Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लगानी सम्मेलनले समृद्धिको ढोका खोल्दै

२०७३ फाल्गुन १९ गते

विहीबारदेखि राजधानीमा सुरु भएको नेपाल लगानी सम्मेलनले मुलुकको आर्थिक समृद्धिको ढोका खोल्ने भएको छ । २५ बर्षपछि काठमाडौमा आयोजना गरिएको लगानी सम्मेलनमा राजनीतिक नेताहरुले मुलुकमा ठूला खाले बिदेशी लगानी भित्र्याएर चाँडै नै मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले लगानी ल्याउने वातावरण बनाउन सहयोग गर्ने र उदार अर्थनीतिलाई अगाडि बढाउने बताएका छन् । 

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको बताए । नेपाललाई वैदेशिक लगानीको गन्तव्य बनाउनका लागि लगानी सम्मेलनको आयोजना गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नीति तथा नियम एवम् वातावरणलाई उपयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । शान्ति र समृद्धि एक अर्काका परिपूरक भएको बताउँदै उनले राजनीतिक स्थायित्व र राजनीतिक दलबीचमा सहज अवस्था भएमात्र निजी क्षेत्रका लागि उपयुक्त अवसर हुने जिकिर गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय लगानीकर्तासँग सहकार्य गरेर मुलुकका सम्भावित क्षेत्रलाई अगाडि बढाउन सकिने बताए । उनले उदार अर्थतन्त्रमा विश्वास राख्नेलाई नेपालमा लगानी गर्न आह्वान समेत गरे । नेपालका दुई ठूला छिमेकी मुलुकसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनलाई अगाडि बढाउन सरकारले पहल गर्ने बताए । उनले यस सम्मेलनले नेपालमा लगानीका लागि उभार ल्याउने विश्वास व्यक्त गरे ।

त्यस्तै, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लगानीको वातावरण बनाउनका लागि आफूहरु प्रतिबद्ध रहेको बताए । उनले प्रमुख विपक्षी दलका नेताका रुपमा आफूले मुलुकको आर्थिक समृद्धिका लागि उपयुक्त वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । मुलुकको आर्थिक विकासका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । 

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक विकासका लागि धेरै लगानीका क्षेत्र रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा लगानी गर्न आह्वान गरे । उनले सरकारले लगानीका लागि सबै वातावरण बनाउने दाबी गरे । यसका लागि निरन्तर ऊर्जाको व्यवस्था गर्ने र नीतिगत व्यवस्था गर्ने सरकारको योजना रहेको बताए । सरकारले परियोजना बैंक बनाएर लगानी छनोट गर्ने अवसर सिर्जना गरेको जानकारी दिँदै अर्थमन्त्री महराले लगानीका लागि सबै क्षेत्रमा सहजीकरण गर्न सरकार तयार रहेको बताए ।

कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्मेलनबाट नेपालले लाखौँ युवाका लागि रोजगारीका अवसर सिर्जना गर्नेमा विश्वास व्यक्त गरे । उनले नेपालमा लगानीका लागि थुप्रै सम्भावना रहेको भन्दै जलविद्युत्, कृषि, पर्यटनलगायतका क्षेत्रमा लगानी गरी तुलनात्मक लाभ लिन आह्वान गरे । लगानीका लागि आवश्यक पर्ने सबै पूर्वाधार तयार गरेको भन्दै उद्योगमन्त्री जोशीले लगानीकर्तालाई लगानी गरेकै मुद्रामा मुनाफा लैजान दिने र उद्योग स्थापना तथा खारेजीको वातावरण बनाउने बताए ।

पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपालमा प्रजातन्त्रको पुनःस्थापनासँगै अर्थतन्त्रमा उदारता अपनाइएको उल्लेख गर्दै उदार राजनीतिक व्यवस्थासँगै मुलुकका सबै क्षेत्रको रुपान्तरण भएको दाबी गरे । उनले प्रजातन्त्रको स्थापनासँगै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र तथा पूर्वाधार विकासमा लगानी वृद्धि भएको बताए । त्यस्तै, गरिबी निवारणका कार्यक्रमलाई अगाडि बढाइएको र त्यसले जनताको जीवनस्तर सुधार हुँदै गएको जानकारी गराए ।

सम्मेलनमा एसियाली पूर्वाधार लगानी बैंक (आइआइबी)का अध्यक्ष जिन लिक्विनले आफूहरु आर्थिक सामाजिक क्षेत्रमा लगानी गरेर अगाडि बढ्ने बताए । जनताको चाहनाअनुसार विकासलाई अगाडि बढाउने उनको भनाइ थियो । उनले विश्वव्यापीकरणलाई ध्यान दिँदै विकासलाई गति दिन र क्षेत्रीय संयोजन गर्नका लागि पूर्वाधार विकास कार्यक्रम आएको तथा सामाजिक एवम् वातावरणीय रुपमा अगाडि बढाउन आइआइबी स्थापना भएको जानकारी समेत दिए ।
 
त्यसैगरी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले यो सम्मेलन मुलुकमा वैदेशिक लगानी भित्र्याउने उपयुक्त अवसर भएको बताए । 

सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सहभागी छन् । नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलोपटक वैदेशिक लगानी भित्र्याउन अन्तर्रा्ष्ट्रिय सम्मेलन गरेको थियो । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा सुरु भएको सम्मेलन शुक्रबार सकिनेछ । सम्मेलनबाट १ खर्ब रुपैयाँको लगानीको प्रतिबद्धता आउने अपेक्षा गरिएको छ ।