Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चरम राजनीतिको चपेटामा, शक्तिशाली वीरगञ्ज भन्सार

२०७३ माघ २१ गते

रोयल आचार्य-

पर्साको वीरगञ्ज नेपालको सबैभन्दा महत्वपूर्ण ब्यापारिक तथा पारवहन नाका हो । त्यहाँबाट नेपालले भारत लगायत अन्य मुलुकसम्म आयात निर्यातको काम गरिरहेको छ । वीरगञ्ज देशको मुख्य औद्योगीक कोरीडोर पनि हो । प्रवेशद्वारको रुपमा औद्योगिक एवं व्यापारिक शहर वीरगञ्जको स्थापना राणा प्रधानमन्त्री वीर समशेरको पालामा भएको हो । त्यसैले उनकै नाउँमा वीरगञ्ज नाम रहेको हो । विशेषगरी भोजपुरी, नेपाली, नेवारी, मैथिली र मारवाडी बसोबास भएको वीरगञ्ज उपमहानगरपालिका ३५ वर्ग कि.मी.मा फैलिएको छ । भारत चम्पारण जिल्लाको सीमावर्ती बजार रक्सौलबाट करिब तीन किलोमिटरको दूरीमा र नेपालको तराई क्षेत्रमा रहेको वीरगन्ज समुद्री सतहदेखि सरदर ९१ मीटर उचाइमा रहेको छ । वीरगञ्ज भन्सार लामो समयदेखि अर्थतन्त्रको मेरुदण्डको रुपमा परिचित छ । वीरगञ्ज भन्सार नाका राजश्व संकलनका हिसाबले सबैभन्दा अगाडी छ ।


राजस्व संकलनमा वीरगञ्ज भन्सार
राजस्व संकलनका लागि वीरगञ्ज भन्सार कार्यालय शक्तिशाली भन्सार कार्यालयको रुपमा परिचित छ । अन्य नाकाहरु मध्ये सबै भन्दा बढी राजश्व संकलन हुने भनेको वीरगञ्ज नाकाबाट नै हो । गत आर्थिक बर्षको समीक्षा अवधिमा सो भन्सार कार्यालयले १४ अर्ब ७४ करोड २५ लाख रुपैंया राजश्व संकलन गरेको थियो । सो रकम लक्ष्यको तुलनामा ४४ प्रतिशत मात्रै हो । वीरगञ्ज केन्द्रीत मधेस आन्दोलन तथा भारतीय नाकावन्दीका कारण कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको थिएन । मधेस आन्दोलन र अघोषित नाकाबन्दीले आयात नै ठप्प भएपछि कार्यालयले लिएको लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको हो ।


चालु आर्थिक बर्षको राजस्व संकलन
नेपालको मुख्य नाको रुपमा परिचित वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७३÷७४ को पहिलो ६ महिनामा नै ५५ अर्व १७ करोड रुपैंया राजश्व संकलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो ६ महिना सम्म ५२ अर्व ११ करोड रुपैँया संकलन गर्ने लक्ष्य लिएकोमा ५ प्रतिशतले बृद्धिभई ५५ अर्व राजश्व संकलन गर्न सफल भएको हो ।


कूल राजस्वमा वीरगञ्ज नाकाको २८ प्रतिशत योगदान
वीरगञ्ज भन्सार कार्यालयले देशको कुल राजस्वमा २८ प्रतिशत योगदान पुर्याएको छ । देशको अर्थतन्त्र नै विशेषतः वीरगञ्ज भन्सार कार्यालयको भरमा रहेको छ । पछिल्लो तथ्यांक अनुसार वीरगञ्ज पछि दोस्रो स्थानमा ललितपुर परेको छ । ललितपुर जिल्लाले कूल राजश्वको १८ प्रतिशत योगदान पुर्याएको तथ्यांकले देखाएको छ । वीरगञ्ज र ललितपुर पछि राजश्वमा भैरहवा नाका र काठमाडौं रहेको छ । भैरहवा नाका रहेको रुपन्देही जिल्लाबाट १७ प्रतिशत राजश्वमा योगदान पुर्याएको छ भने काठमाडौं जिल्लाले कूल राजस्वमा १४ प्रतिशत योगदान पुर्याकएको तथ्यांकले देखाएको छ ।

राजनीतिक अखडा बन्दै
मुलुकको कुल राजस्वमा २८ प्रतिशत योगदान पुर्याएको वीरगन्ज भन्सार पछिल्लो समय राजनीतिक अखडा बन्दै गएको छ । आन्दोलन गर्नेले पनि यस नाकालाई केन्द्रित गरी आन्दोलन चलाउन थालेका छन् । विगतमा पटक पटक आन्दोलनकारीले यस नाका नै ठप्प पारी प्रदर्शन गरेका थिए ।