अर्थमन्त्री कृष्णबहादुर महरा र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालबीच बैंकिङ तरलताको बिषयमा छलफल भएको छ । बिहिबार अर्थमन्त्रालयमा बैंकिङ तरलताको समस्या समाधानको बिषयमा अर्थमन्त्री महरा र गभर्नर नेपालबीच छलफल भएको हो । तरलता अभाव भएको बिषयमा अर्थमन्त्रालय गम्भिर भएको भन्दै अर्थमन्त्री महराले तरलताको वर्तमान अवस्थाबारे गभर्नर नेपालसँग जानकारी लिएका थिए । छलफलका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले तरलता अभावको समस्या हाल नरहेको अर्थमन्त्रीलाई जानकारी गराएका छन् । तरलताको समस्या केहि दिन देखा परे पनि अहिले विस्तारै घट्दै गएको र चाडैनै तरलताको समस्या हट्ने भन्दै यस बिषयमा राष्ट्र बैंक गम्भिर भएको गभर्नर नेपालले अर्थमन्त्रीलाई वताए ।
पछिल्लो समय तरलता अभाव भएको भन्दै बैंकहरुले निक्षेपमा आकर्षण गराउन ब्याजदर बढाएका छन् । नेपाल उद्योग परिसंघले तलरता अभावको कारण देखाउँदै उद्योग व्यवसाय संचालनमा समस्या उत्पन्न भएको बताएको थियो । राष्ट्र बैंकले बाहिर हल्ला भए जस्तो तरलता अभाब नरहेको र सामान्य अबस्थामा समस्या देखा परेपनि समाधान हुँर्दै गएको दावी गरेको छ । अर्थमन्त्री महराले यस बिषयमा राष्ट्र बैंकका गभर्नर सहित अर्थसचिब डा. शान्तराज सुबेदी र राजस्व सचिब राजन खनालसँग छलफल गरेका हुन् । छलफल पछि बैंकरहरुले भने जस्तो तलरता उत्पन्न नभएको निष्कर्ष निकालिएको छ ।


