नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन काठमाडौमा बिहिबारदेखि ‘नेपाल लगानी सम्मेलन’ शुरु भएको छ । राजधानीको एक होटलमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घघाटन गरे । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालसहित सरकारका बरिष्ठ मन्त्रिदेखि प्रमुख दलका शिर्ष नेताहरुले नेपालमा लगानी बढाउन विदेशी लगानीकर्तालाई आह्वान गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले लगानीको उपयुक्त वातावरण तयार भएको भन्दै नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे । उनले मुलुक अहिले आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढिरहेकाले विदेशी लगानी पर्खिरहेको बताए । विदेशी लगानी नेपालमा भित्राउँदै मुलुकलाई समृद्ध बनाउनका लागि कसैले विरोध नगर्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपालमा लगानी बढाउन विदेशीलाई लगानीकर्तालाई आग्रह गरे । संविधान जारी भएपछि नेपालको ध्यान आर्थिक विकासमा भएको भन्दै उनले बढीभन्दा बढी वैदेशिक लगानी आवश्यक भएको बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजनीतिक परिवर्तनपछि सरकारले उदार आर्थिक नीति लिएको बताए । नेपाली कांग्रेसले राजनीतिक परिवर्तनमा साथै आर्थिक रुपान्तरणमा ठूलो योगदान गरेको बताउँदै उनले सधैँ उदार आर्थिक नीतिको पक्षमा रहेकाले विदेशी लगानीप्रति सकारात्मक रहेको बताए । उनले पनि नेपालको आर्थिक विकासमा स्वदेशी तथा विदेशी सबैको लगानी आवश्यक भएकाले लगानी बढाउन विदेशीलाई आह्वान गरे ।
यसैगरी उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ संविधान जारी भएपछि नेपाल वास्तविक आर्थिक विकासको युगमा प्रवेश गरेकाले हरेक क्षेत्रमा लगानी खुला भएको बताए । पूर्वअर्थमन्त्री रामशरण महतले सन् ९० को दशकमा भएको राजनीतिक परिवर्तनपछि बनेको जननिर्वाचित सरकारले लिएको आर्थिक उदारीकरण नीतिले उद्योग, दूरसञ्चार, हवाइ, बैंक, बीमा, जलस्रोत र पर्यटनलगायत अन्य उत्पादनमूलक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आउन थालेको बताए । नेपाल लगानीका लागि खुला क्षेत्र भएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह पनि गरे ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सबैको प्रतिवद्धता आएकाले नेपालमा लगानीमैत्री वातावरण तयार भएको भन्दै लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरे ।
एशियाली पूर्वाधार बैंकका अध्यक्ष जिन लिक्वानले कुनै पनि आयोजना ढिला नगरी समयमै सक्न सरकारलाई सुझाव दिए । उनले नेपालमा लगानीका लागि पूर्वाधार बैंक सँधै तत्पर रहेको प्रतिवद्दता समेत जनाए ।
सो अवसरमा भारतीय वित्तमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेको बताए । भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको भन्दै उनले नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न सकिने बताए । जेट्लीले ऊर्जा, कृषि, पर्यटन र सिँचाइका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको समेत बताए ।
उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्ता आयोजनामा सुरु सम्मेलनमा विदेशी लगानीकर्ता, विज्ञ तथा स्वदेशी राजनीतिक दलका प्रमुख तथा नेता, मन्त्रीगण, विभिन्न अन्तर्राष्ट्रिय सघसंस्थाका वरिष्ठ अधिकारी, सरकारी उच्च अधिकारी, व्यावसायिक नेतृत्व, विज्ञ वक्ता तथा समूहको सहभागीता रहेको छ । सहभागिताका लागि भारत, चीन, बङ्गलादेशलगायत दुई दर्जन मुलुकका झन्डै २ सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् । भोलीसम्म चल्ने सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने बताईएको छ ।




