसरी लगायतका बन्द प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुका साथै रेमिट्यान्स कम्पनीका एजेण्हरुको कार्यालय पनि बन्द रहेका छन् । मंगलबारदेखि भएको तराई बन्दले रेमिट्यान्सको पर्याप्त र सहज भुक्तानी हुन नसक्दा उपभोक्ताले समेत हैरानी ब्यहोर्नुपरेको छ । सप्तरीको रुपनीमा रहेको प्रभु मनि ट्रान्सफर, सिटि एक्सप्रेस मनि ट्रान्सफर, हिमालयन रेमिट जस्ता थुप्रै रेमिट्यान्स कम्पनीका एजेण्ट कार्यालयहरु छन् तर, सबै बन्द छन् । बैदेशिक रोजगारीबाट आफन्तले पठाएको रकम कति बेला आइपुग्ला भनेर बाटो कुरेर बस्ने स्थानीयको आशा केवल निराशामा परिणत भएको छ । छोराले पठाएको पैसा निकालेर तत्कालै खर्च गर्छु भन्ने सोचेका आमा बुवाको पनि हालत उस्तै छ । पठाउने वित्तिकै ५ मिनेटमै भुक्तानी हुन सक्ने रकम पनि बन्द कहिले खुल्ला र रकम भुक्तानी गर्नु भनेर पर्खिनुपर्ने अवस्था रहेको छ ।
दैनिक उपभोग्य खर्चको समस्या
दुईदिने तराई बन्दका कारण बैंकिङ कारोबार गर्ने स्थानीय जनता मारमा परेका छन् । सप्तरी कंचनरुप नगरपालिकाका रामकान्त यादव बन्दका कारण खर्चको समस्या आइपरेको बताउँछन् । एक्कासी भएको बन्दले बैंक खातामा रहेको आफ्नो पैसा पनि निकाल्न नपाएर खर्च गर्न नपाएको गुनासो यादवको छ । बैंकिङ्ग खबरसँग कुरा गर्दै यादव भन्छन् ‘मेरो ग्लोबल आइएमईमा खाता छ, खातामा पैसा पनि छ । तर अहिले पैसा हुँदा हुँदै पनि अति आवश्यक खर्च समेत गर्न पाएको छैन ।’ कंचनरुप नगरपालिकामा ग्लोबल आईएमईको शाखा बन्द भएको र नजिकै रहेको २४ सै घण्टा सेवा दिने एटिएम मेसिन पनि बिग्रिएको कारण पैसा निकाल्न नपाएको गुनासो गर्दै यादवले भने –‘बैंक सबै बन्द छन्, नजिकैको एटिएमबाट पैसा निस्किँदैन । टाढा जान मोर्चाको बन्दले यातायातको साधन पाइँदैन । आज बुधबार तिर्ने कबोलमा छिमेकीबाट पाँच हजार रुपैयाँ सापटी लिएको थिएँ । बैंक खातामा पैसा जम्मा पनि भइसक्यो । तर निकाल्न सकिएको छैन ।’ बैंक बन्द भएका कारण कर्जा सापट बाहेक आधारभूत खर्च समेत गर्न नपाएको यादवको भनाई छ । यादव त केवल यस घटनाका प्रतिनिधि पात्र मात्र हुन् । तराई बन्दका कारण बैंकिङ सेवाबाट धेरै जनता बञ्चित भएका छन् । सरल, सहज र सुरक्षित रुपमा कारोबार गर्न सकिने बैंकिङ कारोबार बन्दकै कारण समस्यामा परेको छ ।
बन्द अझै लम्बिए अर्थतन्त्रमा ठूलो असर
सोमबार सप्तरीमा ३ जनाको मृत्यु हुने गरी भएको प्रहरी र मोर्चा कार्यकर्ताबीचको झडपका कारण मंगलबार र बुधबार घोषणा गरिएको बन्दले अर्थतन्त्रमा नकरात्मक असर पारेको छ । आज अर्थात बुधबार सम्मका लागि मधेसी मोर्चाले घोषणा गरेको बन्द भोलीबाट हुने छैन । तर, भोली बिभिन्न कार्यालय घेराउसहित पर्सि अर्थात शुक्रबारका लागि उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम नेपालले बन्दको आह्वान गरेको छ । एउटा बन्दको प्रभाव नसकिँदै अर्को बन्द घोषणा हुनुले अर्थतन्त्रमा अझै असर पार्ने अनुमान गरिएको छ । बन्दका कारण सिरहा, सप्तरी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, सुनसरीलगायतका जिल्लामा ठूलो आर्थिक नोक्सानी समेत भईसकेको छ । २ दिनसम्म ठप्प भएका बैंक तथा वित्तीय संस्थाहरुले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ । अहिलेसम्म त बैंक तथा वित्तीय संस्थामा त्यति ठूलो असर परिसकेको छैन । तर बन्द लम्बिरहने हो भने बैंक तथा वित्तीय संस्थालाई यसले ठूलै असर पुर्याउने त्यस क्षेत्रका सरोकारवालाले बताएका छन् ।
