नेपाल राष्ट्र बैंकको चेतावनीपछि वाणिज्य बैंकहरुले गाडी तथा घरजग्गामा भईरहेको लगानी तत्कालका लागि रोक्ने भएका छन् । अनुत्पादक क्षेत्रमा लगानी बढाएको भन्दै नियमक निकायले असन्तुष्टि जनाएपछि बैंकहरुले सेयर धितो कर्जा ऋण पनि रोक्ने निर्णय गरेका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसियसनको आज बसेको बैठकले तत्काललाई गाडी, घरजग्गा, सेयर धितो ऋण रोक्ने निर्णय गरेको संघका अध्यक्ष अनिल केशरी शाहले जानकारी दिए । अनुत्पादक क्षेत्रमा वाणिज्य बैंकहरुको लगानी अस्वभाविक रुपले बढेपछि केन्द्रीय बैंकका गभर्नर डाक्टर चिरञ्जिीवी नेपालले हिजो बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई बोलाएरै अनुत्पादक क्षेत्रमा कर्जा नबढाउन सचेत गराएका थिए । उनले राष्ट्र बैंकको निर्देशन पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने चेतावनी समेत दिएका थिए । त्यसको भोलिपल्टै बसेको बैंकर्स संघको बैठकले राष्ट्र बैंकको निर्देशन मान्दै तत्काललाई अनुत्पादक क्षेत्रमा जाने कर्जालाई रोक्ने निर्णय गरेको हो । छलफलमा २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


