कुल एक अर्ब ४४ करोडको अनुमानित लागतमा निर्माण भइरहेको नौगड गाढ साना जलविद्युत् आयोजनामा दुई वटा बैंकले एक अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत सेयरधनीको लगानीमा अपि पावर कम्पनीले निर्माण गर्न लागेको आयोजनामा नेपाल एसबीआई बैंक र प्रभु बैंकले लगानी गर्ने भएका हुन् ।
नेपाल एसबीआई बैंकको अगुवाईमा प्रभु बैंक समेतले एक अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ । बुधबार(माघ १२) गते थापाथलीस्थित ट्रेड टावर विजनेश सेन्टरको सभाहलमा भएको सम्झौताअनुसार, नेपाल एसबीआई बैंकले ५५ करोड र प्रभु बैंकले ४५ करोड रुपैयाँ ऋण उपलब्ध गराउने छन् ।
वि.सं. २०६० साल अषाढ ५ गते स्थापना भई जलविद्युत आयोजनाको पहिचान, विकास, निर्माण र संचालन गर्ने उद्देश्य लिएर स्थापित अपि पावर कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा दार्चुला जिल्लामा बहने नौगड गाढ नदीमा आठ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।
कम्पनीका कार्यकारी संचालक संजीव न्यौपानेले आयोजना २०७४ साल चैत मसान्तभित्र सम्पन्न गरि राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्ति गरिने जानकारी दिएका छन् । यो आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ कि.मि. लामो ३३ केभी ट्रान्समिशन लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडी १३२ केभी ट्रान्समिशन लाईनमार्फत कैलाली जिल्लाको अत्तरीया सब स्टेशन हुँदै देशभर प्रशारण हुनेछ ।
कम्पनीले यस अघि १७ महिनाको छोटो अवधिमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७२ साल भाद्र देखि राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको बलाचँ–अत्तरीया १३२ के.भि ट्रान्समिशन लाइनको निर्माण पुरा भएतापनि लाइन चार्ज हुन सकेको छैन । डबल सर्किट भएको टावरमा दोश्रो सर्किटमा तार ओछ्याउने काम हुन सकेको छैन ।