Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकले विपन्न वर्ग कर्जामा गरेको पुनरावलोकनप्रति बैंकर्स संघको स्वागत

२०७३ फाल्गुन १० गते

नेपाल राष्ट्र बैंकले साना तथा लघु व्यवसायका लागि वाणिज्य बैंकले दिने कर्जालाई पनि विपन्न वर्गमा गणना गर्ने व्यवस्था ल्याएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले त्यसको स्वागत गरेको छ । बैकर्स संघका अध्यक्ष अनिल केशरी शाहले यो व्यवस्थाले वाणिज्य बैंकहरुलाई विपन्न कर्जाको निर्देशन पालना गर्न केही सहज भएको बताए । ‘६ महिनापछि राष्ट्र बैंकले पुनरावलोकन गरेका केही विषयहरु विकल्प वा समाधानसहित आएकाले बैकर्स संघका तर्फबाट यसलाई म स्वागत गर्न चाहान्छु ।’ समीक्षा कार्यक्रमलगत्तै पत्रकारहरुसँग उनले भने ।

केन्द्रीय बैंकले मंगलबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै अब साना तथा लघु व्यवसायहरुलाई चल÷अचल सम्पत्ति धितो लिई वा उद्यम तथा परियोजना धितो लिई बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने १० लाख रुपैयाँसम्मको कर्जालाई पनि विपन्न वर्गमा गणना हुने व्यवस्था गरेको हो । यसअघि केन्द्रीय बैंकले गरेको व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले विपन्न वर्गतर्फको प्रत्यक्ष लगानी अन्तर्गत दुई प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो । ६ महिनापछि सो व्यवस्थालाई पुनरावलोकन गर्दै राष्ट्र बैकले साना तथा लघु व्यवसायका लागि वाणिज्य बैंकले दिने कर्जालाई पनि विपन्न वर्गमा गणना गर्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले विपन्न वर्ग कर्जा कार्यान्वयनको समय पनि बढाइदिएको प्रति पनि शाहले खुशी व्यक्त गरे । ‘निश्चय पनि केन्द्रीय बैंकले वाणिज्य बैंकहरुको समस्या बुझेको हुनुपर्छ’, उनले भने, ‘अब हामीलाई विपन्न वर्गमा गर्नुपर्ने लगानीको सीमा पुर्याउन केही सहज हुने छ ।’

खासगरी वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनअनुसार विपन्न वर्गमा गर्नुपर्ने कर्जा प्रवाह गर्न समय कम भएको बताएपछि केन्द्रीय बैंकले विपन्न वर्ग कर्जा कार्यान्वयनको समय बढाइदिएको हो । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले आगामी असार मसान्तसम्ममा कर्जा लगानी गरेको कूल कर्जाको २ प्रतिशत अनिवार्य रुपमा आफैले विपन्न वर्गमा कर्जा दिनु पर्ने ब्यवस्था गरिएको थियो । तर वाणिज्य बैंकहरुले कार्यान्वयन गर्ने समय कम भएको गुनासो गरेपछि राष्ट्र बैंकले समय थप गरेर २०७५ को असार मसान्तसम्ममा सो सीमा कायम गर्दा हुने व्यवस्था मिलाइदिएको हो । त्यसपछि पनि विपन्न कर्जा बढाउन नसकेका बैंक तथा वित्तीय संस्थाले भने कारबाही भोग्नुपर्ने छ ।

मौदिंक नीति सार्वजनिक भएलगत्तै पत्रकार सम्मेलन गरी विपन्न वर्गमा सिधै दुई प्रतिशत लगानी गर्न ‘असम्भव’ भनेको बैंकर्स संघले व्यवस्था पुनरावलोकनपछि स्वागत गरेको हो । संघका अध्यक्ष शाहले यस विषयमा चाँडै संघको बैठक बसेर थप छलफल गर्ने बताए ।