Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईडिसी डेभलपमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंकमा गाभिँदै

२०७३ माघ १० गते

अर्थमन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंकको मर्जरलाई स्वीकृति प्रदान गरेको छ ।  सोमवार आयोजित राष्ट्रिय वाणिज्य बैंकको ५२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सञ्चालित कार्यक्रममा बोल्दै अर्थमन्त्री कृष्णबहादुर महराले दुई बैंकबीचको मर्जर प्रस्ताव अर्थमन्त्रालयबाट पारित भएको जानकारी दिएका हुन् । ‘राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी बैंकलाई मर्ज गर्ने प्रस्तावमा हस्ताक्षर गरिसकेको र अबको निर्णय मन्त्री परिषद्बाट हुनेछ ।’ उनले भने । सरकारले आफू मातहतका ती दुई वित्तीय निकायलाई मर्ज गर्ने निर्णय अघिल्लो बजेट भाषणमार्फत सार्वजनिक गरेको थियो ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकलाई ग्रामीण क्षेत्रमा कर्जा प्रवाह र संकलनमा थप जोड आग्रह गरे । साथमा, उत्पादन क्षेत्रमा कर्जा लगानी बढाउन निर्देशनसमेत दिए । बैंक र वित्तीय संस्था बढी मात्रामा सहर र बजारमुखी हुँदा ग्रामीण अर्थतन्त्रलाई माथि उकास्न चुनौती थपिएको भन्दै अर्थमन्त्री महराले यसलाई चिर्ने काम राष्ट्रिय वाणिज्य बैंकले गर्नुपर्ने बताए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले जनताले बैंकमा बचत गरेको निक्षेपलाई जथाभावी लगानी गर्ने र लगानी गरेको देखाउँदै नाफा बढी खोज्ने बैंक तथा वित्तीय संस्थालाई कारबाहीको दायरामा ल्याउन लागिएको जानकारी दिए । उनले भने– साधारण जनताका निक्षेपलाई कम र संस्थागत निक्षेपलाई बढी प्राथमिकतामा राख्ने प्रवृत्तिलाई अन्त्य गरिनु जरुरी छ ।’ वित्तीय सन्तुलनका लागि केन्द्रीय बैंकले आफ्नो भूमिका निर्वाह गरिरहेको उनको भनाई थियो ।