Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साटिने भयो नेपालमा रहेका ‘प्रतिबन्धित भारु’, नेपाल आएको भारतीय टोली सकारात्मक

२०७३ फाल्गुन १८ गते

भारतले नेपालको बैंकिङ प्रणालीको सुरक्षाबारे प्रश्न उठाएको छ । नेपालमा रहेका प्रतिबन्धित पाँच सय र हजार दलका भारु नोट सटहीबारे छलफल गर्न नेपाल आएको भारतीय टोलीले नेपालमा रहेका प्रतिबन्धित भारु साट्न भारत तयार रहेको भन्दै नेपालको बैंकिङ प्रणालीको सुरक्षाबारे जिज्ञासा राखेको हो । 

भारतीय अर्थ र विदेश मन्त्रालय तथा रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)का प्रतिनिधि सम्मिलित टोलीले बुधबार राष्ट्र बैंकका अधिकारी तथा विभिन्न वाणिज्य बैंकका कम्प्लाइन्स विभाग प्रमुखहरुसँग संयुक्त छलफल गर्ने क्रममा नेपालमा भारु नोट सटहीका विषयमा छलफल गरेको हो । टोलीले नेपालको केन्द्रीय बैंकले गरेको व्यवस्था बैंकहरुले कसरी पालन गरिरहेका छन् भन्ने विषयमा चासो राखेको हो । जवाफमा वाणिज्य बैंकका प्रतिनिधिले केवाईसी र सम्पत्ति शुद्धिकरणका सम्बन्धमा बैंकहरुले गरिरहेको कामबारे अवगत गराए । 

नेपालमा बैधानिक च्यानलमा रहेका भारु साटही गरिदिन विषयमा नेपालले लामो समयदेखि भारतलाई आग्रह गर्दै आएको छ । तर भारतले नेपालको बैंकिङ प्रणालीको विश्वसनीयतामा शंका गर्दै आलटाल गरिरहेको थियो । तर यहाँ सबै पक्षसँग छलफल गरिसकेपछि बिहिबार नै भारत फर्कने टोलीले आरबीआईलाई रिपोर्ट गरेपछि भने भारु साटिने लगभग निश्चितजस्तै हुने राष्ट्र बैंकका एक अधिकारीले बताए । 

छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्म ढुंगाना, स्टान्डर्ड चार्टड, राष्ट्रिय वाणिज्य बैंक, एसबीआई बैंक, एभरेष्ट बैंक र एनआइसी एसिया बैंकका अनुपालन विभागका प्रमुख उपस्थित थिए ।

गत नोभेम्बर दोश्रो साता भारतले कालोधन र आतंकवाद नियन्त्रण गर्न भन्दै पाँच सय र हजार दरका पुराना नोटमा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धसँगै नेपालमा पनि त्यसको असर परेको हो । नेपालको बैंकिङ प्रणालीमा पाँच सय र हजार दरका झण्डै पौने ९ करोड भारु रहेको बताइएको छ भने बैंकिङ च्यानलबाहिर रहेका यस्ता नोटको भने कुनै लेखाजोखा छैन ।