दुई वटा वाणिज्य बैंकसँगको मर्जर टुटेपछि जनता बैंक नेपाल लिमिटेड आफैँ चुक्तापुँजी पुर्याउने कसरतमा जुटेको छ । दुई अर्ब छ करोड रुपैयाँ मात्र चुक्तापुँजी भएको बैंकले मर्जरबिना आठ अर्ब पुँजी पुर्याउन सम्भव नभएपछि ८२ करोड रुपैयाँ चुक्तापुँजी भएको त्रिवेणी विकास बैंकसँग मर्जर सम्झौता गरेको छ । दुई ठूला बैंकसँग मर्जर टुटेको बैंकसँग मर्जरमा जान लागेको त्रिवेणी विकास बैंकका सञ्चालक भने यति बेला संशंकित छन् । कुनै कारणले फेरि मर्जर टुट्ने हो कि भन्ने कुराले उनीहरुलाई संशंकित बनाएको हो ।
यद्यपि, राष्ट्र बैंकको निर्देशनअनुसार, न्युनतम चुक्तापुँजी पुर्याउने समयावधि अब छ महिनाभन्दा पनि कम बाँकी छ । यस्तो अवस्थामा अब मर्जर तोडेर जनता बैंकले पुँजी पुर्याउन सक्ने सम्भावना एकदमै कम छ । यस कारणले पनि अब जनता बैंकको मर्जर नटुट्ने अनुमान लगाउन गाह्रो छैन । त्यसमाथि, मर्जर तोड्ने संस्थालाई राष्ट्र बैंकले कारबाही गर्ने जनाएको छ । मर्जरमा जाने सम्झौता गरेर अन्तिममा तोड्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निश्चित अवधिसम्म मर्जर तथा एक्विजिसनमा रोक लगाउन सक्ने तथा तीन वर्षसम्म शाखा कार्यालय खोल्न तथा केन्द्रीय बैंकको केही सुविधाबाट बञ्चित लगाउने जनाएको छ । केन्द्रीय बैंकले ०६८ सालमा जारी गरेको मर्जर विनियमावली तथा ०७० सालमा जारी गरेको एक्विजिसन विनियमावलीलाई एकीकृत गरेर जारी गरेको मर्जर तथा एक्विजिसन विनियमावली मर्जर सम्झौता गरेपछि तोड्ने संस्थाका पदाधिकारीलाई कारबाही गर्न, आधारभूम सेयरधनीहरुको सेयर खरिद विक्री तथा हक हस्तान्तरण रोक्का गर्ने सञ्चालक हुन अयोग्य घोषणा गर्नेसम्मको व्यवस्था उल्लेख गरेको छ ।
दुई असफल मर्जर
राष्ट्र बैंकले तोकेको मितिसम्म चुक्ता पुँजी आठ अर्ब पुर्याउनका लागि मर्जरलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो बैंकको पुँजी वृद्धि योजना तयार गरेको जनता बैंकले सर्वप्रथम मेगा बैंकसँग मर्जरमा जाने सहमति गरेको थियो । तर मेगासँग मर्जरमा गएर एकिकृत कारोबार गर्ने मौखिक सहमति लिखित सम्झौतामा कार्यान्वयन हुन नपाउँदै यी दुइ बैंकबीचको मर्जर प्रक्रिया यतिकैमा थन्किन पुग्यो । यसलगत्तै ०७२ असौज ३ गते माछापुच्छ्रे बैंकसँग मर्जरमा जाने र एकिकृत कारोबार संचालन गर्ने निर्णयका साथ यी दुइ वाणिज्य बैंकका अध्यक्षहरुले सम्झौता पत्रमा हस्ताक्षर गरे । त्यहाँ पनि सम्झौता पछिको सात महिनाको अथक प्रयासपछि अन्ततः यी दुइ बैंक बीचको मर्जर प्रक्रिया टुट्न पुग्यो ।
यसरी पुग्दैछ चुक्तापुँजी
दुईवटा मर्जर असफल भएपछि जनता बैंकले आफैँ आठ अर्ब चुक्तापुँजी पुर्याउने कम्मर कस्यो । जसअनुसार जनताले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । उक्त हकप्रद सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्नेछ । यसबाहेक, जनताले ८२ करोड रुपैयाँ चुक्तापुँजी भएको त्रिवेणी विकास बैंकसँग शतप्रतिशत स्वाप रेसियोमा मर्जरमा जाँदैछ । उक्त मर्जर सम्पन्न भएपछि बैंकको चुक्तापुँजी चार अर्ब ९० करोडको हाराहारीमा पुग्नेछ । मर्जरपछिको चुक्तापुँजीबाटबैंकले पुनः ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । त्रिबेणी बिकास बैंकले जनता बैंकसँगको मर्जलाई अन्तिम रुप दिन आगामी फागुन १ गते चितवनको नारायणगढमा बोलाएको साधारणसभामा मर्जरपछि ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाने तयारी भइरहेको छ । उक्त हकप्रद सेयर जारी गर्दा जनताको चुक्तापुँजी सात अर्ब ८० करोड रुपैयाँ नाघ्नेछ । यसबाहेक बैंकले ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर पनि जारी गर्दैछ । बैंकले हाल कायम चुक्तापुँजी दुई अर्ब छ करोड रुपैयाँको ४१ प्रतिशतले हुन आउने ८४ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । समग्रमा, मर्जर, हकप्रद र बोनस सेयर जारी गरेपछि जनता बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ ।



