द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षणसम्बन्धी सम्झौता (बिप्पा) माथि पुनरावलोकन गरिने भएको छ । लामो समयसम्म पनि कार्यान्वयनमा ल्याउन नसकिएपछि सम्झौतामाथि नै पुनरावलोकन गर्न लागिएको हो । भारतसँगको त्रिप्पा सम्झौतामा नै सिमित भएपनि नेपाल सरकारले चीन, यूएई र बंंगलादेशसँग बिप्पा सम्झौता गर्ने तयारी गरेको हो । उद्योग मन्त्रालयका अनुसार यी मुलुकसँग बिप्पाका लागि ड्राफ्ट अघि बढाइसकिएको छ ।
हालसम्म, भारतसहित आधा दर्जन मुलुकसँग नेपालले बिप्पा गरेको छ । नेपालले पहिलो बिप्पा फ्रान्ससँग गरेको थियो भने त्यसपछि जर्मनी, संयुक्त अधिराज्य, मौरिसस र फिनल्यान्डसँग यस्तो सम्झौता गरिसकेको छ । भारतसँग भने बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा ०६८ कात्तिक ४ मा बिप्पा भएको थियो । तत्कालीन प्रधानमन्त्री भट्टराईको भारत भ्रमणको बेला उद्योगमन्त्री अनीलकुमार झाले बिप्पामा हस्ताक्षर गरेका थिए । भारत सरकारका तर्फबाट भने तत्कालीन वित्तमन्त्री प्रणव मुखर्जीले सम्झौतामा हस्ताक्षर गरेका थिए । तर त्यतिबेला भारतलाई प्राथमिकतामा राखेर अन्य देशलाई चिड्याउने काम भएको भन्दै चौथर्फी विरोध भएपछि सो सम्झौता कार्यान्वयनमा आउन सकेन । उद्योग मन्त्रालयका अनुसार भारतबाहेकका देशसँग भएको सम्झौता भने कार्यान्वयन भएको छ ।


