स्टान्डर्ड चार्टर्ड बैंकले थप नयाँ सेयर(एफपिओ) जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकले १२९० रुपैयाँमा एफपीओ जारी गर्न लागेको हो । बैंकको सञ्चालक समितिले प्रतिकित्ता नयाँ सेयर एक सय रुपैंयाको फ्रेस भ्याल्लु तथा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयामा निष्काशन गर्ने निर्णय गरेको हो ।
बैंकले २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ जारी गर्न लागेको हो । बैंकको गत मंसिर ३० गते सम्पन्न साधारणसभाले नयाँ सेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो । बैंकले यसअघि नै एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्नेछ । जस मध्ये बैंकको चुक्ता पूँजीमा २५ करोड रुपैंया थपिनेछ भने बाँकी तीन अर्ब पाँच करोड रुपैंया जगेडा कोषमा सञ्चित हुनेछ ।
दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले गत आर्थिक बर्षको नाफाबाट ३३ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपैंया पुर्याएको छ । नयाँ सेयर निष्काशन पश्चात बैंकका चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्नेछ । असार मसान्तसम्ममा स्टान्डर्ड चार्टर्डले आठ अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ ।


