राजधानी सहर काठमाडौँको छिमेकी जिल्ला हो काभ्रे । यहाँका वासिन्दाले बैंकको अभावमा निकै सास्ती खेप्नुपरिरहेको छ भन्दा अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । बैंकहरुको सहरमुखी प्रवृत्तिका कारण काभ्रेको दाप्चा काशीखण्डका बासिन्दा समस्यामा छन् । यो ठाउँमा हालसम्म कुनै पनि बैंक पुगेका छैनन् । यहाँका सर्वसाधारण विद्युत् महशूल तिर्नकै लागि चर्को भाडा तिरेर बनेपासम्म आउने गरेका छन् । ८० रुपैयाँ महशूल तिर्न जाँदा पाँच सय रुपैयाँ खर्च हुने गरेको काशीखण्डवासीको गुनासो छ । साढे दुई घण्टा लामो बसयात्रा गरेर महशूल तिर्न आउने काशीखण्डवासीहरु कहिलेकाहीँ त महसूल तिर्ने ठाउँमा पुग्दा पैसा तिर्ने पालोसमेत पाउँदैनन् ।
विद्युतको महसूल तिर्न मात्र हैन, स्थानीय क्षेत्रको चौतर्फी विकासका लागि नै बैंक एक महत्वपूर्ण माध्यम हो । तर, पृथ्वीनारायण शाहको पालादेखि नै नेपालको प्रमुख व्यापारिक केन्दैका रूपमा चिनिने दाप्चा काशीखण्डमा कुनै पनि बैंक नहुँदा यहाँका बासिन्दाले कष्टपूर्ण जीवन बिताइरहेका छन् । यहाँ बैंक नहुँदा विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि पठाउन र क्याम्पसको आर्थिक कारोबार गर्न निकै समस्या भएकोे स्थानीय शिक्षक बताउँछन् ।
द्धन्द्धकालमा विस्थापित बैंकको पुनःस्थापना भएन
द्वन्द्वकालभन्दा अघि यहाँ बैंकहरु पुगेका थिए । तर, द्धन्द्धकालमा ती बैंकहरु विस्थापित भए । त्यसपछि कुनै बैंकले पनि यो ठाउँमा शाखा तथा सेवा पुर्याएका छैनन् । यहाँका स्थानीयहरु वाध्यतावश चर्को व्याजदर तिरेर आर्थिक कारोबार गर्ने गरेका छन् । द्वन्द्वकालमा माओवादीले यहाँ विद्युतको महसूल बुझाउने सेवा केन्द्र ध्वस्त पारिदिएका थिए । त्यस्तै २०५६ सालमा माओवादीले स्थानीय क्षेत्रमा भएका राष्ट्रिय वाणिज्य बैङ्क माओवादी ज्याजती सहन नसकेर सदरमुकाम धुलिखेल सारिएको थियो भने अर्काे कृषि विकास बैंक वाणिज्य बैंकभन्दा अगाडि नै ध्वस्त बनाइएको थियो । पछि १२ बुँदे सहमतिमा त्यहाँ भएका बैंकलाई पुनःस्थापना गर्ने भने पनि हालसम्म पनि प्रयास नहुँदा त्यहाँका बासिन्दाले कष्ट भोग्नुपरेको हो ।