Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकमा पैसा राखेर ब्याज कमाउने अवसर : १२ प्रतिशत सम्म ब्याजको घोषणा  

२०७३ माघ १३ गते

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपमा ब्याजदर धमाधम बढाउन थालेका छन् । लगानीयोग्य पुँजी (तरलता) अभाव भए पछि बैंकहरुले बचतमा आकर्षण गराउन ब्याजदर बढाउन थालेका हुन् । बैंकमा पूँजीको अभाव भएपछि एनआईसी एसिया बैंकले १२ प्रतिशत ब्याज दिने बचत योजना सार्वजनिक गरेको छ । दुई साताअघि निक्षेप संकलनमा होडबाजी गरेका बैंकहरुले पछिल्लो समय मुद्दती खातामै १२ प्रतिशतसम्म ब्याज दिन थालिसकेका छन् । अघिल्लो साता सिभिल बैंकले ११.१ प्रतिशत ब्याजमा १११ दिने मुद्दती बचत माग गरेको थियो । एनआइसी एशिया बैंकले एक वर्ष मुद्दती खातामा १२ प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेको हो । त्यस्तै एनसीसी बैंकले पनि  ४ महिना अवधिको लागि १२ प्रतिशत ब्याजदरको मुद्दती योजना सार्वजनिक गरेको छ । आकर्षक ब्याजदर दिए पछि निक्षेपमा आकर्षण हुने भन्दै न्युनतम् १ लाख जम्मा गर्दा १२ प्रतिशत ब्याज दिने योजना एनसीसी बैंकले सार्वजनिक गरेको हो । त्यस्तै सानिमा बैंकले पनि न्युनतम ६ महिना देखी २ बर्ष सम्मको मुद्दती निक्षेपमा ब्याजदर बढाएर ११.५ प्रतिशत बनाएको छ ।
 
कर्जाको ब्याजदर समेत बढाउदैं बैंकहरु
निक्षेप संकलनलाई आकर्षण गर्न ब्याजदर बढाएसँगै बैंकहरुले कर्जाको ब्याजदर पनि बढाएका छन् । बचतको ब्याजदर बढाएपछि कर्जाको पनि बढाउनु पर्ने भएकाले बैंकहरुले निक्षेप र कर्जा दुबैको ब्याजदर बढाएका हुन् । अधिकांश बैंकहरुले ब्यादर बढाइसकेका छन । ब्याजदर बढाएपछि बैंकहरुले कर्जा लिएका व्यक्तिलाई बोलाएर ब्याजदर बढेको जानकारी दिइरहेका छन । बैंकहरुले नयाँ ऋणीका लागि अहिले लिएको निक्षेप ब्याजदरको आधारमा नयाँ कर्जाको ब्याजदर तय गरेका छन । पुराना कर्जा लिएका व्यक्तिहरुले अब नयाँ ब्याजदर अनुसार कर्जाको ब्याज तिर्नुपर्ने भएको छ । दुई वर्षअघि १० प्रतिशतमा लिएको कर्जाको ब्याजदर बढेर अहिले १५ प्रतिशत सम्म पुगेको छ । निक्षेपमा ब्याजदर बढेपछि कर्जामा पनि ब्याजदर बढाउनैपर्ने बाध्यता भएको बैंकर्सहरुको भनाई छ । बैंकहरुले १२ प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गरेपछि अब कर्जाको ब्याजदर आकासिने भएको छ । निक्षेपको ब्याजदर बढाएसँगै कर्जाको समेत बढाउने हुँदा कर्जा लिने ब्यक्तिहरुले अब चर्को ब्याज तिर्नु पर्ने हुन्छ । १२ प्रतिशतमा निक्षेप संकलन गरेपछि अब बैंकहरुले कर्जाको ब्याजदर पनि १७ देखि १९ प्रतिशतसम्म लिन सक्नेछन् । अहिले कुल निक्षेपको ८० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाइने व्यवस्था छ । ८० प्रतिशत कर्जाबाट बाँकी २० प्रतिशत र शून्य ब्याजदरको ६ प्रतिशत कर्जाको ब्याजलाई समेत समेट्दा १७ प्रतिशत भन्दा बढी कर्जाको ब्याज लिने सम्भावना बढेको छ ।

बजार भाउ महंगिने सम्भावना
तरलता अभाव भएपछि बैंकहरुले धमाधम ब्याजदर बढाउनाले बजार भाउमा प्रत्यक्ष असर पर्ने देखिएको छ । महँगो ब्याजमा लिएको ऋणको लगानीबाट उत्पादित वस्तुको मूल्य पनि बढ्ने हुँदा यसले नेपालको बजारभाउमा प्रत्यक्ष असर पार्ने भएको छ । ब्याजदरमा बृद्धि भएसँगै उत्पादनको लागतमा पनि स्वतः बृद्धि हुन्छ । यसले गर्दा लगानीका क्षेत्र खुम्चनुका साथै उत्पादन लागत बढेपछि वस्तुको मूल्य बढ्छ । पछिल्लो अवस्थामा तरलता अभावले बैंकहरूमात्र सफल भए पनि यसको असर सबैले भोग्नुपर्ने बताइएको छ । पछिल्लो पाँच वर्षयता वाणिज्य बैंकले निक्षेपकर्तालाई दिएको यो उच्चतमदर हो ।

सहकारी र लघुवित्तको ब्याज झन आकासिने
वाणिज्य बैंकले नै निक्षेपमा १२ प्रतिशत ब्याज दिन थालेपछि विकास बैंक, वित्त कम्पनी, लघुवित्त र सहकारीका लागि निक्षेपमा ब्याज बढाउनुपर्ने दबाब सिर्जना भएको छ । ऋणीले वाणिज्य बैंकको कर्जामा समेत लघुवित्त र सहकारीकै हाराहारीमा ब्याज तिर्नुपर्ने देखिएको छ । अहिले धेरैजसो सहकारी तथा लघुवित्तले १६–१८ प्रतिशत ब्याज र अधिकांशले १ प्रतिशत सेवा शुल्क लिँदै आएका छन् ।